शक्तिशाली प्रधानमन्त्री ओली किन डराइरहेका छन् ?
भेषराज पोखरेल
भदौ १५, २०८१ शनिबार ९:४७:४४
कांग्रेस र एमालेको गठबन्धन भएर बनेको केपी ओली सरकार सामान्य होइन । यो सर्वाधिक शक्तिशाली सरकार हो । संसदमा मात्रै नभएर नेपालको राजनीति मै जनमत, पार्टी व्यवस्थापन, सिद्धान्त सबै हिसाबले शक्तिशाली दल कांग्रेस र एमाले मिलेर बनेको गठबन्धनको ओली सरकार काम गर्न कतैबाट पनि डराउनुपर्ने कारण छैन । तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली भने डराउन थालेको देखिएको छ ।
उनले एमाले पदाधिकारी बैठकमा सरकारप्रति चौतर्फी आक्रमण हुन थालेको बताएका छन् । उनले त्यसको प्रतिकार गर्न पनि नेताहरूलाई आग्रह गरेका छन् । ओली जस्तो सत्ताको लामाे अनुभवी प्रधानमन्त्री ओलीले सामान्य विरोधका अवस्थालाई आक्रमण गर भन्न नपर्ने हो । २०७९ को आमनिर्वाचनपछि एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका र तत्कालै पुनः कांग्रेससँगको सहकार्य गरेर प्रधानमन्त्री नै बनेका तथा यो गठबन्धन बन्नुभन्दा अघि एमालेसँगको गठबन्धनमा पनि प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्षले यो माफियाको सरकार हो भनेकोमा केपी ओली डराउनेवाला त होइनन् ।
हुन त भर्खरै टुँडिखेलमा भएको पश्चिम क्षेत्रको गौरा पर्वमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी भएको थियो । यिनै दुई अवस्थालाई लिएर सरकारमाथि चौतर्फी आक्रण सुरु भएको त नभन्नुपर्ने हो । हुन त केपी शर्मा ओली सचेत र बाठा प्रधानमन्त्री हुन्, अहिलेको तरल राजनीतिक अवस्थामा धेरै क्षेत्रबाट निरन्तर विरोधको सामना गर्नुपर्ने अवस्थामा एमालेको केन्द्रीय कार्यसमितालाई प्रतिवादका लागि तयार रहन सचेत गराएको जस्तो देखिन्छ ।
लोकतान्त्रिक पद्धतिमा सरकारको विरोध जहिले पनि हुन्छ र विरोध हुनु राजनीतिको जागरुक अवस्था पनि हो । अहिलेको अवस्थामा जुनसुकै सरकार भए पनि भ्रष्टाचार हट्न नसक्ने, सुशासनको अभाव हुनु, शासन, प्रशासन दुवैमा डरलाग्दो गरी दलाली मौलाउँदै जानु, कमिशनबिना कुनै पनि काम अघि नबढ्ने अवस्थामा नागरिकको तर्फबाट विरोध हुनु स्वाभाविकै हो । अझ विभिन्न निहुँमा कानुनमा छिद्र राख्न राजनीतिक तहबाटै प्रयास हुँदा प्रतिपक्षमा बसेका साना दल नै किन नहुन विरोध त गर्ने नै भए । नागरिक तहबाट पनि विरोध हुने नै भयो । प्रधानमन्त्री केपी ओली यी अवस्थाबाट डराउनुको सट्टा यी क्षेत्रमा काम गरेर जनताका सामू खरो उत्रनुपर्ने हो । अहिलेको अवस्थालाई हेर्दा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि त्यही दलाली र कमिशनकै दलदलमै चलेको हो, त्यसभन्दा अघिका सरकार पनि यही दलदलमै चलेका हुन् ।
अहिले यी कुरा हटाएर व्यवस्थित राज्यसंयन्त्र तयार गर्नतिर प्रतिबद्ध भएर लाग्ने हो भने केपी ओली सरकारलाई कसैले पनि रोक्न सक्दैन । कसैले केही क्षेत्रमा विरोध गरे पनि त्यसको सामान्य असर पनि पर्दैन । होइन, केही नयाँ काम नगरी पहिलेकै अवस्थालाई निरन्तरता दिने हो भने यस्ता विरोध कति आउँछन् कति, सरकारले ती विरोध थेग्न कठिन पर्ने नै छ । यो स्वाभाविकै हो ।
प्रधानमन्त्री ओली राजनीति र राज्यसंयन्त्र दुवैलाई आफ्नो मुठीमा राख्ने नेता हुन् । उनले सिद्धान्तभन्दा विकास ठूलो कुरा हो भन्ने मान्यता राख्छन् । केही समयअघि उनले भनिदिएका पनि थिए, सिद्धान्त र नीतिले जनतालाई केही फरक पार्दैन । उनमा अर्को कुरा पनि छ, आफूले भनेपछि सबैले मान्नुपर्छ, ओली अगाडि बढेपछि बढ्छ बढ्छ, कतैबाट विरोध आउनुहुँदैन भन्ने चाहन्छन् । उनमा विकासका योजना कस्ता छन्, तिनका आधार तयार भएका छन् कि छैनन्, पूरा हुन सक्ने खालका छन् कि छैनन् ? त्यसको मतलब नगरी घोषणा गरेपछि भइहाल्छ भन्ने मान्यता छ । तत्कालीन नेकपाको सरकार हाँक्दा देशका अनेकौं क्षेत्रमा भ्यूटावरहरु निर्माण गर्ने योजना बनाए । पहाडका टुप्पा तथा तराईका समथर भागमा पनि महँगा टावर बनाए ।
केही त सञ्चालनमा छन्, अधिकांश त सञ्चालनको अवस्थामा नै छैनन् । ती अवश्यकता हेरेर बनाएका थिएनन् । राष्ट्र र जनतालाई अति महत्वपूर्ण हुनसक्ने योजना पनि आधारबिना घोषणा गरे र पछि पनि पूरा गर्न तदारुकता देखाएनन् । प्रधानमन्त्री कृषि कार्यक्रम अलपत्र पर्यो, राष्ट्रपति युवा रोजगार कार्यक्रम, सबै पालिका जोड्ने पक्की सडक, प्रत्येक पालिकामा आधारभूत चिकित्सालय सबैको अवस्था राम्रो छैन । अहिले त उच्च पदलाई जोडेर कुनै पनि योजना अघि नबढाउनू भनेर आदेशै दिएका छन् । उनले विशेष विज्ञ सल्लाहकार बनाउनभन्दा आफू र आफनो दलका विश्वासपात्र भए पुग्ने अवस्था देखाएका छन् । यस्तो अवस्थामा जनता खुशी हुने कुरा भएन ।
टुँडिखेलको घटनाले जनता परिणाम खोजेका छन् । उनीहरुले नेताहरूलाई अहिलेको अवस्थामा दुत्कार्न पनि सक्छन् भन्ने सोचेर देखिने गरी काम गर्न ढिला गर्नुहुँदैन । प्रधानमन्त्रीलाई अघि बढ्न कांग्रेस सहयोगी नै हुने भयो, अरु दलको विरोध वा कुनै अवरोधको प्रभाव पर्नेछैन । उनले नीति र भविष्यको परिणाम हेरेर अघि बढ्नुपर्छ न कि दलाल, बिचौलिया तथा कमिशनखोरहरुका गुलिया वचनबाट प्रभावित हुने ।
हुन त केपी ओलीले सधैं आफू र आफ्नो पदलाई केन्द्रमा राखेर आफ्नो दल तथा शक्ति कायम राख्न सकिने अवस्थामा जस्तै दलाल वा कमिशनखोरहरुसँग सम्झौता गरेको देखिन्छ । उनको त्यो व्यवहारलाई जनताले नजिकबाट हेरिरहेकाले अब त्यो बाटो त्याग्नैपर्ने छ । पद र शक्ति कायम रहने अवस्थामा शेरबहादुर देउवाले उनलाई सहयोग गर्नेछन् तर उनको स्वभाव ओलीको जस्तो आक्रामक भने छैन । अब ओली र देउवाले यिनै अवस्थामा रमाए भने एमालेभित्रबाट प्रश्न नउठे पनि कांग्रेसबाट दह्रो विरोधको सामना गर्नुपर्नेछ । यस अवस्थामा केपी ओली तथा शेरबहादुर देउवा डराउनु पर्नेछ ।
अहिले एउटा एउटा भाष्य तयार भएको छ, यो गठबन्धन सरकारले भ्रष्टाचारीहरुको संरक्षण गर्छ । भ्रष्टाचारका फाइल बन्द गरेर लुकाउनेछ । प्रचण्ड सरकारले फाइल बाहिर ल्याए पनि उच्च पदस्थलाई जोगाउने काम गरेकै हो । छानबिन भने पनि निष्कर्ष ननिकालिकन छाड्ने काम त गरेकै हो तर अहिले यो सरकारले त्यति पनि गर्दैन भनेर जनतामा पर्न गएको छ । यसलाई चिर्न विकास तथा देशका अनेकौं अवस्थामा परिवर्तन त ल्याउनै पर्नेछ नै, भ्रष्टाचार तथा तस्करीका फाइल खोलेर जो कसैलाई भए पनि कारबाही गर्न सक्नुपर्नेछ । त्यसो गर्न सके यो गठबन्धन सफल मानिनेछ । यसले जनतामा यी ठूला दलप्रतिको आशा र भरोसा जगाउनेछ । होइन भने सरकार जति बेला पनि जनताको आक्रोशमा पर्ने अवस्था आउनेछ । सायद प्रधानमन्त्री केपी ओली यही अवस्थाको आँकलन गरेर डराएका पो हुन् कि ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार