कैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
मधु लम्साल
असोज ३, २०८१ बिहिबार १३:७:२५
हिन्दु धार्मिक ग्रन्थ अर्थात् चर्चित पुराण “श्री स्वस्थानी व्रतकथा”मा हिमालय पर्वत कैलाश र मानसरोवर बारे विभिन्न सन्दर्भमा रोमाञ्चक कथा सामाग्री प्रस्तुत गरिएको छ । हिन्दु धर्मावलम्बीका आराध्य देव भगवान महादेव र देवी पार्वती, पुत्रहरू श्रीगणेश र कार्तिकेको बासस्थानका रुपमा कैलाश पर्वतलाई लिइएको पाइन्छ भने मानसरोवरलाई महादेवले हंस रुप धारण गरी जल विहार गरेको लगायत कथा “श्री स्वस्थानी” ब्रतकथामा उल्लेख छ । हिन्दु धार्मिक कहावत अनुसार देवताहरूले मानसरोवरमा स्नान गरेर मात्रै कैलाशमा महादेवको दर्शन गर्थे रे ! त्यसैले पनि कैलाश अनि मानसरोवरको महिमा हिन्दु, बौद्ध, जैन, सिख, ओमकार लगायत विभिन्न धार्मिक अनुयायीले पछ्याउने गरेको पाइन्छ ।
धार्मिक एवं आध्यात्मिक विचारबाट प्रभावित व्यक्ति त्यसमा पनि बच्चैदेखि 'श्री स्वस्थानी'को कथा श्रवण गर्दै आएकाले पनि मानसपटलमा कैलाश र मानसरोवरले राम्रै स्थान ओगटिरहेको थियो । यसै सन्दर्भमा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई म आफूले आदर्श व्यक्तिका रुपमा मान्दछु । उहाँलाई अभिभावक नै ठान्छु । उहाँसँग प्रायः जसो भेट भइरहँदा विभिन्न धार्मिक विषयवस्तुमा चर्चा हुने गर्छ । २०८० सालको वर्षान्तको कुनै एक दिन खरेलसा'पले आफू कैलाश जाने इच्छा गरेको सुनाउँदै पंक्तिकारलाई पनि जाने सन्दर्भमा “के छ इच्छा ?” भनेर सोध्नुभयो । यदाकदा सिद्धहस्त योगीको दर्शनका लागि म उहाँसँग जाने गरेको थिएँ । तर, एक्कासि पवित्र तीर्थस्थल कैलाश दर्शनको प्रस्तावले पंक्तिकार अवाक् नहुने कुरै भएन । उहाँले भन्नु भयो, “तिमीसँगै भए मलाई पनि र परिवारजनलाई पनि ढुक्क ।”
भौगोलिक अवस्थाले उच्च स्थानमा अवस्थित कैलाश हिमपर्वतको परिक्रमालाई सामान्यरूपमा लिन यसै पनि मिल्दैन । त्यसमा पनि साढे सात दशक उमेर पार गरिसक्नु भएका उहाँमा देखिएको जोश र कैलाशको दर्शन गर्ने तिथिमिति नै तय गरिसकेको अवस्थामा खरेल सा'पको मनोकांक्षालाई मैले पनि 'उच्च सतर्कता अपनाउनु पर्ला' भन्ने सुझावसहित हौसला प्रदान गर्नै पर्यो । वास्तवमा भन्नु पर्दा कैलाश परिक्रमा गर्न जाने उमेर त्यो थिएन । आध्यात्मिक मन, धार्मिक निष्ठा भएपछि उमेरले छेक्दो रहेनछ । आफूलाई आएको प्रस्ताव उपर 'हुन्छ र हुन्न' भन्न पंक्तिकार अकमकाई रहेको अवस्थामा उमेरले डाँडो काटिसकेका खरेल सा'पमा देखिएको उत्साह, आँटले बरु पंक्तिकारलाई लज्जाबोध तुल्याइरहेको थियो ।
तर, आफ्नै केही कार्य व्यस्तताले तोकिएको समयमा तीर्थ जाने समयलाई वशमा लिने बारे तत्काल निर्णय गर्न नसक्दा मन अलमल भइरहेको थियो । खरेल सा'पले 'जाने इच्छा छ भने भनि हाल, समय धेरै छैन, जनै पूर्णिमाको दिनमा त्यहाँ पुगिसक्ने हो ।' उहाँले त्यति भन्दा नभन्दै पूर्व निर्धारित दिनमा आफू जान नसक्ने बताउन बाध्य भए । कैलाश दर्शनको अवसर सदुपयोग गर्न नसक्ने बताइरहँदा मन खिन्न भइरह्यो । कार्यव्यस्तता यस्तो थियो कि निर्धारित दिनमा जान सक्ने वातावरण मिलाउने खालकै थिएन ।
भोलिपल्ट आफूलाई आएको प्रस्ताव बारे पंक्तिकारले आदरपूर्वक अभिभावक मान्ने शंकर गुरुङलाई खरेल सा'पले राखेको प्रस्ताव बारे सुनाउँदै आफू जान असमर्थ भएकोमा नमज्जा लागेको बताउँदै गर्दा दाई शंकरले भन्नुभयो, 'मन नबिगार अर्को वर्ष सँगै जाउँला ।'
दाई शंकरबाट त्यति सुन्ने बित्तिकै पंक्तिकारको शिथिल शरीरमा उर्जा पुन प्रवाहित हुन थाल्यो । ईश्वरले भन्छन् रे 'तँ आँट म पुराइदिन्छु ।' साँच्चिकै कैलाशको दर्शन सोचमै थिएन । सायद ईश्वरले नै डाक्नु भएर हो कि ? प्रतीक्षाको यो पछिल्लो एक वर्ष मेरो मानसपटलमा कैलाश र मानसरोवरले डेरै जमाएको थियो । खरेल सा'पले उक्साउनु भो, अनि शंकर दाईले त्यो चाहना पूरा गरिदिने वचन दिनु भो । जसोतसो मानसरोवरमा स्नान अनि कैलाशको परिक्रमा गरेर सकुशल फिर्ता भइयो, अच्युत खरेल अनि शंकर गुरुङ दुवै अभिभावकप्रति कृतज्ञ छु ।
कैलाश लैजान तँछाड–मछाड तर, छैन जिम्मेवारी
हुन त सामाजिक सञ्जालमा कैलाश मानसरोवरको दर्शन गराउने प्रलोभनयुक्त विज्ञापन छरपष्ट देखिन्छन् । व्यवसायीक रुपमा गरिएका त्यस्ता विज्ञापनले कैलाशको दर्शन सहज लाग्छ । व्यवसायीबीच दर्शनार्थीलाई प्रभावमा पारेर आफ्नोमा तान्न एक प्रकारको तँछाड–मछाड नै छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा आवश्यक गराउनै पर्ने जानकारी पनि ती व्यवसायीले इच्छुक दर्शनार्थीलाई गराइरहेका हुन्नन् । तोकिएको खर्चको जोहो गर्न सके जो पनि सहजै कैलाश परिक्रमा गरेर आइन्छ भन्ने भ्रम सामाजिक सञ्जालमा देखिएका विज्ञापनले पार्छ । तर, विज्ञापन गरिएजस्तो कैलाश परिक्रमा सहज भने छैन । व्यापार गर्ने नाममा व्यक्तिको संख्या संकलन गर्न गरिएका विज्ञापनले कैलाशको दर्शनका लागि इच्छुक दर्शनार्थीलाई कैलाश परिक्रमा बारे यथार्थ जानकारी नगराइनु नै प्रथमत व्यवसायीक संस्थाहरूको बदमासी मात्रै होइन, ठगी नै जस्तो लाग्छ ।
इच्छुक व्यक्तिलाई विभिन्न स्थानमा घुमाउने, डुलाउने नाममा खुलेका ट्राभल एजेन्सी भनौं वा ट्रेकिङ एजेन्सीले आफ्नो कम्पनीबाट लैजान लागिएको स्थानको भौगोलिक अवस्था र मौसमको अनुकूलताका सन्दर्भमा सामान्य जानकारी दिए पनि मौसम प्रतिकूलताको अवस्थामा अति आवश्यक बन्दोबस्तीका सामाग्री साथमा लैजाने बारे यथेष्ट जानकारी गराइनु पर्ने हो । तर, कैलाश दर्शनार्थीलाई त्यस्तो सन्दर्भमा केही जानकारी गराउने गरिएको पाइन्न । चाहे आफूलाई उच्च व्यवसायीक कम्पनी मान्नेहरू होउन वा सामान्य 'सिजनेवल' कम्पनी नै किन न होऊन् । केही एजेन्सी त त्यस्ता पनि फेला परे जसले आफ्नो सम्पर्कमा पुगेको दर्शनार्थीलाई उबाट असुलेको रकम मध्ये आफ्नो कमिशन काटेर अर्को एजेन्सीको जिम्मा लगाउने ।
तीर्थयात्रीबाट महंगो शुल्क असुल्ने केही एजेन्सीले समान राख्ने ब्याग र फिर्ता गर्ने गरी चिसोमा लगाइने 'डाउन ज्याकेट' उपलब्ध गराउने गरेता पनि हिमपात भएको बेला वा पानी परेको अवस्थाको लागि बन्दोबस्तीका केही पनि सामान उपलब्ध गराउने गरेका हुन्नन् । न त त्यस्तो अवस्था पनि आईपर्न सक्छ भन्ने जानकारी नै दिन्छन् । त्यस्तो अवस्था आईपरेमा चाइनाबाटै आएको समान भए पनि काठमाडौंको बजारमा भन्दा ३ गुणा बढी मूल्यमा स्वयम् दर्शनार्थीले नै खरिद गर्न बाध्य हुनुपर्छ । तीर्थयात्रीको सहयोगका लागि भनेर जाने सहयोगी गाइडको व्यवहार कतिपय अवस्थामा पाच्य हुन सक्दैन । अचानकको हिमपात वा वर्षातका बेलामा पनि केहीबेर कुर्ने वा अलमल गर्ने सुविधा आफ्नै साथमा गएका ती सहयोगीले खोसिदिन्छन्, उनीहरूकै शैलीमा तोकिएकै स्थानमा पुग्नै पर्ने हुकुम तीर्थयात्रीमाथि चलाउँछन् ती सहयोगी भनाउँदाहरु । थाकेर, हिँड्न नसकेर पछि परेको यात्रीलाई हिँड्न हौसला दिनु त परैको कुरा आफू नै अघि लाग्ने गर्छन् । भन्छन्, 'यति गरेन भने हिँड्नै खोज्दैनन् ।'
कैलाश परिक्रमा र भौगोलिक अवस्था
कैलाश मानसरोवर तीर्थयात्राका क्रममा चीनको तिब्बत क्षेत्र प्रवेश गर्ने नेपालका थुप्रै नाका छन् । त्यसमा प्रमुख रसुवाबाट केरुड नाका हुँदै होस् वा बाह्रबिसेको खासा नाकाबाट अथवा मुस्ताङको कोरला नाकाबाटै किन नहोस्, यो नाकाबाट प्रवेश गरेपछि साघा शहर वरपरका राजमार्गमा जोडिन पुगिन्छ भने सिमीकोटको हिल्सा नाकाबाट प्रवेश गर्दा दार्चेन नजिकको हाइवेमा मिसिने रहेछ । त्यसो त विवादित लिम्पियाधुरा अर्थात् लिपु लेकबाट पनि कैलाश मानसरोवर नजिकै पर्दोरहेछ । समुद्र सतहबाट झण्डै ४५६० मिटर उँचाइमा रहेको मानसरोवरमा स्नान अनि पूजामा सरिक भइसकेपछि सुरु हुन्छ, कैलाशका लागि परिक्रमा यात्रा । भौगोलिकताको दृष्टिले ४५६० मिटर उँचाइ आम नेपालीका लागि अनुकूल नै मान्न त सकिन्न, तापनि सवारी साधन चढेरै गइने हुँदा त्यहाँसम्मको यात्रा खासै प्रतिकूल देखिन्न ।
कैलाश यात्राका लागि त्यहाँ पुग्ने व्यक्तिको अक्सिजन लेबल ७५ भन्दा माथि नै हुनु पर्ने हुन्छ । कैलाश यात्राका क्रममा दार्चेन (४६७० मिटर) उँचाइसम्म खासै जानकारी नगराइने भएता पनि अल्टीच्यूट अर्थात् लेक लाग्न सक्ने सम्भावनालाई ख्याल गर्दै साघा शहरमा १–२ दिन विश्राम गराउने गरिँदो रहेछ । खासगरी मानसरोवर पुगेपछि मात्रै स्वास्थ्य समस्याका बारे 'यसो र त्यसो' भनेर त्रास देखाइदिने, आफूसँगै गएका गाइडसँग विवाद गर्ने, दर्शनार्थीको संख्या पनि कम देखिन्न । स्वास्थ्य समस्याका कारण त्यहाँबाट अघि बढ्न नसक्ने अवस्था आईपरे पनि आफूले बुझाएको पैसा फिर्ता हुने होइन । बरु, उल्टै ती गाइडले तपाईंलाई माथि होटल बुक गरेको छ, त्यहाँ बुझाएको पैसा फिर्ता हुन्न अनि यहाँ पनि होटलमा बसेको रुमको पैसा तिर्नु पर्ने हुन्छ भन्दै थप रकम असुल्ने गरेको पनि देखियो ।
कैलाश परिक्रमा अन्तर्गतको तीन दिने पैदल यात्राको क्रम यमद्वारबाट सुरु हुन्छ । दार्चेनबाट यमद्वारसम्म सवारी साधनमा पुगिन्छ । समुद्र सतहबाट यमद्वारको उँचाइ ४८५० मिटर छ । ७–८ घन्टा लगाएर १५ किलोमिटरको पैदलयात्रा तय गरेपछि ५२ सय मिटर उँचाइको दिरापुकमा पुगिन्छ । त्यस दिनको बास त्यही दिरापुकमा हुन्छ । यस बीचमा एउटा मात्रै 'टि–सपु' अर्थात् खाजा खाने स्थान छ । उत्तरी मोहडाबाट कैलाशको भव्य दर्शन गर्न सकिने यो ठाउँसम्म स्वस्थ व्यक्तिले खासै स्वास्थ्य समस्या भोग्नु पर्दैन । यद्यपि, हिँड्न नसक्नेहरु भने घोडा सवारी प्रयोग गर्छन् । यहाँसम्मको घोडा सवारीको झण्डै १५ सय घुर्मी अर्थात् ३० हजार नेपाली रुपैयाँ बुझाउनु पर्छ ।
कैलाशको नजिकबाट दर्शन गर्ने अभिलाषाले दर्शनार्थीहरू यहाँसम्म जसै पुग्न चाहन्छन् । यहाँबाट अघि बढ्न नसक्नेहरु एम्बुलेन्सबाट दार्चेन फिर्ता हुने सायद सशुल्क व्यवस्था छ । यमद्वारबाट अघि बढेका तीर्थालुलाई सबैभन्दा समस्याको विषय शौचको हुन्छ । विश्वभर खुला दिशापिसाव मुक्त अभियान तीब्रताका साथ चलिरहेको अवस्थामा तीर्थालुहरु खुला शौच गर्न बाध्य हुन्छन् । यतिसम्मकी झण्डै २–३ सय यात्रु बास बस्ने क्षमता रहेको होटलमा समेत शौचालयको व्यवस्था छैन । सिंगो चीन सरकार, तिब्बत प्रादेशिक सरकार वा स्थानीय सरकारको समेत किन त्यतातर्फ ध्यान नपुगेको हो वा हिन्दु धर्मावलम्बीप्रति गरिएको उपेक्षा हो ? बुझ्न सकिएन ।
कैलाश परिक्रमाका क्रममा सबैभन्दा कठिन र जटिल दोस्रो दिनको पदयात्रालाई मानिन्छ । दिरापुकबाट सुरु हुने परिक्रमा पैदल यात्रा जुथुलपुक पुगेर रोकिन्छ । ५२ सय मिटर उँचाइबाट सुरु हुने दोस्रो दिनको परिक्रमा यात्रा झण्डै ५६ सय ५० मिटर उचाइँको डोल्माला पास हुँदै ११–१२ घन्टा लगाएर १८ किलोमिटरको उकाली ओराली यात्रा ४७ सय ६० मिटरको जुथुलपुकमा पुगेर स्थगित हुन्छ । यसबीचमा पनि १ ठाउँमा मात्रै 'टि–सप' अर्थात खाजा खाने ठाउँ भेटिन्छ । यस दिनको पदयात्रालाई 'डेन्जर जोन'का रुपमा राखिएता पनि उद्धार एवं आरामस्थलको अभाव देखिन्छ । घोडा सवारीले दिरापुकबाट डोल्मालासम्मको उकालो चढाएको यहाँ पनि २ हजार घुर्मी अर्थात् ४० हजार नेपाली रुपैयाँ असुल्दा रहेछन् ।
आफ्नै शरीर भारी लाग्ने यो यात्राका क्रममा साथमा लगेको ५–७ केजीको झोला पनि आफूलाई घाँडो लाग्ने, भरियालाई बोकाउँदा त्यही सानो झोलाको पनि ५–७ सय घुर्मी दश–बाह्र हजारको 'डिमाण्ड' गर्ने अवस्था रहेछ । पहिलो दिन र दोस्रो दिनको पैदल परिक्रमाका दिन आफूलाई लैजाने एजेन्सीले दिएको 'लन्च प्याकेट' सम्झँदा पनि 'कठ्ठै' भनेजस्तो लाग्छ । 'ब्रेकफास्ट र डिनर' पनि उस्तै । झन् हिँड्न शक्ति चाहिने बेलामा टिठ लाग्दो खान्की ! खानाको सन्दर्भमा एजेन्सीले साथ लगाएर पठाएका गाइडसँग कुरा गर्दा उनीहरुले होटल–रेस्टुरेन्टले नेपाली स्वादको खाना नदिने आफूहरूले खाना तयार गर्ने भाँडाकुँडा बोकेर ल्याउन नसक्ने जवाफ दिन्छन् । हिमाल आरोहण गरेकै आभाष दिलाउने दिरापुकबाट जुथुलपुक जाने पैदल मार्ग कस्तो होला ? त्यसमा पनि हिउँ परेको बेला, बाटो नदेख्दाको अवस्थामा त्यो यात्रा कसरी तय गरिएको होला ? अहिले सम्झँदा पनि आड सिरीङ हुन्छ ।
पंक्तिकार लगायतको टोली दिरापुकबाट जुथुलपुक यात्रा सुरु गर्नु अघि नै हिउँ परिरहेको अवस्था । 'यस्तोमा कसरी जान सकिन्छ ?' भन्ने जिज्ञासामा गाइडको भनाई गैरजिम्मेवार लाग्छ । 'जसरी भए पनि जानै पर्छ । यहाँ हाम्रो लागि आज बस्ने व्यवस्था हुन सक्दैन । उता, जुथुलपुकमा पनि रुमको पैसा बुझाइसकेको हुन्छ ।' त्यहाँनेर गाइडको भनाई सुन्दा पैसाकै लागि ज्यान जोखिममा राख भनेजस्तो लाग्छ । दिरापुकबाट बिहान झिसमिसेमा उकालो चढ्दै गर्दा डोल्माला पास आउला छैन, आउला छैन । उकालोमा कमिलाको ताँतीजस्तै एकपछि अर्को पाइला यात्राको क्रम जारी । हिउँले जताततै सेताम्मै । के को बाटो देख्नु ? कहीँकतै त अनुमान लगाएर अगाडि चालेको पाइला हिउँमै भासिने । त्यो बेला कैलाश परिक्रमा गर्दैछौं भन्ने भुलेर हिमाल आरोहण पो गरिरहेछौँ जस्तो भान पर्थ्यो ।
परिक्रमा यात्रा गरिरहेका कोही यात्रुको रूवावासी, कोही चिप्लिएर उत्तानो परेका छन्, कोही लतारिएर, धसारिएर हिउँसँगै हिलाम्मे भएका छन् । कोही घाइते । कोही अघि बढ्न नसकेर आकुल–व्याकुल अवस्थामा । हिमपातकै अवस्थामा पनि कसैले साथमा लगेको अक्सिजन लिइरहेको अवस्था । मुश्किलले चढेको उकालो पछि ओरालो झर्दा झनै मोल्नु पर्यो खतरा । दिरापुक र डोल्मालाको बीचमा रहेको एउटा 'टि–सप'मा सामान्य वर्षादीको मूल्य २ सय घुर्मी रे । जबकी त्यसको नेपालमा २ सय रुपैया पनि पर्दैन । त्यहाँका व्यापारी पनि मौकाकै फाइदा उठाउने खालका । जुथुलपुकमा पनि देख्नेमा आकर्षक विश्राम गृह अर्थात् होटल । तर, त्यहाँ पनि खुला शौचालय अर्थात् छैन शौचालय । जसोतसो रात काटेर भोलिपल्ट झिसमिसेमै दार्चेनतर्फको यात्रा । झण्डै साढे दुई घण्टाको यात्रापछि दार्चेनमा खाना खाएर सवारी साधनमा फिर्ताको क्रम निरन्तर ।
र, अन्त्यमा हिन्दूलगायत धर्मावलम्बीले महान् एवं पवित्र ठान्ने तीर्थस्थलमा पुगेर पनि आफ्नो घरपरिवार, नातागोता, साथीभाई, शुभेच्छुकलाई तीर्थस्थलको सम्झना स्वरूप उपहार वा चिनोका रुपमा किन्ने समान नपाउनु, त्यत्रो तीर्थस्थलमा शिवालय, मठमन्दिर कहीँ कतै नहुनु, दैनिक हजारौं धार्मिक पर्यटकले पदयात्रा गर्ने पवित्र तीर्थस्थलप्रति चीन सरकारले उपेक्षा गरेजस्तो लाग्नुले पनि मन केही खल्लो बनिरह्यो ।
मधु लम्साल
लेखक लम्साल वरिष्ठ पत्रकार हुन् । लामो समय खोजतलास साप्ताहिक र सन्ध्याकालीन दैनिक पत्रिका प्रकाशन गरेका लम्साल खोज पत्रकारितामा विशेष रुची राख्छन् । सुरक्षा अपराध, अनियमितता, भ्रष्टाचार र विकृति विसंगति विरुद्ध तिखो कलम चलाउने उनको विशेषता हो ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार