बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
रासस
असोज १७, २०८१ बिहिबार ११:५४:५४
♦ राजकुमार पराजुली
१७ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाइमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए । “हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने गरी अस्थायी सडक बनाउने काम गर्नेछौँ”, उनले भने ।
उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए ।
अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ ।
उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो । सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत सुरु गरेको हो । पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।
डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छ भने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ ।
हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ । राजमार्गको कुल एक सय ६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो । सो रकम हालको मूल्याङ्कन अनुसार रु ५० करोडभन्दा माथि हो । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्याङ्कन प्रारम्भिक अनुमान रु दुई अर्बभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए । बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।
जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी वि.सं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपक्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार