दशैं तिहार नजिकिएसँगै सिराहाका कार्यालय प्रमुखहरुलाई तस्करले चढाउन थाले १ लाख सम्मको भेटी
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १७:४५:०
♦मुकेश कुमार यादव
१६ असोज, सिराहा । सिरहामा दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँंगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयका प्रमुख, जिल्ला समन्वय समितिका सभापतिहरू लगायतलाई अवैध कारोबारमा संलग्नहरूले भेटी चढाउने काम सुरु गरेकाे स्रोतको दावी छ । जिल्लामा बढ्दो तस्करी, क्रसर उद्योगी र अन्य अवैध कारोबार गर्नेहरूले चाडपर्व नजिकिएसंँगै जिल्लाका कार्यालय प्रमुखहरूलाई दशैं तिहारको भेटी चढाउने कार्य सुरु गरेकाे स्राेतले बतायाे ।
दशैंको भेटीका रूपमा क्रसर सञ्चालकहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख सीडीओ, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी, र सशस्त्र प्रहरी बलका प्रमुख एसपीलाई प्रति क्रसर ३० हजारदेखि ५० हजार रुपैयाँ बुझाउने गरेको स्रोतले जनाएको छ । त्यसैगरी, भारतीय बजारबाट अवैध रुपमा तस्करीका समान नेपाल भित्र्याउने साना तस्करहरूले २५ हजारदेखि ३० हजारसम्म बुझाउने गरेको र ठूला तस्करहरूले ७० हजारदेखि १ लाख रूपैयाँसम्मको भेटी दिने गरेको स्रोतको दावी छ ।
भेटीको माफिया नेटवर्क
सिराहामा अवैध व्यापारमा संलग्न व्यक्तिहरूले चाडपर्वको मौका छोपेर आफ्नो कारोबारलाई थप सुरक्षित बनाउन कार्यालय प्रमुखहरूलाई चाडपर्वको नाममा अतिरिक्त रकम बुझाएर सम्बन्धलाई बलियो बनाउने तस्करहरूले प्रयास गर्छन् । उनीहरूले भेटी मार्फत सघाउने र संरक्षण पाउने दाबीसमेत गर्छन् । स्रोतका अनुसार, दशैं तिहारको अवधिमा विशेष गरी क्रसर उद्योग, सीमा तस्करी, र अन्य गैरकानुनी धन्दा चलाउनेहरूले कार्यालय प्रमुखहरूलाई भेटी चढाउने गर्दछ ।
सिराहामा क्रसर व्यवसायीलाई कानुनी संरक्षण दिने सीडीओ र अन्य सरकारी प्रमुखहरूलाई प्रत्यक्ष भेटी चढाइन्छ । अवैध क्रसर सञ्चालनका लागि दशैंको अवसरलाई उपयोग गर्दै उनीहरूले रकम बुझाउने गरेका नाम उल्लेख नगर्ने शर्तमा एक क्रसर व्यवसायीले बताए । उनले भने, ‘यो रकम मुख्य रूपमा अवैध क्रसरहरूको सञ्चालन, अवैध रुपमा ग्राभेल, गिट्टी, बालुवा उत्खनन् गर्दा कानुनी अडचन नआउनकै लागि दशैंमा नियामक निकायलाई अनिवार्य रुपमा भेटी चढाइन्छ ।’
त्यसैगरी, साना तस्करहरूले आफूलाई पायक पर्ने रुटका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई २५ देखि ३० हजार रूपैयाँसम्म बुझाउने गरेको नाम नखोल्ने शर्तमा एक तस्करले जनाएको छ । उनले भने, ‘ठूला तस्करहरूले जिल्लाका कार्यालय प्रमुखहरूलाई मात्र चाडपर्वको भेटी स्वरूप ७० हजारदेखि १ लाख रूपैयाँसम्म बुझाउने गरेको छ । जिल्लाका मातहतमा रहेको इलाकालाई भन्ने १० हजार देखि पन्ध्र हजार बुझाइन्छ । उनले थपे, ‘तस्करीमा संलग्न हुनेहरूले यसरी चाडपर्वको अवसरमा आफ्नो सुरक्षा सुनिश्चित गर्न र कार्यालय प्रमुखहरूसँग राम्रो सम्बन्ध बनाउन पनि रकम बुझाउनुपर्ने बाध्यता छ ।’
जिल्लाभरीमा जम्मा नवीकरण नभएका र भएका समेत गरी १३ वटा क्रसर व्यवसायी, खानी दर्ता नै नगरी अवैध रुपमा ग्राभेल उत्खनन गर्ने करीब दश जना, ९० जना जति ठूला तस्कर रहेको छ भन्ने पचास जना साना साइकल तथा मोटरसाइकलमा समान ओसारपसार गर्ने तस्कर छन । अन्य अवैध तथा कार्यालयहरूमा बिचौलियाको काम गर्नेको संख्या पनि एक सय भन्दा कम छैन ।
यसलाई मात्रै आधार मान्ने हो भने पनि दशैं तिहारमा सम्बन्धित निकायका प्रत्येक कार्यालयहरूमा वडा भोजको लागी लाखौं रुपैयाँको भेटी चढाइने गरेको देखिन्छ । यस्तो भेटी संस्कार जिल्लावासीको लागी अत्यन्तै खतरनाक रहेको र सरकारी अधिकारीहरूले नै यस्ता अवैध धन्दाहरूलाई मौन समर्थन गरेपछि कानुनको पालना गर्नेहरूको हक र अधिकार समेत उल्लंघन हुने गरेको नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देव कुमार यादवले बताए ।
उनले भने, ‘यसरी भेटी चढाउने प्रथा नरोकिने हो भने जिल्लामा विधिको शासन स्थापित गर्न समेत कठिनाइ हुने उनको भनाई छ । उनले थपे, ‘सरकारी कार्यालय प्रमुखहरूले नै यस्तो भेटी लिँदा अवैध गतिविधिहरू अझै बढ्ने सम्भावना छ । चाडपर्वको नाममा रकम उठाउनु नै अपराध हो ।’
दशैंको नाममा अवैध असुलीलाई एक अनिवार्य संस्कृति र परम्पराको रुप दिइएको संचारकर्मी अर्जुन थपलिया बताउँछन् । स्थानीय प्रशासनका अधिकारीहरू लज्जा त्यागे, लगभग निर्वस्त्र शैलीमा अवैध असुली धन्दामा लिप्त भएको उनको आरोप छ । स्थानीय प्रशासन र सुरक्षा निकायहरू हदैसम्म चरित्र च्युत र तस्करहरूको नुन खाएर बिटुलिएका छन् । स्थानीय सरकारी अधिकारीहरू तस्करहरूको बँधुवा बनेको उनको भनाइ छ ।
यसै विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख (सीडीयो) वासुदेव दाहालसँंग प्रतिक्रिया लिन खोज्दा फोन उठेनन् । त्यसैगरी सोही विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रमेश पंडितले प्रहरीको मिलेमतो पाइएमा कार्यवाही गर्ने बताए । उनले भने, ‘म आएको पाँच महिना भयो मैले कसैसँग एक रुपैया लिएको छैन, कसैले अफवाह फैलाएको हुनसक्ने जनाए । कसैसँग कुनै प्रहरीले रकम लिएको जानकारी पाए तत्कालै विभागीय कार्यवाही गर्ने उनले दावी गरे ।’
दशैं तिहारको चाडपर्व नजाकिँदै गर्दा सिराहामा भेटी प्रथाको माफिया जालो गहिरिँदै गएको जानकारहरु बताउँछन्। सरकारी कार्यालयका प्रमुखहरूलाई भेटीको रूपमा दिइने रकमले अवैध गतिविधिहरूलाई संरक्षण दिँदै आएको छ । यसका कारण सिरहा जिल्लामा कानुनी शासन कमजोर हुँदै गएको अनुभुती भइरहेको उनीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार