गंगालाल अस्पतालको जग्गामा भोगाधिकार विवादः सरकारलाई न महानगर टेर्छ, न बाँसबारी क्लब
सरकारी जग्गा कब्जा गर्दै युलियन्स स्कुललाई भाडा लगाउँदै बाँसबारी क्लब
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार १४:५६:१३
२८ भदौ, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र बाँसबारी क्लबबीच जग्गा भोगाधिकार सम्बन्धी विवाद यतिबेला मातहतका निकायलाई टाउको दुखाइको विषय बनेको छ । स्वास्थ्य मन्त्रालयले देशकै प्रतिष्ठित र पहिलो मुटु रोग अस्पताल गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ०५८ सालमा भोगाधिकार गर्न दिएको जग्गाको उपभोग भने स्थानीय बाँसबारी क्लबले जबरजस्ती गरिरहेको छ । क्लबले गुण्डागर्दी शैलीमा उपभोग गरिरहेको जग्गा फिर्ता ल्याउन सरकारी संयन्त्रहरु लागिरहे पनि सम्भव भएको छैन ।
तत्कालीन श्री ५ को सरकारले २०५८ साल कार्तिक २७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको स्वामित्वमा रही निजीकरण पछि स्वास्थ्य मन्त्रालयको स्वामित्वमा आएको र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कम्पाउण्ड भित्र रहेको साविक काठमाडौं नगर २२/६ को कि.नं. ४३० को ७ रोपनी १३ आना र साविक काठमाडौं नगर २२/६ कि.नंं ६३७ को ११ रोपनी १४ आना २ पैसा मध्येबाट स्वास्थ्य मन्त्रालय मातहतका परिषदहरुलाई उपभोग गर्न उपलब्ध गराइएको कटाई बाँकी जग्गा ९ रोपनी १४ आना गरी कुल १७ रोपनी ११ आना जग्गा हृदयरोग केन्द्रले भोगाधिकार गर्ने गरी उपलब्ध गराएको थियो ।
गंगालाल अस्पताललाई सरकारले आवश्यकता अनुसार उपभोग गर्न दिएको जग्गामध्ये ७ रोपनी १३ आना जग्गा भने बाँसबारी क्लबले जबरजस्ती कब्जा जमाई एक निजी स्कुललाई भाडामा लगाएर बसेको छ । अहिले सो जग्गामा नेपालस्थित पाकिस्तानी दूतावासले क्लब कै अनुरोधमा पार्क बनाइदिएको छ । पाकिस्तान–नेपाल मैत्री पार्क नाम दिइएको सो जग्गा पछिल्लो समय क्लबका केही पदाधिकारीको स्वार्थमा वार्षिक १५ लाख भाडा लिने गरी युलियन्स स्कुललाई खेल मैदानका रुपमा उपभोग गर्न दिएको क्लब स्रोतको भनाई छ । अझ रोचक त के छ भने स्थानीय सरकारका रुपमा रहेको काठमाडौं महानगरपालिकाले सरकारी राजश्वको चरम दुरुपयोग गर्दै अस्पतालको जग्गामा करिब ५ करोडको लागतमा फुटसल खेलमैदान बनाउन लगानी गरेको छ । जो आफैमा अख्तियारको दुरुपयोग हो र सरकारी राजश्वमाथि अवैध चलखेल पनि हो ।
बिगतमा सरकारी जग्गा संरक्षण गर्ने अभियान चलाएर हाई हाई भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि यो जग्गा विवादमा खास चासो दिएका छैनन् । महानगरले सरकारी सम्पत्तिमाथि बनेका अनधिकृत संरचना हटाउने अभियान पनि यसमा लागु भएको छैन । बरु महानगरको राजश्वको चरम दुरुपयोग भइरहेको छ । सरकारी सम्पत्तिमाथि बाँसबारी क्लबका नाममा रजाई गरिरहेको भन्ने अस्पताल पक्षको भनाइ छ । काठमाडौं महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष प्रेम थापा नै सो क्लबको पनि अध्यक्ष रहेकोले अस्पतालको जग्गा अनधिकृत रुपमा निजी स्कुललाई भाडामा दिएर अख्तियारको चरम दुरुपयोग भइरहेको छ ।
खासमा यो जग्गामा भौतिक संरचना बनाउने वा कसैलाई भाडा लगाउने अधिकार भने गंगालाल अस्पतालसँग मात्रै छ । यद्यपि यो अधिकारको प्रयोग गर्न अस्पतालले पाइरहेको छैन । बाँसबारी क्लबले अनाधिकृत एवं जबरजस्ती कब्जा गरी विभिन्न संरचनासमेत निर्माण गरिरहेको छ । सरकारले यो जग्गा अस्पतालका लागि दिएकाले बाँसबारी क्लबलाई आवश्यक पर्दा गंगालाल अस्पतालसँगै सम्झौता गरेर लिनुपर्ने हो । तर, उल्टो उक्त जग्गामा बाँसबारी क्लबको रजगज छ । सरकारी संयन्त्रहरु पनि एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।
जब की शहीद गंगालाल हृदयरोग केन्द्र देश कै प्रतिष्ठित र विशेषज्ञ सेवासहितको मुटु रोग अस्पतालका रुपमा चर्चित छ । बिरामीहरूको अत्यधिक चापले गर्दा अस्पताललाई स्थान अभाव भएको मात्र छैन, बिरामी लिएर आउने एम्बुलेन्स वा अन्य सवारी साधन पार्किङ स्थानको पनि चरम अभाव देखिएको छ । बिरामीले मुख्य सडकमै बल्ग्रेल्ती पार्किङ राख्दा त्यस क्षेत्रमा चर्को ट्राफिक जाम समेत हुने गरेको छ ।
तर बाँसबारी क्लब अस्पतालभन्दा अगाडिदेखि हामीले यो सरकारी जग्गा प्रयोग गर्दै आएकाले सरकारले फिर्ता नलिएसम्म उपभोग गरिरहने भन्ने मनस्थिति देखाएर आनाकानी गरिरहेको छ । काठमाडौं महानगर पनि क्लबलाई हटाउने र जग्गा फिर्ता गराउने पक्षमा देखिएको छैन । उ पनि यो जग्गा सकेसम्म आफैं उपयोग गर्ने पक्षमा छ । अब भने हस्तक्षेप गरेर भएपनि उक्त जग्गा फिर्ता ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
आफ्नो जग्गा आफैंले उपभोग गर्न नपाएको र बाँसबारी क्लबले अनधिकृत रुपमा कब्जा गरी मनोमानी गरिरहेको भन्दै गंगालाल अस्पतालले विभागीय मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त जग्गा फिर्ता गरिदिन आग्रह गर्दै आएको छ । ०५८ सालमै सरकारले उपभोग गर्न दिएको सो जग्गाबाट बाँसबारी क्लबलाई हटाउन यस अघिका कुनै पनि प्रशासकले चासो नदिएको भेटिएको छ । सो अस्पतालको कार्यकारी निर्देशकका रुपमा नियुक्ति लिएर आउने प्रशासक हुन वा अन्य अस्पताल प्रशासनको पनि यसमा गम्भीर लापरबाही देखिएको छ । अहिले बल्ल अस्पताल प्रशासनको आग्रहपछि स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग प्रहरी बल प्रयोग गरेर भएपनि जग्गा फिर्ता गर्न सहयोग गरिदिन आग्रह गर्दै यही भदौ ७ गते पत्र पठाएको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसमा कुनै चासो देखाएको छैन ।
स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासन काठमाडौंलाई पठाएको छ:
सोही मितिमा स्वास्थ्य मन्त्रालयले काठमाडौं महानगरलाई पनि पत्र लेखेर बाँसबारी क्लबले हडपेको जग्गा फिर्ता गरी अस्पताललाई सहयोग गरिदिन र त्यहाँ क्लबले बनाएका संरचना भत्काइदिन आग्रह गरेको थियो । तर, उल्टै महानगरकै बजेटमा सो जग्गामा फुट्सलका लागि खेल मैदान बनाइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले महानगरलाई पठाएको पत्र:
बाँसबारी क्लबले नै निजी क्षेत्रको युलियन्स स्कुललाई भाडामा मैदान दिएको अस्पतालको आरोप छ । गंगालाल अस्पताल प्रशासनको भनाइमा बाँसबारी क्लबले मनोमानी ढंगबाट युलियन्स स्कुललाई वार्षिक १५ लाख रुपैयाँ भाडामा दिएको छ । सो जग्गा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०५८ साल मंसिर १५ गते अस्पताललाई भोगाधिकारका लागि दिएको थियो । यसबारेमा शहीद गंगालाल हृदय रोग केन्द्रका कुनै पनि कर्मचारी बोल्न मानेनन् ।
साबिक काठमाडौं महानगर–२२ हाल ३ नम्बर वडामा रहेको उक्त जग्गाको कित्ता नम्बर ४३० रहेको छ । क्लबको भवनसँगै उक्त जग्गामा फुटबल ग्राउण्डसमेत रहेको छ । अहिले सो जग्गाको एक भागमा युलियन्स स्कुलको प्लेग्राउण्ड बनाइएको छ । अहिले बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पनि छन् । उनकै पहलमा क्लबले युलियन्स स्कुललाई भाडामा जग्गा दिएको अस्पताल स्राेतकाे भनाइ छ । तर, अध्यक्ष थापाले भने यसका क्लबको कुनै दोष नभएको बताएका छन् ।
जग्गा विवादबारे नेपालबहससँग कुरा गर्दै थापाले गंगालाल अस्पताल बनाउनुभन्दा धेरै अगाडिदेखि यो क्षेत्रमा बाँसबारी क्लब स्थापना भएको बताए । उनले यो जग्गा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएको र अस्पतालले अनावश्यक रुपमा क्लबलाई दोषी देखाएर विवादमा ल्याउने काम गरेको बताए । थापाले उक्त जग्गा सरकारी भएको र क्लबले युलियन्स स्कुललाई मैदान भाडामा लगायो भन्ने आरोप पनि गलत भएको बताए । सरकारी जग्गा खाली थियो । २०३७ सालमा क्लब स्थापना हुँदा गंगालाल अस्पताल बनेको थिएन । सरकारी जग्गा र खाली भएकाले क्लबले खेल खेलाउने गरेको थियो, उनले भने ।
अहिले उक्त जग्गामा बनिरहेको खेल मैदान बनाउने कुरामा पनि वडा र क्लबको कुनै हात नरहेको बताए । 'एक वडा एक खेल मैदान' भन्ने सरकारी नीतिअनुसार काठमाडौं महानगरपालिकाले सो मैदान बनाइरहेको थापाको भनाइ छ । उनले अनावश्यक रुपमा गंगालाल अस्पतालका केही व्यक्तिहरूले निहित स्वार्थ पूर्ति गर्न यो विवाद निकालेको भन्दै यो जग्गा स्वास्थ्य मन्त्रालयको नाममा रहेको र उसले जे चाह्यो त्यही हुने बताए । 'एक वडा एक खेल मैदान' योजना अन्तर्गत त्यहाँ मैदान बनाउन १ करोड विनियोजन भएको उनकाे भनाइ छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो विवाद अन्त्य गराउन हस्तक्षेप गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सो जग्गा कुनै क्लब वा व्यक्तिलाई अब प्रयोग गर्न नदिने र फिर्ता ल्याउने बताए । नेपालबहससँग उनले भने,‘ मन्त्रालयले अस्पताललाई आवश्यकता अनुसार उपयोग गर भनेर दिएको हो, त्यसमा अरु कसैले हस्तक्षेप गरेर प्रयोग गरिरहेको भन्ने कुरा आएको छ । यो हुन मन्त्रालयले दिँदैन । यथाशिघ्र फिर्ता गर्छौ । उनले बाँसबारीको मात्र नभएर अब मन्त्रालयले देशभरिका यस्ता जग्गा फिर्ता लिने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी गर्न थालेको भन्दै प्रवक्ता बुढाथोकीले यस्ता जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन भइसकेको र त्यस्ता जग्गाको विवरण, उपयोगको अवस्था लगायतका विवरण १५ दिनभित्र पठाउन निर्देशन भइसकेको बताए । बुधबार मन्त्रालयले जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाइल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगानामा पठाउनका सूचना नै जारी गरेको थियो ।
गंगालाल अस्पतालको जग्गा उपभोग गरेकै विषयमा बाँसबारी क्लबभित्र पनि विवाद देखिएको छ । खेलमैदान बनाउने र शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता गराउने विषयमा आन्तरिक विवाद रहेको एक सदस्यले बताए । उनका अनुसार खेल खेलाउन ६०/७० लाख लाग्ने अनुमान छ । अहिले १० देखि २० लाखसम्म युलियन्स स्कुलले क्लबलाई दिइरहेको छ । मनोमानी ढंगबाट क्लबले अस्पतालको जग्गा निजी स्कुललाई भाडामा दिएको भन्दै केही समय अघि अस्पतालका चिकित्सक र कर्मचारीहरूले महानगरलाई निवेदन दिएका थिए । तर, यसबारे सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार