शीर्ष तहबाट जवाफ नआएपछि १७ राजदूतको संसदीय अनुमोदन अन्योलमा, आज समितिको बैठक
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार ९:३२:४३
३ असोज, काठमाडौं । विवादमा परेको राजदूतको संसदीय अनुमोदन गर्ने कि नगर्ने भन्ने अन्योल कायमै रहेका बेला आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । शीर्ष तहमा पनि एकमत नभएकाले समितिलाई राजदूतको अनुमोदन गर्न सकस परेको हो । यसैले प्रस्तावित १७ राजदूतका कार्ययोजना र अनुभव सुनेपछि संसदीय सुनुवाइ समिति बैठक सर्दै सर्दै आज बिहीबारका लागि बोलाइएको छ ।
भदौ २७ गते प्रस्तावित सबै राजदूतहरूको सुनुवाइ भइसकेको थियो । सरकारले सिफारिस गरेका १७ मध्ये चार मुलुकका राजदूतको संसदीय अनुमोदनमा अन्योल देखिएको हो । संवैधानिक व्यवस्था, कूटनीतिक क्षमता र विभिन्न मुद्दामामिलामा संलग्नताको प्रश्न उठेपछि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ दल एमाले र कांग्रेस नेतृत्व एकमत हुन सकेको छैन ।
मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीमा उनी तदर्थ समिति अध्यक्ष पदमा रहँदा र बाहिरिएपछि गरेका काम कानुनविपरीत रहेको भनी सुनुवाइ समितिमा उजुरी परेका छन् । २०७६ साउनमा ओली नेतृत्वको तत्कालीन सरकारले तिमल्सिनालाई रेडक्रसको अधिवेशन गर्ने कार्यादेशसहित तदर्थ समिति अध्यक्ष नियुक्त गरेको थियो । उनको कार्यकाल सकिएपछि २०७९ मा सरकारले सुदर्शनप्रसाद नेपाललाई रेडक्रसको तदर्थ समिति अध्यक्ष नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध तिमल्सिनाले २०७९ असार ६ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उक्त मुद्दा हाल पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।
भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मालाई अनुमोदन गर्दा सरकारले नै जारी गरेको ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ को उल्लंघन हुने समितिको ठहर छ । शर्मा २०७८ चैतदेखि २०८१ साउन १४ सम्म भारतको राजदूत थिए । सरकारले उनलाई फिर्ता बोलाएको थियो । त्यसकारण उनको अनुमोदन निर्देशिकाविपरीत हुने भन्दै समितिमा उजुरी पनि परेको छ ।
इजरायलका लागि राजदूतमा सिफारिस प्रा. धनप्रसाद पण्डित अदालतबाट सजाय पाएका व्यक्ति भएकाले मुलुकको प्रतिनिधित्व गर्न अयोग्य रहेको उजुरी सुनुवाइ समितिमा परेको छ । सुनुवाइका क्रममा सांसदहरूले उक्त उजुरीमा आधारित प्रश्न पनि गरेका थिए । पद्मकन्या क्याम्पसको प्रमुख हुँदा सूचना उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले पण्डितलाई १५ हजार जरिवाना र विभागीय कारबाहीका लागि त्रिविलाई पत्र लेखेको थियो । २०७८ मा उच्च अदालत पाटनले सूचना आयोगको आदेश सदर हुने फैसला गर्दै पण्डितलाई दोषी ठहर गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठलाई संविधानले नै उक्त पदमा जान नदिने भनी प्रश्न उठेको छ । श्रेष्ठ राष्ट्रिय मानवअधिकार आयोगको सदस्य भइसकेको र संविधानको धारा २४८ (८) ले उनलाई राजदूत बन्न नमिल्ने सांसदहरूको बुझाइ छ । सो विषयमा उनीविरुद्ध उजुरी पनि परेको छ । उनी २०५७ देखि २०६२ सम्म राष्ट्रिय मानवअधिकार आयोगको सदस्य थिए ।
यही अन्योलका कारण प्रस्तावित १७ राजदूतका कार्ययोजना र अनुभव सुनेपछि संसदीय सुनुवाइ समिति बैठक बसेको थिएन् । २७ भदौमा सुनुवाइ सकिए पनि आज ११ बजेका लागि बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार