गोरखा मिडियाको कारोबारमा ऋणको प्रक्रिया र शेयर हस्तान्तरणको कागजात नै फर्जी
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १६:४१:४२
४ असोज, काठमाडौं । सहकारी छानबिन विशेष समितिले सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा रकम प्रवाह भएको जनाएको छ । समितिको प्रतिवेदन अनुसार सहकारी मात्र होइन कम्पनीकै कागजातहरू पनि कृतिम तरिकाले तयार गर्ने गरेको उल्लेख छ । समितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा रवि लामिछानेले राजस्व समेत छली गरेको निष्कर्ष निकालेको छ ।
शेयर हस्तान्तरणबारे समितिको प्रतिवेदनको अंश यस्तो छ:
सहकारी कानूनअनुसार सहकारी संस्थाले कारोबार, व्यवसाय र उद्योग वा परियोजना सञ्चालन गर्न चाहेमा संस्थाको उद्देश्य र कार्यक्षेत्रसँग सम्बन्धित रही छुट्टै संस्था दर्ता नगरी कानून बमोजिम इजाजतपत्र वा अनुमितपत्र लिनु पर्ने भएमा सो समेत लिई रजिष्ट्रारलाई जानकारी गराई सहकारी नाममा ब्राण्डिङ्ग गर्ने गरी त्यस्तो कारोबार, व्यवसाय र उद्योग वा परियोजना सञ्चालन गर्न सक्ने गरी प्रबन्ध गरेबाहेक कुनै कम्पनी वा निजी फर्ममा लगानी गर्न वा सापटी दिने कुराको परिकल्पना छैन । तर पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. मा नियमितजसो रकम प्रवाह भइरह्यो तर कानून विपरीतको त्यो कार्य कसैले थाहा पाएनन् ।
अरू त बेखबर रहे, रहे। गोरखा मिडिया नेटवर्क प्रा. लि. कै सञ्चालकहरूले सोधपुछको क्रममा आफूहरूलाई समेत उक्त रकम सहकारीबाट प्रवाह भएको कुरा आफूहरूलाई थाहा नभएको बताए। कम्पनीको शेयर स्वामित्व सहितका सञ्चालकहरूले कम्पनीमा आएको रकमका सम्बन्धमा के दायित्व रहन्छ भन्ने सम्बन्धमा प्रचलित कानूनी व्यवस्थाकै आधारमा व्याख्या होला । सोधपुछका क्रममा सञ्चालक मध्ये पैतिस प्रतिशत स्वामित्व रहेका छबिलाल जोशीले आफू गोरखा मिडिया नेटवर्क प्रा. लि को दैनिक कार्य सञ्चालनमा नरहेकाले आर्थिक मामलामा जानकारी नरहेको बताउनु भयो ।
त्यसैगरी, पन्ध्र प्रतिशत शेयर स्वामित्व रहेको रबी लामिछानेले कम्पनीमा आएको सम्पूर्ण रकमको जिम्मेवारी कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले लिएको र उक्त जिम्मेवारी कम्पनीको लेखापरीक्षण प्रतिवेदन र व्यवस्थापन पत्रमा जी वी राईले गरेको प्रमाणीकरणले पनि पुष्टि हुने कुरा सोधपुछमा समितिलाई बताउनु भएको थियो । समितिले सहकारी र कम्पनीका लेखापरीक्षकहरूसँग गरेको थप छलफलले पनि तत्कालीन अवस्थामा गोर्खा मिडियामा प्रवाह भएको रकम उक्त कम्पनीको बैङ्क स्टेटमेण्ट मार्फत प्रत्यक्ष सहकारीबाट आएको नदेखिने र अध्यक्ष राईले सबै रकम आफ्नो जिम्मेवारीमा रहेको लिखित प्रतिवद्धता व्यक्त गरिसकेपछि सोहीअनुसार लेखापरीक्षण प्रतिवेदन तयार पारिएको जानकारी गराउनु भयो ।
गोरखा मिडिया नेटवर्क प्रा. लि. कै तत्कालीन सञ्चालकद्वय छबिलाल जोशी र रबी लामिछानेले उक्त कम्पनीको शेयर किने र बेचेवापतको पूरा रकम समेत बैङ्कमा दाखिला गरेको देखिँदैन । समिति समक्षको सोधपुछको क्रममा रवि लामिछाने जीले आफूले “क्धभबत भ्त्रगष्तथ“ का रूपमा पन्ध्र प्रतिशत शेयर लिएको र उक्त कुरा पहिले पनि सार्वजनिक गरिसकेको बताउनु भयो । साथै कम्पनीको स्वामित्व हस्तातरणको व्यवस्थापन गर्ने जिम्मा पनि कार्यकारी अध्यक्षलाई नै दिएको समेत बताउनु भएको थियो । निजहरूकै जवाफलाई आधार मान्ने हो भने रकम जम्मा गरेको भौचर पेश गरी बैकिङ्ग कारोबार गरेको देखाई पछि रकम नलिई ÷ नदिई शेयर किनबेच भएको भन्ने देखिन्छ । यसबाट सहकारीमात्र होइन कम्पनीकै कागजातहरू कसरी तयार गरिन्थे÷गरिन्छन् भन्ने एउटा चित्र छर्लङ्ग हुन आउँछ । बैङ्कले छाप लगाएको भौचर हुने तर रकम नजाने कसरी हुन्छ ?
सहकारीहरू सूर्यदर्शन, पोखरा, सुप्रिम, बुटवल, स्वर्णलक्ष्मी, काठमाडौं, सहारा चितवन, चितवन र सानोपाइला, वीरगञ्ज सेमतबाट गोरखा मिडिया नेटवर्क प्रा. लि. मा प्रवाह भएको रकम प्रवाह भएको तथ्य स्पष्ट छ । ऋणको कुनै पनि प्रक्रिया पूरा नगरी, कुनै ऋणमागको फारम वा धितो नराखी सहकारीहरूबाट ठूलो रकम प्रवाह भएको छ । तर कम्पनीका दुवैजना सञ्चालक मात्र होइन, सहकारीकै सञ्चालक समितिका अध्यक्ष लगायत अन्य सञ्चालकहरूले पनि यती ठूलो रकम सहकारीबाट कम्पनी मा प्रवाह भएको आफूलाई जानकारी नभएको कुरा यस समितिलाई बताउनु भयो कम्पनी र सहकारी कानूनले परिकल्पना गरेको सुशासन यहीं हो त ? प्रश्न अहं छ । यसले सहकारी क्षेत्रमात्र हैन हाम्रो समग्र बैंकिङ प्रणाली भित्रको पारदर्सीता नै प्रश्नको घेरामा परेको देखिन्छ ।
गोर्खा मिडियाबारे समितिको निष्कर्ष
सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बाट जम्मा रू. ६५,५४,०४,५३८ रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा प्रवाह भएको देखिन्छ । २०० जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कको बैङ्क जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाखा ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाको हरूको नामबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.को बैङ्क खातामा जम्मा भएको देखिन्छ । कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो । जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानूनसम्मत देखिएनन्। सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानूनतः गरेको देखिँदैन । कानूनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानूनको अनभिज्ञता क्षम्य हुँदैन । तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सिधा रकम प्रवाह हुनु गैरकानूनी हो ।
गोरखा मिडिया नेटवर्क प्रा. लि. मा रकम पठाउने सहकारी संस्थाका मुख्य जिम्मेवार एवं पाउने संस्था गोरखा मिडिया नेटवर्क प्रा. लि. का अध्यक्ष समेत रहेका गितेन्द्रबाबु राईलाई समितिले बुझ्ने र सुन्ने कोशिस गरेको भएता पनि पूरा हुन पाएन। सहकारी संस्थाबाट प्रवाह भएबमोजिम नै गोरखा मिडिया नेटवर्क प्रा. लि. को खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको देखिँदैन ।
लेखापरीक्षण प्रतिवेदनले उक्त रकमहरूलाई गितेन्द्रबाबु राईले छोटो अवधिको लागि दिएको निर्व्याजी सापटीका रूपमा उल्लेख गरेको छ । यद्यपि गोरखा मिडिया नेटवर्क प्रा. लि. मा रहेको गितेन्द्रबाबुर राईको ऋण खातामा नियमित रकम आउने जाने भैरहेको तथ्यबाट देखिन्छ ।
गोरखा मिडिया नेटवर्क प्रा. लि. का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले सोधपुछका क्रममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गर्नुभएको देखिन्छ । अर्का तत्कालीन सञ्चालक छबिलाल जोशीले रकम आएको सम्बन्धमा गितेन्द्रबाबु राई वा रवी लामिछानेलाई थाहा हुने उल्लेख गर्नुभएको छ । तर उक्त समयका प्रा.लि.को आन्तरिक प्रशासन सञ्चालनमा आफ्नो भूमिका र जिम्मेवारी रहेको कुरा रवी लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका खाता सञ्चालन समेतका कामहरूको विवरण समेतबाट देखिन्छ । सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवी लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।
गोरखा मिडिया नेटवर्क प्रा. लि. को ग्लोबल आइएमई बैङ्कमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवी लामिछाने र छबिलाल जोशीको हस्ताक्षर रहेको र तिनमध्ये एकजनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तिनै जनाले गोरखा मिडिया नेटवर्क प्रा. लि. को आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो । बैङ्कमा खाता खोल्दाका बखत पेश गरिएको ग्राहक पहिचान फाराम (प्थ्ऋ) मा उल्लिखित विवरण र दस्तखत नमूना कार्डमा भएको अस्ताक्षर र सोसँगै रहेको संस्थागत खाता खोल्ने फारामको दोस्रो पानामा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने वेहोरा रहेको देखिन्छ ।
समितिमा प्राप्त चेकहरूमा रवी लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्। हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रबी लामिछानेको नामबाट लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित भ्त्रगष्तथ क्जबचभ ऋबउष्तब िशीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने बेहोरा लेखाएता पनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेश गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरूले कम्पनीको जिम्मेवार भूमिका निर्वाह गर्नु भएको देखिन्छ । कम्पनी चलाउने रकम के कहाँबाट आउछ ? कसरी आउछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमती वा फरक मत दर्ज गराएको अवस्था समेत रहे÷भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवी लामिछाने र छबिलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नु पर्ने देखिन्छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवैजनाले शेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र शेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ । यद्यपि उहाँहरूको समितिसमक्षको जवाफमा आफूहरूले पैसा नलिए नदिएको भनी खुलाउनु भएको छ ।
शेयर खरिद बिक्री गर्दाका बखत कार्यालयमा पेश गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन । कार्यालयको प्रमाणित अभिलेख अनुसार निजहरू दुवै जना शेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउछ । सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमतः वेट शेयरसम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा वेट शेयर लिने दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन । समितिसमक्ष सोधपुछका क्रममा निज लामिछानेले शेयर सम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन ।
अर्कोतर्फ करार सम्बन्धी प्रचलित कानूनअनुसार कानूनतः पालना गराउन नसकिने गरी भएको करार बदरभागी हुने अवस्था समेतका आधारमा गोरखा मिडिया नेटवर्क प्रा. लि. मा भएका तत्समयका कारोबार र दायित्वका विषयबाट अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक सदस्य छबिलाल जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनु पर्ने अवस्था देखिन आयो ।
निजहरू रवी लामिछाने र छबिलाल जोशीले सोधपुछका क्रममा खुलाउनुभएको भौचर पेश गरिएको थियो तर रकम जम्मा भएको थिएन भन्ने वेहोराबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा गलत विवरण दिएको भन्ने देखिन्छ । तत्सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयकै ३ क्षेत्राधिकार हुने हुँदा यहाँ बोलिरहनु परेन । यद्यपि रकम दाखिला नगरी भौचरको प्रमाणीकरण सम्बन्धित बैङ्कबाट कसरी भयो र कम्पनी रजिष्ट्रारको कार्यालयले शेयरवापतको रकम लिनादिना भएको भन्ने कुरा के–कसरी यकिन गरेको हो भन्ने कुरा समेत देखिँदैन ।
गोरखा मिडिया नेटवर्क प्रा. लि. मात्र होइन, स्वर्णलक्ष्मी, सूर्यदर्शन, सुप्रिम, समानता, सानो पाइला समेतका सहकारीहरूबाट गितेन्द्रबाबु राई र कुमार रम्तेलको स्वमित्वमा रहेका अन्य कम्पनीहरूमा, सुमेरु बचत तथा ऋण सहकारीबाट सुमेरू अस्पताल लगायत कम्पनीहरूमा, श्री लालीगुराँस सहकारीबाट भैरबकुण्ड जलविद्युत आयोजनामा, शिवशिखर सहकारीबाट केदारनाथ शर्माका कम्पनीहरूमा कर्जा प्रवाह भएको निकै लामो सूची छ । ती सबै कर्जा गैरकानूनी र बेरीतका छन् ।
कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रा. लि. का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छबिलाल जोशीको भनाई समेतबाट देखिन्छ । त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासन विपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरवापत सरकारले प्राप्त गर्ने राजश्वमा समेत छली भएको देखिन आयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
नेपाल प्रिमियर लिगः ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार