दरबारमार्ग कन्सर्ट प्रकरण सम्बन्धी समाचारमा प्रहरी प्रवक्ता कार्कीको असहमति, के थियो समाचारमा ?
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १७:५२:५
७ असोज, काठमाडौं । नेपालबहस डटकममा असोज ३ गते प्रकाशित भएको ‘दरबारमार्ग कन्सर्ट प्रकरण: डीआईजी कार्कीलाई प्रधानमन्त्रीले थर्काएपछि आईजीपी कुँवर भए असिनपसिन’ शीर्षक समाचारमा समेटिएका विषय वस्तुप्रति नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले असहमति जनाएका छन् । उनले प्रकाशित समाचारमा भनिएका विषयहरू असान्दर्भिक र असत्य भएको दावी गरेका छन् ।
नेपालबहस डटकममा प्रकाशित समाचार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ को तयारी भइरहेको समयमै प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने भन्ने कुरा स्वयं प्रधानमन्त्री ओली र उनको सचिवालयले पनि भनिरहेको तर, कन्सर्ट हुने अघिल्लो दिन प्रहरी प्रवक्ता डीआईजी कार्कीको भनाई ‘कोड’ गरेर सुरक्षा अवस्थाका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी नहुने भनि आएको समाचारपछि विकसित घटनाक्रममा आधारित थियो । डीआईजी कार्कीले समाचारमा उठाइएका विषय वस्तुप्रति असहमति जनाएर खण्डनका लागि आग्रह गरेका छन् ।
यस्तो छ कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयको खाममा ‘खामबन्दी’ गरि दुई जना प्रहरी पठाएर पठाएको खण्डन पत्र । उनले खण्डन पत्रमा मिति भने उल्लेख गरेका छैनन् ।
विषयः खण्डन/ भनाइ सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा तपाई सम्पादक रहेको नेपालबहस पत्रिका, टेलिभिजन, रेडियो, अनलाइन सञ्चारमाध्यमबाट मिति २०८१ असोज ३ गते ‘दरबारमार्ग कन्सर्ट प्रकरणः डीआइजी कार्कीलाई प्रधानमन्त्रीले थर्काएपछि आईजीपी कुँवर भए असिनपसिन’ शीर्षकमा प्रकाशित सामाग्री उपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहाय अनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनु हुन अनुरोध गर्दछु ।
देहायः
(१) प्रकाशित, प्रसारित सामग्रीमा ‘सम्माननीय प्रधानमन्त्री सुरक्षाका कारण कन्सर्टमा सहभागी नहुने भन्ने सूचना नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले दिएको पत्ता लाग्यो’ भनि उल्लेख भएको रहेछ । उक्त विषयमा पुरै यथार्थ फरक परेको छ । यथार्थमा सम्माननीय प्रधानमन्त्रीज्युको कार्यक्रम तालिका नेपाल प्रहरी प्रधान कार्यालयबाट तय नहुने र कार्यक्रममा उपस्थित हुने नहुने सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयबाट मात्र जानकारी हुने विषय भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्युको कार्यक्रम तालिका जस्तो संवेदनशील विषयमा नेपाल प्रहरीको मिडिया नीतिभन्दा बाहिर गएर आफूलाई थाहा नभएको विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ताबाट कुनै सूचना सम्प्रेषण तथा अभिव्यक्ति जारी नहुने हुँदा भ्रम सिर्जना हुने गरी सम्प्रेषित समाचार खण्डन भागी रहेको छ ।
(२) प्रकाशित सामाग्रीमा ‘डीआइजी कार्कीका विषयलाई लिएर प्रधानमन्त्री तात्नु भो, डीआईजी कार्की र प्रहरी प्रमुखमाथि नै एक्सन लिने भन्ने कुरा भएको छ ।’ भनेर खबर गएपछि महानिरीक्षक कुँवर ‘इन्तु न चिन्तु’ हुँदै वल्लो कोठा र पल्लो कोठा गर्न थालेको भनि जथाभावी उल्लेख भएको रहेछ । यथार्थमा सम्माननीय प्रधानमन्त्रीज्युको कार्यक्रम तालिकाको सम्बन्धमा नेपाल प्रहरी तथा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ताबाट कुनै सूचना सम्प्रेषण हुँदै नभएको विषयलाई सम्माननीय प्रधानमन्त्रीज्युसँग जोडेर नेपाल प्रहरी संगठन र संगठन प्रमुखको समेत साखमा प्रहार गरिनु समग्र सुरक्षा व्यवस्थामाथिको प्रहारको रुपमा रहेको छ ।
(३) प्रकाशित, प्रसारित सामाग्रीमा ‘राजधानीकै मुख्य चोकमा हुने सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भयो’ तथा ‘प्रहरी महानिरीक्षक कुँवर र डीआईजी कार्कीमाथि प्रधानमन्त्रीले कस्तो एक्सन लिन्छन् भन्ने कुरा भोलि मात्र थाहा हुनेछ’ भनि उल्लेख भएको रहेछ । उक्त विषय यथार्थभन्दा पूर्णत फरक, कपोलकल्पित र स्वरैकल्पनाको रहेको प्रष्ट छ । यथार्थमा सम्माननीय प्रधानमन्त्रीज्युको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको सुरक्षा व्यवस्था त्रुटिरहित तवरबाट प्रहरी महानिरीक्षकको प्रत्यक्ष नियन्त्रण तथा निगरानीमा सम्पन्न भएको र यसका लागि नेपाल प्रहरीका तर्फबाट कार्यक्रमको सुरक्षाको लागि सम्पूर्ण व्यवस्था मिलाएको हुँदा सुरक्षा व्यवस्थाका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ताबाट यस्ता सूचना सम्प्रेषण हुने विषय होइन । साथै, सम्माननीय प्रधानमन्त्रीज्युको कार्यक्रमका सम्बन्धमा कुनै पनि अभिव्यक्ति नदिएको विषयमा आम जनमानसमा भ्रामक, झुट्टा र तथ्यहीन समाचार प्रकाशित गरी नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारलाई कुण्ठित गर्नुका साथै नेपाल प्रहरी संगठन तथा यसमा आबद्ध अनुशासित सकल दर्जाका प्रहरी कर्मचारीहरूको निष्ठामा समेत आघात पुग्नुका साथै संगठनको मनोबल गिराउने गरी व्यावसायिक मानमर्दन र संगठनको गरिमामा समेत प्रहार गर्ने कुत्सित काम भएको छ । विषय वस्तुको वास्तविकता बुझ्न नेपाल प्रहरीसँग एकपटक पनि नसोधी, नबुझी आफूखुसी तयार गरिएका यस्ता कपोलकल्पित र भ्रमपूर्ण समाचारले समाजमा भ्रम सिर्जना मात्र गर्ने नभइ शान्ति सुव्यवस्था कायम गर्नुपर्ने राज्यको दायित्व बोकेका सकल दर्जाका प्रहरी कर्मचारीहरूमा समेत नकारात्मक असर पर्नुका साथै राज्यको चौथो अंगको रुपमा रहेको प्रेस तथा मिडियामाथिको विश्वसनियतामा समेत आँच आउने गम्भीर विषयको रुपमा रहेको छ ।
हाम्राे भनाइ/जवाफः
प्रहरी प्रवक्ता डीआईजी कार्कीको भनाइ एकको सन्दर्भमा:
प्रवक्ता कार्कीले प्रधानमन्त्रीको कार्यतालिकामा नेपाल प्रहरीको कुनै हात रहँदैन । प्रधानमन्त्री कुन कार्यक्रममा जाने हो वा होइन भन्ने कुरा प्रधानमन्त्रीको सचिवालयले तय गर्ने कुरो हो भनेका छन् । यसमा हाम्रो भनाइ पनि त्यही हो र समाचारमा पनि यसै विषयलाई उठाइएको हो । प्रधानमन्त्री ओली दरबारमार्ग कन्सर्टमा जाने कुरा पहिले नै तय भएको थियो । स्वयं प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमा ‘म कन्सर्टमा जान्छु, तपाईहरु पनि आउनु भनेकाे तथ्य जाहेरै छ । त्यसमा प्रधानमन्त्रीको सचिवालयले पनि जाने कुरा नै सञ्चार माध्यमलाई जानकारी गराई रहेकै हो र हामीले सचिवालयका अधिकारीलाई ‘कोड’ गरेर नै समाचार तयार पारेको हौँ ।
सन्दर्भ पनि डीआईजी कार्कीले भने जस्तै हो । प्रधानमन्त्री कुन कार्यक्रममा जाने वा नजाने भन्ने कुरा किन प्रहरीका प्रवक्ताबाट आयो । प्रधानमन्त्री जान्छु भनिरहेको कार्यक्रममा किन प्रहरीका प्रवक्ताले उहाँ जानुहुन्न भने । यो प्रहरीले हैन, प्रधानमन्त्रीको सचिवालयले भन्ने कुरा हो भनेर नै उठाइएको हुँदा समाचारले भ्रम सिर्जना गर्यो भन्ने भनाइप्रति हामी सहमत हुन सकिन्न । कार्कीले आफूले उक्त कुरा ‘प्रधानमन्त्री दरबारमार्ग कन्सर्टमा जानुहुन्न’ नभनेको दावी गरेका छन् । जसलाई तलको तथ्यले प्रष्ट पार्छ ।
दोस्रो नम्बरकाे प्रष्टीकरणमा प्रवक्ता डीआईजी कार्कीले ‘डीआईजी कार्कीका विषयलाई लिएर प्रधानमन्त्री तात्नु भो, डीआईजी कार्की र प्रहरी प्रमुखमाथि नै एक्सन लिने कुरा भएको छ ।’ भन्ने समाचारको विषयमाथि असहमति राखेका छन् । यो प्रधानमन्त्री दरबारमार्ग कन्सर्टमा जानुहुन्न भनेर अघिल्लाे दिन देशसञ्चार अनलाइनमा समाचार आएपछि प्रधानमन्त्रीको सचिवालयमा भएको कुरा हो । म कार्यक्रममा जाने भनिरहेको छु । कुन डीआईजीले जानुहुन्न भन्यो, आदि विषय प्रधानमन्त्री र उनको सचिवालयका कर्मचारीबीच भएका कुराकानी नै समाचारमा समावेश भएका हुन् । यसमा प्रधानमन्त्रीको सचिवालयका अधिकारी एवं प्रेस संयोजक रामशरण बजगाईंकाे भनाई नै नेपालबहसमा काेड गरि राखिएको पनि छ । त्यसकारण प्रहरी प्रमुख, प्रहरी संगठन र प्रहरी कर्मचारीको मानमर्दन हुने गरी समग्र सुरक्षा व्यवस्थामाथि प्रहार भयो भन्ने कुरा समाचारका सन्दर्भमा नै नआएका विषय हुन ।
तेस्रो, प्रवक्ता डीआईजी कार्कीले राजधानीको मुख्य चोकमा हुने सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भयो र यो विषयमा प्रहरी प्रमुख र डीआईजी कार्कीमाथि प्रधानमन्त्रीले कस्तो एक्सन लिन्छ भन्ने कुरा कपोलकल्पित भएको बताएका छन् । यसमा हामीले 'रुल अफ ल'को विषय उठाएका हौँ । नेपालको राज्य व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी हो । कार्यकारी उपस्थित हुने कार्यक्रममा सुरक्षा थ्रेट छ र प्रधानमन्त्री जानुहुन्न भन्ने भनाई सुरक्षा निकायका जिम्मेवार अधिकारीबाटै आउँछ भने यसमाथि कस्तो कारवाही हुन्छ भनेर हामीले प्रधानमन्त्रीमाथि प्रश्न गरेका हौँ । प्रधानमन्त्रीको सचिवालयलाई यो विषयमा सोधिएको कुरा समाचारमा उल्लेख छ ।
अर्को डीआइजी कार्कीले समाचार तयार गर्दाका बखत आफूलाई नसोधिएको बताएका छन् । समाचार तयार गर्दा उनलाई सोध्ने प्रयास भएको हो । फोन सम्पर्क हुन नसकेको हो । सायद त्यस दिन कन्सर्टमा बढी दौडधूप भएर फोनमा लामो समयसम्म सम्पर्क नभएको हुनसक्छ । सम्बन्धित व्यक्तिसँग सोधेर समाचार बनाउनुपर्छ भन्ने कुरामा हामी सचेत छौँ । यस अघि कार्कीकै विषयमा आएका समाचारहरूमा पनि सोध्ने नै गरिएको थियो । आज उनको खण्डन पठाएपछि पनि फोन गरिएको हो । तर, उनले लामो कुरा गर्न चाहेनन् । कार्कीले पठाएको खण्डनका विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजागाइँसँग पनि सोधेका छाैं ।
देशको सुरक्षा व्यवस्थामा कुनै कमजोरी देखिन्छ, कुनै त्रुटि भेटिन्छ भने त्यसलाई सच्याउनका लागि सम्बन्धित निकाय र त्यहाँ रहेका अधिकारीहरूलाई घच्घच्याउने, सूचित गर्ने र समाचारमार्फत दवाव सिर्जना गराएर त्यसप्रति संगठनको नेतृत्वलाई ध्यानाकर्षण गराउने कुरा सञ्चारमाध्यमले गर्छ । प्रधानमन्त्रीको सुरक्षाका विषयमा आईजीपी किन गृह मन्त्रालय गए, सुरक्षा व्यवस्थाका विषयमा के कुरा भयो भन्ने कुरा गृह स्रोतबाट हामीले लिँदै आएका हुन्छौ र लिन्छौँ । यस अर्थ प्रकाशित समाचारप्रति डीआईजी कार्कीको असहमतिलाई हामी सम्मान गर्छौ । तर, उनले भनेझैं समाचार भ्रमित र समग्र सुरक्षा व्यवस्थामाथि प्रहार भएको छ भन्ने कुरा सत्य छैन र होइन ।
कार्कीको खण्डन पत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार