सत्ता गठबन्धनका कांग्रेस, एमालेले आफ्ना के–के कुरा अगाडि सार्दैछन् ?
भेषराज पोखरेल
साउन २२, २०८१ मंगलबार १२:१५:४९
कहिले एमाले कहिले कांग्रेससँग गठबन्धन गर्दै प्रधानमन्त्रीको कुर्सीमा जमेका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिलाई सधैं अस्थिर बनाउने खेललाई विराम लगाएर देशलाई गति दिन आपसमा गठबन्धन गरेका कांग्रेस, एमालेले कस्ता कुराहरुलाई जनतामाझ राख्दै होलान् ? नेपालको राजनीतिमा सधैं प्रतिस्पर्धीका रुपमा रहेका संसदका ठूला दल कांग्रेस र एमाले काम र व्यवहारमा उस्तै देखिए पनि सिद्धान्तका दस्तावेजमा दुई ध्रुवका तारा जस्तै हुन् ।
कांग्रेस प्रजातान्त्रिक समाजवादमा टेकेको खुला पुँजीवादी हो भने एमाले बहुदलीय जनवादमा टेकेको खुला पुँजीवादी नै हो । प्रजातान्त्रिक दल र कम्युनिष्ट दलको आवरण भएका दल आपसमा मिलेर सरकार चलाउनु सामान्य कुरा होइन । गठबन्धनको सरकार हाँकिरहेको एमालेले अहिले सिद्धान्त र नीतिलाई जनतामाझ राख्ने, त्यसै अनुसार सरकार चलाउने अवस्थामा छैन । अहिले सो दलको जनतामाझ प्रदर्शन गर्ने सबै कुरा केपी शर्मा ओली हुनेछन् । आफूलाई जिम्मेवार प्रजातान्त्रिक दलका रुपमा उभ्याउने कांग्रेससँग जनता सामु प्रदर्शन गर्ने के कुरा छ होला ? कांग्रेसले सभापति शेरबहादुर देउवालाई प्रदर्शन गरेर उसको राजनीति उकासिने छैन । उसको सिद्धान्तसमेत कमजोर भएको अवस्थामा पार्टीको आन्तरिक तथा बाह्य रुपमा व्यवस्थापनलाई चुस्त र व्यवस्थित बनाएर जनतामा आशा जगाउनु पर्नेछ । त्यसो गर्न नसके यो दलले ठूलै घाटा व्यहोर्नु पर्ने निश्चित छ ।
पछिल्लो समय नेपालमा राजनीतिक दलका शीर्ष नेता र तिनका वरिपरि शक्तिमा रहने नेताहरूले सिद्धान्तलाई धोती लगाइ दिइसकेका छन् । अहिले कांग्रेसको यो सिद्धान्त हो, यसले प्रजातान्त्रिक समाजवाद ल्याउँछ, अथवा वास्तविक खुला पूँजीवादलाई नै व्यवस्थित रुपमा अगाडि बढाउँछ भनेर जनताले पत्याउने अवस्था छैन । यो दलले सभापति शेरबहादुर देउवाको नेतृत्वमा जनताको सेवा गर्छौं भनेर पनि जनतामा कुनै खालको आशा गर्ने अवस्था छैन । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति जनताको केही भरोसा रहने अवस्था हो तर उनीहरुका आवाज, कार्यकुशलतालाई जहिले पनि शीर्ष नेतृत्वले निरस्त गरिदिएर भुत्ते बनाउँदै लगेकाले त्यो आशा पनि मर्ने अवस्था आएको छ ।
कांग्रेसमा कम्युनिष्ट दलमा जस्तो अध्यक्षका विचारलाई निर्विकल्प सिद्धान्त मान्ने, छलफल, बहस नै नगर्ने अवस्था छैन । तलदेखि माथिसम्म चर्को छलफल, बहस हुन्छ । त्यसले प्रजातान्त्रिक दलको झल्को दिन्छ तर अन्तिममा शीर्ष नेतृत्वले कार्यान्वयन गर्ने बेला निरस्त गरिदिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रायः सबै समय सत्ताको फेरबदल र सत्ता टिकाउनेबारे खर्चेको देखिन्छ । उनले सिद्धान्त, आदर्शमा जति बहस, छलफल भए पनि त्यसले केही मतलव राख्दैन, अधिकार त मेरै हातमा छ भन्ने व्यवहार गर्दै आएका छ्न् । उनी लामो समय कांग्रेसको नेतृत्वमा रहे पनि, धेरै पटक सत्ताको बागडोर सम्हाले पनि जनताका प्रिय नेता बन्न सकेका छैनन् । उनी आफूलाई देखाएर जनतामा उत्साह भर्न सफल छैनन् ।
एमाले अहिलेको अवस्थामा ओलीको धुरीमा घुमिरहेको छ । सो दलले पनि सिद्धान्त देखाएर जनतालाई प्रभाव पार्न सक्ने अवस्था छैन । दलमा सिद्धान्तप्रति विसद छलफल, बहस हुँदैन । कुनै पनि नेताले ओलीको सोचाइ र भनाइमाथि प्रश्न उठाउन सक्दैनन् । यस्तो अवस्था भए पनि उनी कम्युनिष्टका ठूला विचारक भने होइनन् । आफूलाई लागेको राम्रो, नराम्रो जुनसुकै कामलाई अगाडि बढाउनैपर्छ भन्ने हिम्मत भएका नेता हुन् । आफूले अगाडि बढाएका योजना, काम पूरा भइहाल्छन् भन्ने अहम् भएका नेता पनि हुन् । उनको यो व्यवहार एमालेका लागि जनतामा जाने ठूलो पुँजी बन्दै आएको छ ।
अहिले पनि एमालेसँग त्यही छ । उनले तत्कालीन नेकपा सरकार हाँकेका बेला अगाडि सारेका योजना, नीति तथा काम सोचेर विचार गरेर, राष्ट्रको अवस्था हेरेर, विश्व परिस्थिति हेरेर अगाडि नबढाएका हुनाले सबै कुरा लहडीका काम जस्ता भएकै हुन् । उनलाई सपना देख्ने विकासवादी नेताका रुपमा एमालेजनले देखाउने त गरेका छन् तर सबै कुरा दिवा सपना मात्रै बन्न गएका छन् । यति हुँदाहुँदै पनि एमालेसँग जनतालाई देखाउन लायक ओली छन् । सकेसम्म यो हतियारले सबैलाई जित्न पनि सक्छ भन्ने आशा छ नेता, कार्यकर्ताहरूमा ।
माओवादी केन्द्रको पनि देखाउनलाई कम्युनिष्ट सिद्धान्त त रहेन नै सबै सिद्धिँदै गयो । सो दलले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बोलीलाई नै पार्टी नीति मान्दै आयो । युद्धका बेला बोलिएका सिद्धान्त भनिएका कुरा पुछिँदै गएर अहिले शून्यको अवस्थामा पुगे । सो दलले जनताको विश्वास गुमाउँदै गएको छ । नेताहरूले हामी यसो गर्छौं, उसो गर्छौं भन्दा कसैले पनि पत्याउन सक्ने अवस्था छैन । यो दलले अझै पनि चमत्कार देखाउनमा माहिर प्रचण्डलाई नै देखाउने अवस्था छ ।
अब राजनीतिक सान बचाउन सक्ने अवस्था छैन तर पनि हाम्रो नेता राजनीतिक चमत्कारी हो, जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्नुहुन्छ भन्ने अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारको विरोध गर्दै जनतालाई सुशासन तथा व्यवस्थित राज्यसंरचना दिने भने पनि उसको पनि सिद्धान्तको दुःख नै प्रमुख समस्या छ । सो दलको पनि सिद्धान्त प्रमुख नभएर अध्यक्ष रवि लामिछाने नै प्रमुख हुन् । युवाहरू समेटर दलको रुप दिइएको भए पनि उनीहरुको गम्भीरता, सिद्धान्तनिष्ठता देखिन्न । शीर्ष नेताकै वरिपरि घुम्ने अभ्यास नै भएको देखिन्छ ।
अहिलेको राजनीति र दलहरूको अवस्थालाई विश्लेषण गर्दा राजनीतिक दलहरूमा देखिएको यो अवस्था डरलाग्दो हो । यसले देशलाई व्यवस्थित रुपमा अघि बढाउन सधैं बाधा दिइरहन्छ । सबै दलले सस्तो प्रचारलाई नै जोड दिइरहेका छन् । कांग्रेसले त त्यही प्रचारलाई पनि दह्रोसँग प्रस्तुत गर्न सकेको देखिन्न । कांग्रेसका भ्रातृ संगठन तदर्थ अवस्थामा छन् । शुभेच्छुक संस्थाहरू पनि सक्रिय छैनन् । पार्टीका विभागहरू सक्रिय छैनन् । बल्ल विभागका प्रमुखहरु तोकिएका छन् । सिद्धान्तलाई लागू गर्न सकिने र सकिन्छ भनेर जनतामा विश्वास जगाउन सकेको छैन । यही अवस्थामा कांग्रेसले जनतासामू के देखाएर जाने हो ?
पछिल्लो समय देउवाको हातमा सत्ता आए पनि कांग्रेसले यी कुरामा ध्यान दिएन भने जनताको माया पाउन कठिन पर्ने निश्चित छ । हुन त सबै दलले जनताका कुनै पनि समस्यालाई लिएर गम्भीर बहस, छलफल गरेका छैनन् । अनियमितता, भ्रष्टाचार रोक्न कुनै प्रयास गरेका छैनन् । सस्तो प्रचारका लागि भ्रष्टाचारका फाइल खोल्ने र माथिल्ला नेताहरूलाई जोगाउने काम नै गर्दै आएका छन् । यति हुँदा हुँदै पनि जनताको विश्वास रहेका, व्यवस्थित संगठन संयन्त्र भएका दल गम्भीर हुनु आवश्यक छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपआर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो
माघ १, २०८१ मंगलबार
आज माघे संक्रान्ति, विभिन्न समुदायले फरक–फरक तरिकाले मनाउँदै
माघ १, २०८१ मंगलबार