हवाई र सडक दुर्घटनामै केन्द्रित भए सांसद, सरकारले मृत्यु वर्गिकरण गरी विभेद गर्नु दुर्भाग्य
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १५:५७:४६
१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले पछिल्लो समय हवाई र सडक दुर्घटना बढेकामा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आकस्मिक समयमा बोल्दै उनीहरुले जहाज र बस दुर्घटना बढ्दै गएकामा सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखे ।
यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको तथा पहिरोले दुई बस बगाउँदा त्रिशूली नदीमा दुई हप्ताभन्दा बढी समय भइसक्दासमेत अझै ३७ यात्रु नभेटिएको घटनाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको र यातायात सञ्चालनमा समस्या भएको विषय पनि उनीहरुले उठाएका छन् ।
सांसद राजेन्द्र बजगाईंले पछिल्लो दुई वर्षमा मात्र सातवटा हवाई दुर्घटना भएकामा चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले नेपालको हवाई सेवामा नियामकीय र सेवा कार्य छुट्याउनुपर्ने माग गर्दैआएकामा त्यसो हुन नसकेको उनको भनाइ थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिकाबारे समेत सांसद बजगाईंले प्रश्न उठाए । नेपालको हवाई सेवा युरोपमा कालोसूचीमा रहेको विषय पनि उनले उठाए ।
सांसद सुनिता बरालले नेपालको हवाई सुरक्षामा जोखिम बढ्दै गएको विषय उठाइन् । एकपछि अर्को हवाई दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने उनको भनाइ थियो । नेपालले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धिको परिकल्पना गरिरहेको बेला हवाई क्षेत्र असुरक्षित बन्दै जाँदा त्यसले नराम्रो सन्देश गइरहेको उनले बताइन् । सौर्य एयरलाइन्सको ब्ल्याकबक्सको विश्लेषणबाट दुर्घटना प्राविधिक कारणले भएको हो वा क्याप्टेनका कारण हो भन्ने थाहा हुने भएकाले जाँचबुझ समितिले त्यसलाई गम्भीर भएर हेर्नुपर्ने सांसद बरालले बताइन् ।
सांसद पूर्णबहादुर घर्तिले सौर्य एयरलाइन्सको जहाज दुर्घटना कसको कमजोरीका कारण भएको हो भन्नेबारे निष्पक्ष छानबिन गरिनुपर्ने बताए । देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाइ भइरहेको विषय पनि उनले संसदमा उठाए ।
सांसद राजेन्द्रप्रसाद लिङ्देनले दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारको सेवा काठमाडौँबाट दिन सकिन्थ्यो वा सकिन्थेन भन्ने प्रश्न गरे । गैरप्राविधिक र ठूलो संख्यामा कर्मचारी बोकेर उडेको उक्त विमानमा नियामक निकायले को–को जाँदैछन् भनेर समेत जानकारी नराखेकाबारे प्रश्न गरे ।
सांसद सञ्जयकुमार गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर अभावका कारण जहाज मर्मतसम्भारका लागि पोखरा लैजानुपर्ने अवस्था आएको र सो क्रममा दुर्घटना भएको विषयमा सत्यता रहे–नरहेकोबारे प्रश्न गरे । नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक संसदमा ल्याइनुपर्ने उनले माग गरे ।
सांसद महिन्द्रराय यादवले पूर्वराज्यमन्त्री रामचन्द्र रायको रहस्यमय ढङ्गले हत्या भएको विषय संसद्मा उठाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने माग गरे । साथै नेपाली आकाश हवाई यातायातका लागि असुरक्षित हुँदै गएकाप्रति चिन्ता व्यक्त गरे । सांसद सर्वेन्द्रनाथ शुक्लले सौर्य एयरलाइन्सको जहाज दुर्घटना र दुईवटा बस त्रिशूली नदीमा हराइरहेको विषय उठाए । लामो समयदेखि ग्राउन्डेड जहाज प्राविधिक रुपमा ठीक छ वा छैन भन्ने जाँच नगरीकन उडान अनुमति दिनु गम्भीर गल्ती भएको उनको भनाइ थियो ।
सांसद पूर्णबहादुर तामाङले सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर तीनजनाको मृत्यु भएको र मृतकका परिवारलाई राहतका लागि सरकारसँग माग गरे । जथाभावी सडक बनाउँदा वर्खायाम लागेपछि समस्या पर्ने र हिउँदमा फेरि वास्ता नगर्ने परिपाटी रहेको बताए । सांसद गणेश पराजुलीले नेपाल विद्युत् प्राधिकरणको हाइभोल्टेज तार व्यवस्थापन गर्न नसक्दा नागरिकले ज्यान गुमाउने गरेका तथा ढल र खानेपानीका पाइप व्यवस्थापन हुन नसक्दा सडक असुरक्षित बन्दै गएको विषय उठाए ।
त्यस्तै, नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई सरकारले सरुवा गरेको उनको आरोप थियो । सांसद प्रभु साहले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालको हवाई क्षेत्र असुरक्षित छ भन्ने सन्देश गएको बताए । यसका लागि सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने उनको भनाइ थियो ।
सांसद हरि ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीति निजी क्षेत्रमैत्री आएको उल्लेख गर्दै अघिल्लो सरकार र अर्थमन्त्रीलाई राष्ट्र बैंकले सहयोग नगरेको आरोप लगाए । आजको बैठकको शून्य समयमा सांसदहरुले विभिन्न दुर्घटनामा जनधनको क्षति हुनु दुःखद् भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स दुर्घटना र चितवनको सीमलतालमा भएको बस दुर्घटनामा निधन भएका नागरिकप्रति विभेद भएको भन्दै आपत्ति प्रकट गरे ।
सांसद अनिसा नेपालीले सौर्य एयरलायन्स दुर्घटनामा ज्यान गुमाउनेप्रति सरकारले श्रद्धाञ्जली दिए पनि सीमलताल बस दुर्घटनामा ज्यान गुमाउने नागरिकलाई स्मरणसमेत नगरेर सरकारले विभेद गरेकामा आपत्ति प्रकट गरे । सांसद अम्मरबहादुर थापाले देशभर भएका दुर्घटनाबाट ठूलो जनधनको क्षति भएको भन्दै सरकारले समस्या समाधानतर्फ कुनै चासो नराखेको गुनासो गरे । सांसद अमृतलाल राजवंशीले गत असार २८ गते बस दुर्घटनामा परी ज्यान गुमाउने र सौर्य एयरलाइन्स दुर्घटनाको उचित छानबिनको माग गरे ।
सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष र पारदर्शी छानबिनगरी जनतालाई आशा र भरोसा प्रदान गर्न माग गरे । सांसद अशोककुमार चौधरीले भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्ने प्रहरी कर्मचारीलाई समयअगावै सरुवा गरिएकामा गुनासो गरे । सांसद असिम साहले सौर्य एयरलाइन्स दुर्घटनामा मानवीय तथा भौतिक क्षतिका अलावा मानवीय समवेदना पनि घाइते भएको बताए । सांसद ईश्वरी घर्तीले विद्युतीय कारोबारका कारण दैनिक जनजीवन सहज भए पनि पछिल्ला दिनमा अवैध धन्दा मौलाएकाले नियमन गर्न माग गरिन् ।
सांसद ईश्वरीदेवी न्यौपानेले सीमलताल बस र सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन । सांसद उर्मिला माझीले भुटानी शरणार्थी प्रकरणको छानबिनमा संलग्न उच्च प्रहरी कर्मचारीको समयअगावै सरुवा गरिएको भन्दै आपत्ति प्रकट गरिन् । सांसद एकनाथ ढकालले चालु आवको मौद्रिक नीतिले कर्जा विस्तार बढाउने र आर्थिक विकासलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद कान्तिका सेजुवालले देशका विभिन्न स्थानमा विपद् र दुर्घटनाका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिन् । सांसद कालुराम राईले राजधानी काठमाडौँको सडकपेटीको नाला खुला राख्दा दुर्घटनाको जोखिम बढेकामा सरकारको ध्यानाकर्षण गराए । सांसद किरणकुमार साहले पछिल्ला दिनका दुर्घटनाले नागरिकको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद गंगा कार्कीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई विद्युत् महशुल उठाउनका लागि सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो । सांसदहरु अमृता अग्रहरि, कुसुमदेवी थापा, गोमालाभ सापकोटा, चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा भोटे, जावेदा खातुन, जीवन परियार, जुली महतोलगायतले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालको आकाश असुरक्षित रहेको भन्ने विश्वव्यापी रुपमा सन्देश गएकामा सरकारको ध्यानाकर्षण गराएका थिए ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार