तीनतिरको डाहमा योजना आयोगका डाक्टरहरुसँग परिवर्तनको खोजी ?
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
साउन १५, २०८१ मंगलबार ११:५६:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/bhesraj_2hb706DgBe_SSPgiMGeIJ.png)
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै योजना आयोग पनि नयाँ बन्न गएको छ । हुन त गठबन्धन फेरिएर नयाँ नेतृत्व आएपछि उसको विकास नीति, देशको स्रोतसाधनलाई प्रयोग गर्ने तथा प्रवर्द्धन गर्ने योजना नयाँ हुने हुनाले त्यसलाई पूरा गर्न र कार्यान्वयनको चरणमा लैजान योजना आयोगमा त्यसै अनुसार उपाध्यक्ष र सदस्यहरू नियुक्त गर्नुपर्ने हुन्छ । यसरी सरकार परिवर्तनसँगै योजना आयोगको टोली नियुक्त गरिए पनि यसको परिणाम सुखद भने देखिएको छैन ।
यो क्रमको लामो समयको अवस्थालाई हेर्दा प्रमाणपत्रधारीको हिसाबले योजना आयोगमा नियुक्त हुनेहरू अब्बल देखिन्छन् तर परिणाम भने लगभग शून्यजस्तै देखिन्छ । मात्र उच्च तहको जागिर खाने टोली जस्तो । २०४६ को प्रजातन्त्र पुनःस्थापना पछिकै अवस्थालाई हेर्ने हो भने डा. रामशरण महतले खुला अर्थतन्त्रको सुरु गरे । सुरु त गरे तर उनी पछिसम्म सत्ता वरिपरि भए पनि अर्थतन्त्र पूर्णरुपमा विकृत बन्दै गयो । निजी क्षेत्रको फैलावट भए पनि अर्थतन्त्र अव्यवस्थित बाटोमा हिँड्दैछ ।
त्यसपछिका योजना आयोग हाँक्नेहरूले खुला अर्थतन्त्रलाई व्यवस्थित गर्दै राष्ट्रलाई गति दिने योजना तथा विशाल छिमेकी भारत र चीनको अर्थतन्त्रको गति र उनीहरुको नीतिको ख्याल गरेर नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी कुनै पनि योजना बनाउन सकेनन् । अहिले यही लामो कमजोरीका कारण नेपालको अर्थतन्त्र पूर्णरुपमा पराश्रयी बन्ने अवस्थामा गएको छ । यसलाई रोक्ने डाक्टर प्रमाणपत्रधारी आयोगको टोलीले देशको कायापलट हुने गरी कुनै एउटा क्षेत्रको कुनै एउटा मात्र पनि योजना अगाडि सार्न सक्ला ? अहिलेको जन चासोको विषय हो ।
पछिल्लो समय जनतामा विकासप्रतिको चाहना र सचेतता पनि बढ्दै गएको छ । राज्यले भने हचुवाको भरमा योजना छनोट गर्ने, वर्षेनी बजेट छुट्याउने तर योजना वर्षौं बित्दा पनि जस्ताको तस्तै हुने अवस्था सिर्जना गरिरहेको छ । अर्बौं लागत लाग्ने योजनाका लागि वर्षेनी केही लाख बजेट छुट्याउने र दुरुपयोग गर्ने प्रवृत्ति नै बनेको छ । राष्ट्रका लागि अति महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवका आयोजनाहरू वर्षाैदेखि त्यत्तिकै अलपत्र छन् । यस्तो हुनुमा योजना आयोगका प्रमाणपत्रका हिसाबले विशेषज्ञहरूको अकर्मण्य नै जिम्मेवार छ ।
पछिल्लो कालमा योजना आयोग बजेटको हद (सिलिंग) तोक्ने, केही योजना अगाडि सारेर जागिर पड्काउनमा लागेको देखिन्छ । प्रधानमन्त्री अध्यक्ष रहेको योजना आयोग विकासको अगुवा हुनुपर्नेमा प्रधानमन्त्रीको छायाँ हुँदै आएको छ । कस्ता योजनाले राष्ट्रको विकासको मेरुदण्डका रुपमा काम गर्न सक्छन् भनेर अध्ययन, अनुसन्धान गरेर त्यसलाई अघि सार्ने र आफूले अगाडि सारेका योजनाको अवस्था के छ ? भनेर अध्ययन हुनुपर्ने हो तर विशेषज्ञ भनिएकाहरु जागिर खानमै मस्त देखिँदै आएका छन् । योजना आयोगको अहिलेको यो समूहले त्यसलाई नाघेर अगाडि बढ्न सक्ला ? प्रश्न उठ्छ ।
प्रधानमन्त्री केपी ओलीले आफूलाई परिवर्तनकारी तथा विकासका अग्रदूत नै हुँ भन्छन् । उनले योजना आयोगमा नयाँ नियुक्तिका साथै समसामयिक नेपाली अर्थविज्ञ भनिनेमा सबैभन्दा अब्बल युवराज खतिवडालाई अर्थ सल्लाहकारमा नियुक्त गरेका छन् । उनी यस्ता अर्थशास्त्री हुन् जसले कयौं पटक योजना आयोगको सदस्य तथा योजना आयोगको उपाध्यक्ष भए । योजना आयोगको उपाध्यक्षजस्तो पदभन्दा आर्थिक रुपमा लाभदायक लागेर राष्ट्र बैंकको गभर्नर बन्न गए । गभर्नरबाट अवकाश भएपछि राष्ट्रिय सभाको सदस्य हुँदै ओलीकै प्रधानमन्त्रीकालमा अर्थमन्त्री बन्न सफल भए । यति धेरै चल्तापुर्जा अर्थ विज्ञ युवराज खतिवडाले देशलाई बदल्न सक्ने अर्थ चिन्तन भने गर्न सकेको देखिन्न । यति मात्रै होइन उनी अमेरिका जस्तो राष्ट्रको राजदूतसमेत भए तर राष्ट्रले गौरव गर्न लायक उपलब्धि भने कतै देखिएको छैन ।
अहिले प्रधानमन्त्रीको सल्लाहकार भएर उनको राष्ट्र बदल्ने प्रभाव त देखिन कठिन नै छ तर योजना आयोगमा भने राम्रै प्रभाव पर्नेछ । एक त ओलीको आफ्नै खाले राजनीति टिकाउने योजना, अर्को, पूर्ण प्राविधिक तर जागिरदार सल्लाहकारको तापमा स्वल्प दृष्टि भएका योजना आयोगका डाक्टरसाहेबले कस्ता योजना बनाउने होलान् ? हेर्न समय कुर्नै पर्नेछ ।
प्रधानमन्त्री तथा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन नेकपा नेतृत्वको सरकार बन्दा नै समाजवाद सुरु भयो भनेका हुन् । अहिले समाजवाद उन्मुख अर्थतन्त्र होइन यही विकृत पूँजीवाद, दलाली र कमिसन तन्त्रमै रूमल्लिएर समाजवाद ल्याउनुपर्छ भन्नेछन् । सरकारको मुख्य घटक कांग्रेसजनले पनि प्रजातान्त्रिक समाजवादलाई नकार्ने छैनन् । यही अवस्थामा विकृत पूँजीवाद, दलाली र कमिसन तन्त्रलाई भरमार उपयोग गर्न माहिर अर्थमन्त्री विष्णु पौडेल छन् । राष्ट्रलाई अहिलेको अर्थतन्त्रको दिशा हीनता, अनेक अव्यवस्था र अराजकताले जेलिएर विकासको गति अवरुद्ध भएको अवस्थामा प्रधानमन्त्री, उनका सल्लाहकार, अर्थमन्त्रीको दबदबामा योजना आयोगका डाक्टरसावहरु देशलाई नयाँ दिशा दिने योजना बनाउने हिम्मत गर्न सके भने सर्वाधिक नौलो काम हुनेछ ।
हुन त देश आर्थिक रुपमा अप्ठ्यारोमा पर्दा विश्वविद्यालयका प्राध्यापकहरूले आर्थिक नीति तथा योजनातिर सोचेको देखिँदैन । सक्षम भनिएकाहरु पनि विदेशी आईएनजीओका रिपोर्ट लेख्दैमा फुर्सद नपाएको देखिन्छ । हुन त नेपालको बौद्धिक शक्ति अर्थशास्त्र वा अरु कुनै विषय होस् प्रायः सबै वृहत् सोच, वृहत् ज्ञान नभएर विदेशी आईएनजीओका रिपोर्ट लेख्ने, अन्तर्राष्ट्रिय एजेन्सीहरूमा जागिर खानका लागि उपयुक्त खालको मात्रै देखिन्छ ।
राष्ट्रका सबै अवस्थालाई मिहिन रुपमा बुझ्ने, अध्ययन गर्ने र त्यसै अनुसार व्यापक दायराका योजना बनाउने तथा कार्यान्वयनमा डट्ने शक्ति भएको देखिन्न । यसको प्रभाव सबैतिर देखिइरहेको छ । यही अवस्थामा योजना आयोगमा आएका पदाधिकारीहरूमा नयाँ क्षमताको खोजी गरिएको छ । उनीहरुले आफूमा भएका सबै परम्परागत सोचमा बदलाव र क्षमतामा विकास गरेर लागे भने पक्कै पनि केही न केही नयाँ कुरा आउन सक्ला ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार