१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १७:१२:२२
११ असोज, काठमाडौं । पछिल्लो १२ घण्टा यता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको विवरणमा संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।
महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताए । वर्ष धेरै भएपछि मुग्लिन–नारायणगढ सडक खण्डमा आज राति गाडी चलाउन बन्देज लगाइएको छ ।
विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । निरन्तर पानी परिरहेकोले सो निर्णय गरिएको हो । भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए ।
विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमनीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिए ।
पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ । काठमाडौँका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौँका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।
ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।
आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जल सतह बढेको छ । काठमाडौँको बागमती, विष्णुमती, धोबीखोला, ललितपुरको कर्मनासा, भक्तपुरको हनुमन्ते खोलामा जल सतह उच्च रहेको छ । वर्षाले काठमाडौंसहित मुलुक भरको जनजीवन सामान्य प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।
प्रतिकूल मौसमले हवाई उडान पनि प्रभावित भएका छन् । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको हो । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय तर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका प्रवक्ता शेर्पाले बताए । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान भने अहिले नियमित भइरहेका छन् ।
लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताए । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएका एयरलाइन्सले जनाएका छन् ।
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार