कर्मचारीको आनीबानीबारे जानकारी लिँदै प्रधानमन्त्री ओली, तीन दिनदेखि कर्मचारीहरुसँग छलफलमा
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार ११:२९:२५
६ साउन, काठमाडौं । चौथो पटक सिंहदरबार प्रवेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार विश्वासको मत लिँदैछन् । करिब दुईतिहाइ नजिक विश्वासको मत प्राप्त गर्ने अवस्थामा उनी छन् । तर त्यसअघि बिहिबार र शुक्रबार प्रधानमन्त्री ओलीले सरकारी निकायका अधिकारीहरूसँग लामो परामर्श गरेका छन् ।
यसअघि बालुवाटारबाट शासन गरेको आरोप लागेकोमा ओलीले यसपटक सिंहदरबारमा लामो समय कर्मचारीसँग सम्वाद गरेका हुन् । बुधबार सामान्य छलफलमा जुटेका ओलीले बिहिबार सरकारका सचिवहरूलाई निर्देशन दिँदै अहिलेको सरकारलाई काम नगर्ने छुट नभएकाले भरपूर सहयोग गर्न आग्रह गरेका थिए ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरूको शुभकामना ग्रहणपछि प्रधानमन्त्री ओलीले केही काम गरेर देखाउन र नयाँ कीर्तिमान कायम गर्न सचिवहरूलाई निर्देशन दिएका थिए । बुधबार प्रधानमन्त्री कार्यालयकै कर्मचारीसँग सामान्य ब्रिफिङ लिएका ओलीले बिहिबार भने सबै सचिवलाई बोलाएर निर्देशन दिएका थिए । त्यसअघि एमालेबाट अघिल्लो सरकारमा रहेका मन्त्रीहरूसँग कर्मचारीको आनीबानीबारे जानकारी लिएका थिए ।
यसपटक ओलीले बिहिबार कर्मचारीलाई निर्देशन दिएको मात्रै देखे तर त्यसभन्दा अघि उनले कर्मचारीको आनीबानीबारे पनि जानकारी लिइसकेका थिए । कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौला र एमाले निकट रहेका कर्मचारीहरूलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर सचिवहरूको बारेमा जानकारी लिएका थिए । बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन कर्मचारीसँगै बिताएका ओलीले एमालेलाई सहयोग गर्ने सचिवहरूबारे पनि जानकारी गराएका थिए । ओलीले यसपटक कर्मचारीहरूलाई वृत्ति विकासको विषयमा पनि छलफल गरेका थिए । केही कर्मचारीलाई बोलाएर निजामति ऐनको विषयमा पनि छलफल गरेको स्रोतको दावी छ ।
‘यसपटक ओलीको सिंहदरबार प्रवेश पहिलाको जस्तो देखिंदैन, कर्मचारीहरूसँग भरपूर काम लिने ढंगले अघि बढेको देखिन्छ’, बिहिबार निर्देशनमा सहभागी भएका एक सचिवले भने । बिहिबार ओलीले मन्त्रालयमा बसेर सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनता समक्ष विकास, सुशासन, सेवा सुविधा पुर्याउने मुख्य काम र दायित्व सचिवहरूकै भएको स्पष्ट पारेका थिए ।
अधिकांश सचिवहरूलाई सधैं मिटिङ मात्रै गर्ने तर उपलब्धिमूलक काम गर्न नसक्ने आरोप लाग्दै आइरहेको बेला ओलीले फकाएरै यसपटक राम्रो काम गर्नुपर्ने दायित्व राजनीतिक दलको मात्र नभएर निजामति क्षेत्रको पनि भएको बताएका थिए । छाप छोड्ने र सुकीर्ति फैलने गरी काम गर्ने सचिवहरू औँलामा गन्न सक्ने मात्रै भएकाले सबैले यही तथ्यलाई ध्यान दिएर अघि बढ्नु पर्ने ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले सचिवहरूलाई मुलुकमा समृद्धि कायम हुने गरी र जनतामा छाप छोड्ने र आफ्नो सुकीर्ति फैलने गरी काममा खट्न आग्रह गरेका थिए । ‘उच्च मनोबलका साथ दिगो विकास कायम गर्ने र जनतामा आशा जगाउने गरी उच्च मनोबलका साथ कार्य थलोमा खट्न सचिवहरूलाई निर्देशन दिनुभयो’, स्रोतले भन्यो ।
ओलीले यसपटक कर्मचारीको सेवा सुविधाको विषयमा पनि कानुन बनाएरै हेरफेर गर्ने बचन दिएका छन् । उनले सेवा सुविधा निकै कमजोर रहेकाले यसलाई बढाउने तर्फ सरकार लाग्ने आश्वासन दिएका थिए । कर्मचारीको निर्देशन कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूलाई पनि उच्च नैतिकताका साथ काम गर्न आग्रह गरेका थिए । चौथो पटकसम्म प्रधानमन्त्री भएका ओलीले बढीमा ४० मिनेटमा आफ्नो निर्देशन मन्तव्य सकेका थिए भने बुधबार र शुक्रबार भेटघाट गरेका कर्मचारीसँग पनि उनले छोटो कुराकानी गरेको एक सचिवले भने । ती सचिवका अनुसार यसपटक प्रधानमन्त्रीले निर्देशन दिने क्रममा सचिवहरूले के गर्ने र कसरी अघि बढ्ने विषयमा केन्द्रित रहेर सटिक धारणा राखेका थिए ।
यसपटक प्रधानमन्त्रीले गत कार्यकालमा रहेका सहसचिवलाई सचिवालयमा ल्याइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव बिनोदबहादुर कुँवरलाई प्रधानमन्त्री ओलीको निजी सचिवको जिम्मेवारी दिइएको छ । यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता रहेका कुँवरले यो पटक निजी सचिवको जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या महाशाखा हेरिरहेका कुँवरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काज सरुवा गरेर निजी सचिवको जिम्मेवारी दिइसकेको छ । सहसचिव कुँवरले प्रधानमन्त्रीसँग भेटघाटको समय मिलाइरहेका छन् ।
प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार कुँवरलाई प्रधानमन्त्रीको निजी सचिवालय, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता महत्त्वपूर्ण निकाय रोज्न भनिएको थियो । तर, उनले त्यस्ता विभाग नरोजी प्रधानमन्त्री ओलीको निजी सचिव बनेका हुन् । उनले शुक्रबारबाट काम शुरु गरिसकेका छन् ।
अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भइसकेका कुँवर गण्डकी प्रदेश हुँदै स्वास्थ्य मन्त्रालय आएका थिए । प्रधानमन्त्री ओलीले अघिल्लोपटक उपसचिव युवराज दाहाल (ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन)लाई निजी सचिव बनाएका थिए । यो पटक भने सहसचिव कुँवरलाई निजी सचिव बनाएर हुन् । प्रधानमन्त्रीको निजी सचिवमा स्वास्थ्य मन्त्रालयमा कार्यरत सहसचिव कुँवरलाई ल्याएसँगै अन्य सचिव र सहसचिव सरुवा गर्ने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार