राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार १२:३:२९
१८ असाेज, काठमाडाैं । देश बाढी पहिरो र डुबानले तहस–नहस भइरहेका बेला राज्य संयन्त्रले कुनै पनि काम नगरेको विषयमा प्रधानमन्त्री कार्यालयमा गम्भीर छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई तथा मुख्यसचिवसँग गम्भीर छलफल गरेका हुन् ।
एकीकृत रुपमा काम नगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले प्रश्नको सामना गर्न गाह्रो भइरहेको अवस्थामा राज्यसंयन्त्र किन परिचालन हुन नसकेको भन्ने बारेमा छलफल गरेका हुन् । प्रधानमन्त्री आफैंले पनि विदेश रहेर कुनै पनि पहल नगरेको भन्दै आलोचना भइरहेको बेला उनले राज्यका प्रमुख मन्त्रालयका मन्त्रीहरूसँग समन्वय गर्दै छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले नेपालमा बाढी पहिरो गइरहेका बेला सुरक्षा समिति बैठक वा सर्वदलीय बैठकमा भर्चुअल रूपमा भए पनि नेतृत्व लिन सक्नु हुन्थ्यो तर लिनु भएन भन्दै आलोचना भएको छ । ‘उहाँले त अमेरिका हुनुहुन्थ्यो भनेर छुट दिने हो भने पनि कार्यवाहक प्रधानमन्त्री र सरकारका मुख्यसचिवले पनि नेतृत्व लिन सक्थे तर दुवै निष्प्रभावी देखिनुभयो, यसबाट प्रधानमन्त्रीकै आलोचना भएको छ ।' एक मन्त्रीले भने ।
प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधानमन्त्री र गृहमन्त्रीले नेपाली सेनाबाट समयमै हेलिकोप्टर उडाउन सहमत नभएको र १२ बजेसम्म हेलिकोप्टर उड्न नसकेको जानकारी गराएका थिए । ‘शनिवार सेनाले एकदमै असहयोग गर्यो, समयमा रक्षामन्त्री पनि भेटिनु भएन’, गृहमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् क्षति र राहत उद्धारका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन राखेका थिए । त्यहाँ उनले सरकारले गरेको कामको फेहरिस्त विवरण सुनाउन मुख्य सचिव एकनारायण अर्याललाई दिए पनि बाढी पहिरोको बारेमा थोरै मात्र जवाफ दिएर फर्केका थिए । ।
खासमा त्यस्तो विवरण मुख्यसचिवले प्रधानमन्त्रीलाई दिनुपर्ने हो, तर त्यहाँ उल्टो भयो । प्रधानमन्त्रीले विवरण अरूसँग लिएर मुख्यसचिवलाई दिनुभएको हो । प्रधानमन्त्रीले मुख्यसचिवसँग समयमा प्रशासनिक निकायलाई चुस्त नराखेको भन्दै असन्तुष्टि पोखेको थिए । प्रशासनिक संयन्त्रको नेतृत्व गरेको र गृह मन्त्रालयको समेत अनुभव भएका मुख्यसचिवले प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीसँगै समन्वय गरेर सुरक्षाकर्मीलाई स्रोत साधन उपलब्ध गराउन र अन्य संयन्त्र परिचालन गर्न छाडेर किन गृहजिल्ला पुग्नुभएको हो भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदका अधिकारीहरूले सोधखोज गरेका थिए ।
विपद्का समयमा सक्रिय हुनुपर्ने अर्को मन्त्रालय हो, स्वास्थ्य मन्त्रालय । तर घाइतेको उपचारका लागि टोली खटाउन मन्त्रालयले कुनै पहल गरेन । राजमार्गमा अलपत्र हजारौं यात्रुको उद्धार र सुरक्षाका लागि रेडक्रस कतै देखिएन । अलपत्र परेकाहरूलाई आफ्नै ठाउँबाट औषधि र प्राथमिक उपचारका लागि मात्रै परिचालन गरेको भए पनि राहत हुन सक्थ्यो । तर कतै पनि मन्त्रालयको उपस्थिति देखिएन । स्वास्थ्य मन्त्री प्रदीप पौडेल बिहीबार मन्त्रालयबाट दुई सय मिटरको दुरीमा रहेको ट्रमा सेन्टर पुगेका थिए
अवरुद्ध राजमार्ग खोल्न सक्रिय हुनुपर्ने भौतिक मन्त्रालय मातहतका निकाय पनि निष्क्रिय रहे । भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल आफैँ प्रदेश भ्रमणमा भएका बेला बाटो पन्छाउने हेभि इक्विप्मेन्ट परिचालन गर्ने निकायलाई निर्देशन दिने कोही भएन । घण्टौँ अलपत्र परेका यात्रुलाई खाना पानी दिनका लागि स्थानीय सरकार वा प्रदेश सरकार सक्रिय हुन सक्थे तर भएनन् । खानेपानी मन्त्रालयकै समेत भूमिका हुन सक्थ्यो, त्यो पनि भएन ।
यी सबै काम कार्यवाहक प्रधानमन्त्रीसँग समन्वय गरेर मुख्यसचिवले गर्न सक्नुपर्ने थियो । तर मुख्यसचिव अर्यालले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको फोन समेत नउठाएको आरोप त्यसैको उदाहरण भएको एक सहसचिवको बुझाइ छ । र त्यो असहयोग भएकै कारण स्रोत परिचालन र तत्काल अप्ठ्यारोमा परेकाहरूले राहत पाउन नसकेको गृह स्रोतको दाबी छ । संयन्त्र परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीहरू छन् । तर उनीहरू पनि सक्रिय भएनन् । यही कारण कारबाही स्वरूप उनीहरूको सरुवा गरि सकिएको छ । कर्मचारीहरूमा पनि पार्टीगत हिसाबले विभाजन आएको प्रधानमन्त्री कार्यालयकै अधिकारीहरूले बताइरहेका छन् ।
गृह मन्त्रालयले बुधबार मात्रै ८ जना सहसचिवको कार्यदल बाढी प्रभावित क्षेत्रमा खटाएको छ । ‘यसपटक समन्वयको पुरै अभाव रह्यो, कर्मचारीहरू पनि विभाजित भएको देखियो, विपदका बेला राज्यका प्रमुख अंगका प्रमुखहरूले ‘रेडजोन’ उल्लंघन गरे । शहरी मन्त्री र रक्षामन्त्री शनिवार एक बजेसम्म सम्मान, पार्टीगत काममै व्यस्त भएको देखियो, प्रहरी महानिरीक्षक देश बाहिर गएको देखियो’, स्रोतले भन्यो ‘प्रधानमन्त्री विदेश जाने बित्तिकै सबै आफ्ना आफ्ना काममा लागे ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार