साहारा सहकारी ठगी आरोपमा जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, ३७ करोड ६५ लाख हिनामिना
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १७:२:५५
९ असोज, काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरीको फरार सूचीमा रहेका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।
यसअघि, जीबीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा ठगी गरेको मुद्दा दर्ता भइसकेको छ । उनीसहित १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारी ठगी कसुरमा मुद्दा दर्ता गरेको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।
४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो । साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको खुलेको छ । प्रतिवादीहरूमध्ये सागर केसी र कुमार रम्तेल थुनामै छन् । जीबी राई अझै परार छन् । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ’रेड नोटिस’समेत जारी भइसकेको छ ।
प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ । त्यसैगरी गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।
‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार