प्रधानमन्त्री प्रश्नोत्तरमा उठे भ्रष्टाचार, ठगी र सीमाका विषय
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १६:२३:५५
७ साउन, काठमाडौं । सोमबारको प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार, ठगी र सीमाका विषयले प्राथमिकता पाएका छन् । प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, ठगी र सीमा विवादका विषयमा सरकार गम्भिर रहेको बताएका छन् ।
उनले अनुचित लेनदेन, सहकारी ठगी प्रकरण, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान हुने बताएका छन् । अनुसन्धानमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद धानराज गुरुङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता किसिमका आर्थिक पक्षसँग जोडिएका घटना बढ्दै गएकाले विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी अनुसन्धान गरिने बताए । प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरीवेक्षण गरी दोषीलाई कारबाही गरिने बताए ।
उनले नेपाल–भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताए । सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गरिने बताए । सांसद सिंहले चुच्चे नक्सामा समेटिएको दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमिमा नेपालको भोगचलन कहिले हुन्छ भनेर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको र सोही अनुरूप हाम्रो सक्रिय पहल रहने बताए । नेपालको अन्तर्राष्ट्रिय सीमाबारे सरकार स्पष्ट रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा संघीय संसद्, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएका छौँ । नेपालको संविधानको मिति २०७७ असार ४ मा भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामी बीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ, ओलीले भने ।
सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ । उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको छ ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुरूप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताए । उनले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्न प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए । उनले सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने, सार्वजनिक खरिद ऐन, कानुनलाई समसामयिक संशोधन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार