सिंहदरवार नै सबै थोक हो भन्ने मानसिकताले संविधान र संघीय संरचनामाथि दबाब : नेता कोइराला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार ८:१४:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepali-Congress-Shekhar-Koirala_nBSC4rckBg_Lzpwv7DQUD.jpg)
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागु भए पनि संस्कारजन्य रुपमा एकात्मक राज्यको सोच र सिंहदरबार नै सबै थोक हो भन्ने मानसिकताबाट नेताहरु मुक्त हुन नहुँदा आज संविधान र संघीय संरचनामाथि दबाब बढेको बताएका छन् । ९ औँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने बहस यही कारणले छलफलमा रहेको बताएका छन् ।
आदरणीय दाजुभाई तथा दिदीवहिनीहरु,
हामीले संविधान दिवस मनाउन थालेको आज ८ वर्ष पूरा भएको छ । यस पुनीत अवसरमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुलाई म शुभकामना र बधाई दिन चाहन्छु ।
नेपालको वर्तमान संविधान निर्माण प्रक्रिया आज भन्दा सात दशक अगाडि शुरु भएको थियो । जनप्रतिनिधिद्वारा देशको संविधान निर्माण गर्ने परिकल्पना सर्वप्रथम नेपाली कांग्रेसको नेतृत्वमा यस पार्टीका मूर्धन्य नेता एवं महामानव वीपी कोइरालाबाट भएको थियो । अनेकन् आरोह अवरोह खेप्दै लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने क्रममा रत्तिभर पनि विचलित नभई संघर्ष र बलिदानलाई स्विकारेर कांग्रेस कार्यकर्ता, नेता, समर्थक, शुभेच्छुक र आम नेपालीले इतिहासको विभिन्न कालखण्डमा गरेको त्याग अतुलनीय छ । अग्रज पुस्ताको त्यो गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहनेछ ।
वर्तमान संविधानले नेपाली जनताका कैयन् सपनाहरुलाई सम्बोधन गरेको छ । राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ । आज दक्षिण एशियामा मात्र होइन विश्वमै नेपालको संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेको भनी प्रशंसित पनि छ ।
नागरिकको सम्प्रभूत्तालाई मुलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निणर्य लिने ठाउँमा सामाजिक रुपले वञ्चना परेका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा होइन । त्यस्तै महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तल देखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको यो समूह राष्ट्र निर्माणको प्रकृयामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको छ ।
संविधान गतिशील दस्तावेज हो । जसरी समाज गतिशील हुन्छ र समाजमा उठ्ने मुद्धाहरु पनि समय सापेक्ष फरक(फरक हुन्छन् । यसरी गतिशील समाजका मुद्धालाई संविधानले सम्बोधन गर्न जरुरी हुन्छ । आज नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने वहस यही कारणले छलफलमा छ ।
नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमान्दारीपूर्वक लागु गर्न यस कालखण्डमा सत्तामा बसेका नेताहरूले खास ध्यान पुर्याएनन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागु भए पनि संस्कारजन्य रुपमा हामीमा एकात्मक राज्यको सोच र सिंहदरबार नै सबै थोक हो भन्ने मानसिकताबाट हामी मुक्त हुन सकेनौं । यही कारण हो आज संविधानमाथि दबाब छ, यही कारण आज संघीय संरचनामाथि दबाब छ ।
राज्यको नयाँ संरचना निर्माण पछि उत्पन्न कानुनी जटिलताहरूलाई सम्बोधन गर्न ऐन कानुनहरू जुन तीब्रताका साथ निर्माण गर्नुपर्थ्यो हामी त्यसमा चुक्यौँ । कैयन् कानुनहरू समयमा बनेनन्, कैयन अझै बनेका छैनन । एकातिर राज्य संरचनालाई अगाडि बढाउने ऐन कानुनहरूको अभाव भयो भने अर्कोतिर संविधानको आफू अनुकूल व्याख्या गर्ने राजनीतिक नेतृत्वको सोचले आम मानिसमा संविधानप्रति निराशा छायो । सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्य संविधानको जगबाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का राख्न नसक्दा देशमा सामाजिक न्याय, आर्थिक वृद्धि सुशासनका कुराहरू केवल गफ र भाषणमा मात्रै सीमित भएको आरोप यतिखेर नागरिकबाट आइरहेको छ ।
संविधानतः सबै नेपाली नागरिक समान छन भन्ने कुरा व्यवहारमा नदेखिँदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ । कार्यकारीमा बस्ने नेतृत्वको शक्तिको असीमित चाहनाले संविधानको मूल मर्म “शक्ति पृथकीकरणको सिद्धान्त” लाई नै चोट पुग्न गयो । आज नेपालका संवैधानिक निकायहरूको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएका छन भने यसको पछाडि कार्यकारीबाट गरिने “मिचाहा प्रवृति” जिम्मेवार छ । राज्य संचालनका यस्ता निकायहरूमा सक्षम, योग्य र इमान्दार मानिसहरूलाई पन्छाएर “आफ्नो मान्छे” भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने ?
नेपालको संविधान करिब ३ करोड नेपालीमा समर्पित छ । यही संविधानको जगबाट नेपाल राष्ट्रलाई समृद्धशाली बनाउन सकिन्छ । विधिको शासन, जनताप्रति उत्तरदायी शासक र प्रशासक, सुशासन, दण्डहिनताको अन्त्य र पारदर्शिता यी संविधानका मर्म हुन । नेपाल र नेपालीको भविष्य यिनै संविधानका मूल मर्मप्रति समर्पित भएर अगाडि बढ्दा मात्र संभव छ ।
भारतका संविधान निर्माणकर्ता बाबा साहेब अम्बेडकरले भनेझै “संविधान जतिसुकै राम्रो बनाए पनि त्यसलाई कार्यान्वयन गर्ने इमान्दार नहुँदा त्यो निरर्थक हुन्छ” । आजको नेपालमा बाबा साहेबको भनाई सार्थक हुँदैछ भनी भन्नुपर्दा नरमाइलो लाग्छ ।
अन्त्यमा,
संविधानले नेपाल र नेपालीलाई राजनीतिक रुपले मात्र होइन भावनात्मक रुपले पनि जोडेको छ । यो सबै नेपालीको साझा दस्तावेज मात्र होइन “साझा उपलब्धि र भविष्य” पनि हो । आज संविधान दिवसको दिन म सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई विनम्रताका साथ अनुरोध गर्दछु, हामी जुनसुकै राजनीतिक दल, वाद, समुदाय वा क्षेत्रको भए पनि देश वा विदेश बसेका छौं भने पनि यो संविधान मार्फत आफ्नो र देशको भविष्य निर्माण गरौँ । यसका कमी कमजोरीलाई समय सापेक्ष परिमार्जन र सुधार गर्दै राष्ट्र हितमा अघि बढौँ । आजको दिन जनताबाटै संविधान निर्माण हुनुपर्छ भनी सफलता पाएको दिन भएकोले यसक्रममा शहादत प्राप्त गर्ने नेपालीहरूलाई सम्झौँ । तिनलाई श्रद्धा सुमन अर्पण गरौँ । जय नेपाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार