दरबारमार्ग कन्सर्ट प्रकरण: डीआईजी कार्कीलाई प्रधानमन्त्रीले थर्काएपछि आईजीपी कुँवर भए असिनपसिन
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १७:३५:१२
३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना हुने 'नेशनल डे कन्सर्ट'मा सहभागी हुने विषयले नेपाल प्रहरीभित्र निकै ठूलो खैलाबैला मच्चिएको छ । साे कन्सर्टमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सहभागी हुने विषयमा प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले मिडियामा गलत सूचना दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले थर्काएका छन् । यस विषयले प्रहरी प्रमुख आईजीपी कुँवरलाई असिनपसिन बनाएको छ । उनी कन्सर्टको सुरक्षाले भन्दा प्रवक्ता कार्कीका कारण बिहीबार बढी तनावमा परेका छन् ।
प्रसंग हो, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली दरबारमार्गमा हुने नेशनल डे कन्सर्टमा सहभागी हुने विषय । प्रधानमन्त्री ओलीले दरबारमार्ग क्षेत्रमा कन्सर्ट गर्ने तयारी भएदेखि नै सो कन्सर्टमा सहभागी हुने जनाउँदै आएका थिए । तर, बजारमा एक्कासि एउटा खबर आयो, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूबाट 'सुरक्षा थ्रेट’ भएकाले प्रधानमन्त्री ओलीले कन्सर्टमा सहभागी नहुने ।
बुधबार केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली सुरक्षाका कारण सहभागी नहुने भन्ने खबर आएपछि कन्सर्टमा जाने तयारी गरिरहेका प्रधानमन्त्री ओलीले समाचारको सूचना कसले दियो भन्दै खोजी गर्न थाले । त्यो सूचना नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले दिएको भन्ने पत्ता लाग्यो । नागरिक स्तरबाट असोज ३ गते नारायणहिटी दरबार अगाडि हुन लागेको कन्सर्टमा 'सुरक्षा थ्रेट' महसुस गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई त्यहाँ नजान सुरक्षा निकायले सुझाव दिएका कारण प्रधानमन्त्री नजाने उनले बताएका थिए । यसपछि कार्यक्रममा प्रधानमन्त्री सहभागी नहुने भन्ने कुरा समाचारमा उल्लेख भयो ।
नेपाल प्रहरीका प्रवक्ता कार्कीले संविधान दिवसको दिन प्रधानमन्त्री बिहानको औपचारिक कार्यक्रममा मात्रै सहभागी हुने तर, कन्सर्टमा नहुने भन्ने जानकारी दिएको बुझेपछि प्रधानमन्त्री ओली कार्कीप्रति जँगिए । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार ओलीकाे सचिवालयलाई पनि जानकारी नभएकाे कुरा त्यो डीआईजीले कसरी थाहा पायो, को हो त्यो डीआईजी भन्दै कार्कीलाई थर्काएका थिए । ‘प्रधानमन्त्री कुन कार्यक्रममा जान्छ, कुन कार्यक्रममा जाँदैन भनेर निर्देशन गर्ने र नभएको सूचना बाहिर पठाउने त्यो डीआईजी को हो’ भनेर प्रधानमन्त्री ओलीले खोजी गर्न थालेपछि त्यसको केही बेरमै प्रहरी मुख्यालयमा हलचल मच्चिएको थियो ।
प्रधानमन्त्रीको सचिवालयमा डीआईजी कार्कीका विषयलाई लिएर प्रधानमन्त्री तात्नु भो, डीआईजी कार्की र प्रहरी प्रमुखमाथि नै एक्सन लिने कुरा भएको छ भनेर खबर गएपछि महानिरीक्षक कुँवर 'इन्तु न चिन्तु' हुँदै वल्लो कोठा र पल्लो कोठा गर्न थालेकाे प्रहरी मुख्यालय स्राेतकाे भनाइ छ । समाचार स्रोतका अनुसार त्यसपछि आईजीपी कुँवर कहिले गृहमन्त्रालय र कहिले प्रहरीको मुख्यालय गर्दै परिस्थिति साम्य बनाउन कुदिरहेका छन् । प्रहरीका एक अधिकारी भन्छन्, ‘आईजीपी कुँवरलाई यही विषयले असिनपसिन बनाएको छ ।’ उनी असिनपसिन भएर भौतारिनुको कारण कन्सर्टको सुरक्षा भन्दा पनि उनकै प्रवक्ता डीआईजी कार्की हुन् ।
प्रधानमन्त्री स्वयंले पनि कन्सर्टमा म पनि आउँछु तपाईहरु पनि आउनु होला भन्दै आफ्नो फेसवुक र एक्स पेजमा राखिरहेका छन् । बिहीबार पनि उनको कन्सर्टमा सहभागी हुने भिडियो नै आएको छ । प्रधानमन्त्रीका प्रेस संयाेजक रामशरण बजगाईँले पनि प्रधानमन्त्री कन्सर्टमा सहभागी नहुने भनेर नियोजित समाचार छापिएको बताए । नेपालबहससँग कुरा गर्दै उनले सुरक्षाका कारण प्रधानमन्त्री सहभागी नहुने भनेर गलत म्यासेज दिन खोजिएको बताए । उनले प्रहरी प्रवक्ताले भनेकाे कोड असान्दर्भिक भएको बताए ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार राजधानी कै मुख्य चोकमा हुने सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भयो भन्दै नजाने वा प्रहरीले सुरक्षा दिन सक्दैन भने देशका आम नागरिक कहाँ सुरक्षित होलान् ? आईजीपीको सचिवालयमा कार्यरत भए भन्दैमा एउटा डीआईजीले आफैं आईजीपी भए जसरी सञ्चारमाध्यममा बोल्ने र प्रधानमन्त्रीलाई कहाँ जाने वा नजाने भन्ने तोक्न मिल्छ ? भन्दै जंगिए । स्मरणीय के छ भने डीआईजी कार्की डीएसपीका रुपमा सप्तरीमा कार्यरत रहँदा तत्कालीन प्रधानमन्त्री ओली कै सुरक्षा कायम राख्न नसकेको आरोपमा कारबाही स्वरूप हेडक्वार्टर तानिएका थिए ।
डीआईजी कार्की रास्वपाका नेता रवि लामिछानेका प्रिय पात्र प्रहरी अधिकृत हुन । लामिछाने गृहमन्त्री रहेकै बेला कार्की आफू भन्दा तीन ब्याच अघिका प्रहरी अधिकृतहरूलाई पछि पार्दै डीआईजी बढुवामा एक नम्बरमा छलाङ मार्न सफल भएका थिए भने रविकै अघिल्लो कार्यकालमा काठमाडौं प्रहरी परिसरको प्रमुख पद हत्याउन पनि सफल भएका थिए ।
बजगाईँले भने, ‘प्रधानमन्त्रीलाई अडर गरे जसरी जानुहुन्न भन्ने को हो दानबहादुर कार्की ? उसलाई प्रधानमन्त्रीका कार्यक्रमबारे बोल्ने अधिकार कसले दियो । उसले सुरक्षा कसरी मिलाउने भन्ने हो । सुरक्षाका कारण प्रधानमन्त्री आउँदैन, आउन मिल्दैन भनेर बोल्ने अधिकार छैन । प्रधानमन्त्रीको सचिवालयले दानबहादुर कार्की चिन्दैन । मैले तपाईको अनलाइन भोलि बन्द हुँदैछ भनेर तपाईसँग नबुझि बोल्न मिल्दैन । प्रधानमन्त्री कन्सर्टमा जानुहुन्छ, तपाई पनि आउनुस् ।’
प्रहरी महानिरीक्षक कुँवर र डीआईजी कार्कीमाथि प्रधानमन्त्रीले कस्तो एक्सन लिन्छन् भन्ने कुरा भोलि मात्र थाहा हुनेछ । आज कन्सर्ट भएकाले प्रधानमन्त्रीले अरु थप केही भनेका छैनन् । कन्सर्ट सकिएपछि गृहमन्त्रीलाई राखेर प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिने बताइएको छ । मुख्य गरी प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रम बारेकाे सुरक्षा थ्रेटका विषयमा निर्णय गर्ने काम भनेको केन्द्रीय सुरक्षा समितिको हो । यसमा चारवटै सुरक्षा निकायका अधिकारी र गृह मन्त्रालयका अधिकारीहरू बसेर गर्ने चलन छन । सुरक्षाबारे जवाफ दिन परे नेपाल प्रहरीमै पनि आईजीपीकाे प्रत्यक्ष मातहतमा परिचालन हुने विशेष ब्यूरो रहेको छ । उसले सुरक्षा अवस्थाबारे विश्लेषण गर्छ ।
बजागाईँका अनुसार आज प्रधानमन्त्री ओली साँझ साढे ६ बजे दरबारमार्ग पुग्नेछन् । कन्सर्ट दरबारमार्गस्थित नारायणहिटी संग्राहालय अगाडिको सडकमा हुनेछ । त्यसका लागि मञ्च लगायतको तयारी बुधबारदेखि नै गरिएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कन्सर्टकै लागि भनेर केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
आजको ‘नेशनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् । कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि पाँच हजार सुरक्षाकर्मी परिचालन गर्नका लागि व्यवस्थापन मिलाएका छौँ । कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे कारबाही हुनेछ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार