बाढीले आम्दानीको स्रोत गुमेपछि कुतियाकबरका किसान चिन्तित
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार २१:४९:५५
६ साउन, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरका बमबहादुर सुनारले १२ कट्टा जमिनमा परबल खेती गरेका थिए । त्यही खेतीबाट उनले वर्षभरीको खर्च जोहो गर्थे । असार तेस्रो साता अविरल वर्षापछि आएको बाढीले उनको परबल खेती बगरमा परिणत भएको छ । खेती मात्रै होइन बाढीले घरभित्रको अन्नपात, लुगाफाटोसमेत बगाएपछि उनी समस्यामा छन् ।
“खेतमा लगाइएको परबल पुरिएर नष्ट भएको छ । वर्षभरीको घर खर्च धान्ने खेती नै सखाप भएपछि अब के खाने, कसरी खर्च चलाउने भन्ने चिन्ता बढेको छ”, उनले दुःखेसो पोखे । बाढीको बेला केही दिन अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका उनी अहिले बस्तीमै फर्किसकेका छन् । बाढीले क्षति पु¥याएको घरको मर्मत गरेर रात बिताइरहेको उनको भनाइ छ ।
दोधारा चाँदनी नगरपालिका–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गरेका थिए । बाढीले उनको खेत पनि पूरै लेदो र बालुवाले भरिएको छ । “तरकारी र धानमा रु ५० हजार खर्च भएको थियो । तरकारी खेती नै प्रमुख आयस्रोत हो”, उनले भने, “खेतमा सबै पुरिएर माटो र बालुवा मात्रै छ । तीन वर्षअघि पनि यस्तै भएको थियो । बाढीले आयस्रोत नै खोस्यो”, उनले गुनासो गरे ।
महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुतियाकबरमा बसोबास गर्ने अधिकांशको जमिन बगरमा परिणत भएको छ । यहाँका अधिकांश स्थानीय बासिन्दा परबललगायत तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरीलाई खान पुग्ने धान र घर खर्च जोहो गर्ने तरकारी खेती बगर बन्दा अहिले यहाँका किसान निकै पीडामा छन् ।
“बाढीले सबै लग्यो । बिहान बेलुका खानलाई घरभित्र अन्न छैन । खाना पकाउन भाडाकुडा, लगाउनलाई लत्ताकपडा पनि छैनन्”, दोधारा चाँदनी नगरपालिका–१० की बृतकली सुनार भन्छिन्, “बाढीले यत्रो पीडा दिँदा पनि सरकारले हामीलाई हेरेको छैन । हामी के खाएर बाच्ने ?”
असार तेस्रो साताको अविरल वर्षापछि भएको डुबान र बाढीले विस्थापित भएकाहरू विद्यालय तथा आफन्त कहाँ आश्रय लिएर बसेको थिए । अधिकांश विस्थापित बस्तीमै फर्किए पनि खाद्यलगायत अत्यावश्यक समानमा बाढीले क्षति पु¥याएपछि खान र बस्न समस्या भएको छ । बाढी र डुबानले बस्ती अस्तव्यस्त बनेकाले स्थानीय बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार