उद्धारमा लापरबाही गर्ने सिडिओ र प्रहरी प्रमुख रेडजोनमा, धादिङ र काभ्रेका सिडिओ मन्त्रालय तानिए
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ११:२०:२४
१४ असोज, काठमाडौं । गृह मन्त्रालयले काभ्रे, ललितपुर र धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले समन्वय नगरेको भन्दै दुई सिडिओको सरुवा गरेको छ । तर ललितपुरका सिडिओको भने सरुवा भइसकेको छैन । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए ।
मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेढाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दावी गरे पनि हालै आएको बाढी पहिरोमा राम्रो काम नगरेको बताइएको छ ।
ललितपुरका सिडिओ तुलसीबहादुर श्रेष्ठले आफ्नै जिल्लामा भएको घटनाक्रमबारे जानकारी नलिनु र धादिङका सिडिओ राजेन्द्र देव पाण्डे सम्पर्कमै नआउनुलाई गम्भीर रुपमा लिएको हो तर काभ्रेका सिडिओ भने क्यान्सर रोगबाट पीडित भएपछि उपचारमा सहजीकरण गर्न सरुवामा परेका हुन ।
नख्खु खोलामा आएको बाढीका कारण उद्धार गर्नबाट वञ्चित भएका चार जनाको विषयमा गृहमन्त्रालय मात्र होइन ललितपुर जिल्ला प्रशासन कार्यालय समेत बेखबर बनेपछि उनको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । दुई दिनदेखि लगातार भएको वर्षाले काठमाडौँ उपत्यकासहित देशभर ठुलो क्षति पु¥याएको छ । ठुलो वर्षा हुने मौसम विज्ञान विभागको पूर्वानुमानका बाबजुद उद्धारमा सरकारको असफलतालाई पनि छोप्ने ठाउँ भने छैन । गृहमन्त्रीले बाढीपीडितको उद्धारमा सरकारी संयन्त्र बीच नै समन्वय हुन नसकेको स्वीकार गरिसकेका छन् ।
उद्धार र विपद्को तयारीमा सरकारको कमजोरीलाई काठमाडौँकै एक घटनाले उजागर गरिदिएको भन्दै आलोचना भएपछि मन्त्रालयले गम्भीर समीक्षा गरी सिडिओ श्रेष्ठको कमजोरी औंल्याएको छ । सबै सुविधा तत्काल उपलब्ध हुन सक्ने ललितपुर महानगरपालिका भित्र पर्ने नख्खु खोलाको बाढीमा फसेका चार जनाको उद्धार समयमै हुन सकेन ।
शनिबार बिहानैदेखि ललितपुरको नख्खु खोला किनारा एउटा टहरोको छतमा बाढीले घेरिएर चार जना बसेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उद्धारको पर्खाइमा घण्टौँसम्म बस्दा पनि त्यहाँ राज्यसंयन्त्रले समयमै ध्यान दिन सकेन ।
कम्तीमा तीन घण्टासम्म टिनको छानामा उद्धारको पर्खाइमा उनीहरू बस्दा सरकारले समयमै चासो दिन नसकेको भन्दै चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयमा आइतबार महाशाखा प्रमुखको बैठक बसेको थियो । बालबालिकासहित रहेका उनीहरूलाई डोरीको सहायताले उद्धार गर्ने कोसिस स्थानीयवासी र केही सुरक्षाकर्मीले गरेका थिए । तर तीव्र बहावका कारण त्यो सम्भव भएन । खोला बढ्यो अनि उनीहरूलाई टहरासहित बगाएको थियो ।
नख्खुखोलामा बाढी आएपछि शुक्रबार बेलुका नै प्रहरीले खोला आसपासमा नबस्न चेतावनी दिएको थियो । अधिकांशले उक्त क्षेत्र छाडे पनि एक परिवार सोही टहरोमा बसिरहेका थिए । बिहान वर्षा झन् बढ्यो । ६ बजेपछि बाढी बढ्न थालेपछि खोला नजिकको टहरो बाढीले घेरिएको थियो । दुईतिर खोलाको बाढी आएपछि चार जना आत्तिएर छतमा चढेर गुहार मागेका थिए । प्रहरीका अनुसार यसरी बग्ने सबै ग्रील कारखानामा काम गर्ने मजदुरको परिवार थियो । खोलाले केहीबेर बगाएपछि उनीहरू मध्ये दुई जनाको उद्धार पेन्टर काम गर्ने काभ्रे तिमालका चणिकलाल तामाङले गरेका थिए भने अर्का एक जना आफै पौडेर निस्किएका थिए । बाँकी एक जना हालसम्म बेपत्ता छन् । उद्धार गरिएकामध्ये राजु साह, राज साह र मेघना साहको पाटन अस्पतालमा उपचार भइरहेको छ । सेतु साह बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
देशभरिका विपद्सम्बन्धी घटनामा राज्यका जिम्मेवार निकायहरूले उद्धारमा तदारुकता नदेखाउँदा कतिपयको ज्यान गएको भन्दै सरकारको आलोचना भइरहेको छ । ललितपुरकै घटनालाई हेरेर पनि विपद् व्यवस्थापन तथा उद्धार कार्यमा नेपालका सरकारी निकायहरू गैरजिम्मेदार बनेका थिए ।
यसैगरी धादिङ र काठमाडौंको सीमानामा पर्ने धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा आइतबार दिउँसो ३ बजेसम्म ३५ शव फेला परेका छन् । अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरूले निकालेका हुन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए ।
शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आइतबार बिहान थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको हो । जसमा १७ पुरुष र ४ महला रहेको छन् । पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन छ । यस्तो अवस्थामा धादिङका सिडिओ फेला नपर्दा गृहमन्त्रालयले सरुवा गरेको हो। काठमाडौं नजिकैको झ्याप्ले खोलाका बारेमा थानकोट वृत्त र नागढुंगा प्रहरी प्रभागका प्रमुखहरु पनि लापरवाह बनेका थिए । उनीहरू पनि गृहको नोटिसमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार