जापान जाने हो ? हवाई भाडा मात्र ४५ हजार

इन्द्र रिजाल
बैशाख १६, २०७६ मंगलबार १:३:४३

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।
आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौं–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ ।
जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झण्डै ४५ दिन लाग्ने छ ।
सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ ।
निगमले काठमाडौं–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौं–जापान उडानको समयावधि ६ घण्टाकोे छ भने ओसाका–काठमाडौं साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए ।
निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइड बडी जहाज भित्र्याएको थियो । निगमले जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्नका लागि प्रक्रिया अघि बढाएको छ । यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ । “नारिता उडानका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिनेछ”, सहायक प्रवक्ता कोइरालाले भने ।
निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साइँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।
नेपाल–जापानबीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्टबाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक दुई उडान नेपालबाट जापानका विभिन्न शहरमा गर्न मिल्ने छ । नेपाली एयरलाइन्सले जापानका विमानस्थलबाट अमेरिकाबाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।
गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौं–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो ।
निगमले चीनको गोञ्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । त्यहाँ सातामा तीन उडान गर्ने योजना छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ ।
निगमले वाइड विमान चालक (पाइलट) को थप व्यवस्था गर्दैछ । वाइड बडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।
सिवी अधिकारीको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवीरगञ्ज नाका भएर ७ महिनामा १ खर्ब ४ अर्बको इन्धन आयात हुँदा ४३ अर्ब ११ करोड उठ्यो राजस्व
फागुन १३, २०८१ मंगलबार
विद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार