बाँदरको उपद्रो बढ्न थालेपछि बस्ती छाड्दै किसान
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १५:२४:२१
१० असोज, भोजपुर । दिनानुदिन बाँदरको उपद्रो बढ्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । बाँदरका कारण जिल्लाका तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् । बाँदरले खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि बस्ती नै छाड्नुपर्ने अवस्था रहेको किसानहरुको भनाइ छ ।
बाँदरका कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । बाँदरको उपद्रो बढ्न थालेपछि किसानले बस्ती नै छाड्न थालेका छन् । बाँदरले बास्तिमा, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेको स्थानीयको भनाइ छ ।
बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका दलगाउँका स्थानीय दलबहादुर मगरले बताए । बाँदरको आतङ्क बढ्दा बस्ती नै खाली हुने अवस्था आएको उनको भनाइ छ । “किसानको मुख्य शत्रु नै बाँदर बनेको छ”, उनले भने, “बाँदरका कारण उर्वर जमिन बाँझिएका छन्, बाली लगाएर पनि बाँदरबाट बचाएर खाने अवस्था छैन, छिनभरमा वर्षदिनका मेहनत नष्ट पार्छन् ।”
बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले वस्तीमा पसेर दुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका उनले बताए । दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङका स्थानीय महेन्द्र राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।
“बाँदरबाट बचाएर अन्नबाली खाने अवस्था छैन”, उनले भने, “बाँदरले अन्नबाली पाक्न दिँदैन, कटेरा बनाएर हेरचाह गरेर पनि सम्भव छैन ।” बाँदर मकैको थाग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको किसान राईको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समय टेर्न छाडेको उनको भनाइ छ ।
“बाँदर धपाउने यन्त्र पड्काएर तर्साउँदा पनि भाग्न छाडेको अवस्था छ”, उनले भने, “दशदेखि १५ मिनेट मात्र बालीमा पस्दा सखाप नै पार्छन्, बाँदरले हैरान बनाएको छ ।” बाँदर आतङ्कले धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका १८ भन्दा बढी घर परिवार बाँदरका कारण विस्तापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।
“बाँदरका कारण किसानलाई चुनौती थपिएको अवस्था छ”, वडाध्यक्ष नेपालले भने, “बाँदरको उपद्रो बढ्दा बर्सेनि उर्वरभूमि बाँझो बन्दै गएका छन्, दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ, बाँदरले धेरै दुःख दिएपछि स्थानीयले बस्ती नै छाडेको अवस्था छ ।” बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । बाँदर समस्या अन्त्यका लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार