१२ जिल्लाका ४३ वटा स्थानीय तह संकटग्रस्त, पुल सडक बनाउन २५ अर्ब खर्च
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार १३:३३:२१
१९ असोज, काठमाडौं । बाढीबाट बढी क्षतिभएका जिल्ला र स्थानीय तहलाई सरकारले संकटग्रस्त घोषणा गरेको छ । यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण भत्किएका सडक र पुल मर्मत तथा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्रारम्भिक अनुमान गरिएका बेला सरकारले बाढी र पहिरोबाट क्षति भएका जिल्लालाई संकटग्रस्त घोषणा गरेको हो ।
शुक्रबार राती बसेको मन्त्रिपरिषद बैठकले १२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘१२ जिल्लाका ४३ वटा स्थानीय तह बाढीपहिरोबाट बढी क्षतिग्रस्त भएका छन्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको सिफारिसको आधारमा तीन महिनाको लागि संकटग्रस्त घोषणा गरिएको हो’, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने ।
शुक्रबार नै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठक बसेको थियो । त्यसकै सिफारिसको आधारमा मन्त्रिपरिषद बैठकले बाढीपहिरोले बढी प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सञ्चारमन्त्री गुरुङका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, काभ्रे, ललितपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लाका बाढीपहिरो प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । प्राधिकरणमा भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित ४३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने बताएका थिए । अब ती क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिइने पनि उनले बताएका थिए ।
सरकारका प्रवक्ता सञ्चारमन्त्री गुरुङका अनुसार काभ्रेको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् । धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।
पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन भने दोलखाको गौरीशंकर, बिगु र शैलुङ गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, कोन्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिका पनि विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन । रामेछापको मन्थली, रामेछाप, खाँडादेवी नगरपालिका तथा दोरम्बा शैलुङ, सुनापती, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई पनि सरकारले संकटग्रस्त घोषणा गरेको छ । त्यसैगरी सिन्धुलीको गोलञ्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका तथा चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषित छन् । अब ती क्षेत्रमा आवश्यक स्रोतसाधन केन्द्रित गरेर राहत, पुनःस्थापना र पुनर्निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिने गृहमन्त्रालयले जनाएको छ ।
गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानको कारण अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ भने १६९ घाइते भएका छन् । १८ जना अझै बेपत्ता रहेका गृह मन्त्रालयले जनाएको छ ।
सडक र पुल निर्माणमा मात्रै २५ अर्ब
दुई दिनसम्म आएको भारी वर्षाका कारण भत्किएका सडक र पुल मर्मत तथा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र हालसम्मको प्रारम्भिक अनुमानअनुसार भत्किएका सडक तथा पुल मर्मत र पुननिर्माणका लागि २५ अर्ब रुपैयाँसम्म खर्च लाग्ने सरकारले जानकारी गराएको छ । मन्त्रालयले भत्किएका सडक र पुलमा अस्थायी रूपमा यातायात सञ्चालन गर्न मात्र साढे दुईदेखि तीन अर्ब रूपैयाँ लाग्ने देखिएको भौतिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरि ३४ वटा राजमार्गको आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको अवरोध खुलाएर २९ वटा राजमार्गमा यातायात सेवा नियमित गरिसकिएको छ । अझै पाँचवटा राजमार्गको ३१ स्थानमा अवरोध कायमै रहेको छ । अवरुद्ध स्थानमा पहिरो हटाउने काम भइरहेको छ । कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखेर अवरोध खुलाउने काम भइरहेको छ ।
काठमाडौंबाट छुट्ने यात्रुवाहक बसलाई सडकको अवस्था र परिस्थिति हेरी उज्यालो समयमा नै निश्चित दुरी पार गर्नेगरी समन्वय गरिएको मन्त्रालयले जनाएको छ ।
अवरोध कायमै रहेका स्थान
भौतिक मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार अरनिको राजमार्गअन्तर्गत लार्चा–कोदारी खण्डको पाँच किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बाढीपहिरोले बगाएका कारण सडक अवरुद्ध भएको छ । लार्चामा ह्युम पाइप, पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । बिपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डको १८ किलोमिटरमा करिब १२ किलोमिटर सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । उक्त खण्डको १२ किलोमिटर सडक बाढीपहिरोले बगाएका कारण बीचबीचमा सवारीसाधन रोकिएका छन । दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाको पानीको बहावलाई ध्यानमा राखी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रूपमा यातायात सञ्चालन गरिने तयारी भएको मन्त्रालयले जनाएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम खण्डमा ८० किलोमिटर क्षेत्रको धेरै ठाउँमा पहिरो गएर सडक वासआउट भएको छ। उक्त खण्डमा दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । यस खण्डमा सडक सफा गरी वर्दिवासबाट बिपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराउनेगरी काम भइरहेको छ । यसैगरी कान्ति राजपथको घपेली–बगुवा खण्डमा १३ किलोमिटर र बागमती पुलमा क्षति भएको छ ।
कान्ति राजपथको मकवानपुर तथा ललितपुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । मन्त्रालयका अनुसार बाममती पुलको एप्रोच छिटोभन्दा छिटो निर्माण गरी सवारीसाधन सञ्चालन नियमिति गरिने छ । यसैगरी मेची राजमार्गको रमिते–फिदिम खण्डअन्तर्गत आठ किलोमिटर सडकमा क्षति पुगेको छ । उक्त राजमार्गको रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलाको पुलमा पनि क्षति भएकाले अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गराउने तयारी भइरहेको छ । मन्त्रालयले पृथ्वी र बिपी राजमार्गमा अकल्पननीय क्षति दशै अघि खुल्न नसक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार