४ करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १३:४८:३०
१ भदौ, काठमाडौं । भाडाको घरबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय रामपुरले अहिले आफ्नै भवनबाट सेवा दिन थालेको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि नवनिर्मित भवनबाट सेवा सञ्चालन गरिएको छ ।
रामपुर नगरपालिका–५ स्थित बेझाड बजार (बजारदेखि माथिको भागमा अवस्थित) मा आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै पाले घर, चमेनागृह तथा कम्पाउण्ड निर्माण गरिएको छ ।
यस आर्थिक वर्षदेखि नयाँ भवनबाट कार्यालयको सेवा दिन थालिएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार १४ कोठासहितको साढे दुई तलाको भवन निर्माण गरिएको छ । भाडाको घरमा कार्यालय सञ्चालन गर्न समस्या परिरहेको थियो, अब आफ्नै भवन बनेसँगै कार्यालयको कामकाज तथा सेवा बिस्तार हुनेछ, राष्ट्रिय परिचयपत्र र राहदानी सेवा प्रदानका लागि प्रयास भइरहेको छ ।
बाँसुरी मोबाइल जेभि रामपुर–४ पाल्पाले भ्याटसहित रु चार करोड ६८ लाख ६८ हजार आठ सय ५३ बराबरको लागतमा २०८० पुस २२ भित्र सम्पन्न गर्ने गरी २०७९ असार २२ मा सम्झौता गरी थालनी गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि छ महिना म्याद थप गरी गत असारमा भवन निर्माणको काम सम्पन्न भएको हो ।
सम्झौताअनुसार समयमै निर्माणको काम सम्पन्न गर्ने गरी काम भए पनि गृह मन्त्रालयबाट समयमा नै बजेट नआउँदा छ महिना समय थप गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ । कार्यालयबाट नेपाली नागरिकता, नाबालक परिचयपत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको छ । पछिल्लो समय औसतमा दैनिक ६० नेपाली नागरिकता जारी हुने गरेको छ ।
प्रशासन कार्यालय रामपुरमा सुरु भएपछि पूर्वी पाल्पाका नागरिकले सजिलोसँग भनेकै समयमा सेवा पाइएको स्थानीय महेश पौडेलले बताए । भाडाको घरमा कार्यालय सञ्चाल नहुँदा साँघुरिएर भए पनि कर्मचारीले राम्रो सेवा दिनुभयो, कार्यालयको भवन व्यवस्थित बनेको छ, नयाँ भवनबाट सेवा प्रवाह थालनी भएको छ, यो देख्दा खुसी लागेको छ, पूर्वाधार व्यवस्थित बनेपछि हामी नागरिक थप सेवा पाउने छौँ भन्ने आशामा छौँ, उनले भने ।
रामपुरमा प्रशासन कार्यालय नहुँदा स्थानीयले नागरिकता बनाउन, विभिन्न कामका लागि सदरमुकाम तानसेन गएर सेवा लिन चार÷पाँच घण्टाको बाटो गाडीमा यात्रा गरेर सेवा लिन बाध्य थिए । गाउँको बाटो सहज नहुँदा कहिले काँही बासै बसेर काम सकाएर फर्कदा धेरै खर्चिलो र झमेला बेहोर्नुपर्ने अवस्था थियो ।
पहाडको बाटो पानी पर्दा हिलाम्य सडक, ठाउँ ठाउँमा पहिरो खस्ने, सवारी साधन कमै मात्रामा तानसेनका लागि गुड्दथे । तानसेनमा होटलमा बास नबसी भरसक काम सकाएर एकै दिनमा फर्कन अप्ठ्यारो हुन्थ्यो । पहाडको यात्रा सडक व्यवस्थित नहँुदा दुर्घटनाको जोखिम मोल्दै विभिन्न समस्या र बाध्यतालाई छिचोल्दै जानुपर्ने समस्या सदाका लागि पूर्वी पाल्पावासीलाई अन्त्य भएको छ ।
नागरिकता बनाउन सदरमुकाम आउनजानको झन्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । पूर्वी पाल्पाका स्थानीयलाई सेवादिने उद्धेश्यले विसं २०६३ असार १० गते तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गरी रामपुरमा प्रशासन कार्यालयबाट सेवा दिन थालिएको हो ।
कार्यालय स्थापना भएपछि भाडाको घरबाट सेवा दिँदै आएको थियो । अहिले आफ्नै भवनबाट सेवा दिन थालेपछि सहज भएको कर्मचारी बताउँछन् । यस कार्यालयबाट पूर्वी पाल्पाका रामपुर नगरपालिकासँगै पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ सम्म वडाका नागरिकले सेवा लिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार