नख्खुमा हेलिकोप्टर पुर्याउन नसक्नेहरु अनुगमनको नाममा राज्यकोषको दोहोन गर्दै
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार १३:४५:२५
२३ असोज, काठमाडौं । दुई साता अघि आएको बाढी र पहिरोले ठूलो जनधनको नोक्सान हुँदा सरकारी निकाय सुस्त देखिएकोमा अहिले अनुगमनका नाममा राज्य दोहन शुरु भएको छ । राहत तथा उद्धारमा खटिन नसक्दा सरकारको व्यापक आलोचना भइरहँदा मन्त्री तथा सरकारी निकाय निकम्मा नै सावित भएका थिए । गृहमन्त्री, रक्षा मन्त्री, भौतिक मन्त्रीको कार्यक्षमता निकै फितलो भएको थियो ।
अझ उद्धार र राहतमा सटिनुपर्ने तथा जनसम्पर्कमा बस्नु पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताद्धय डीआईजी दानबहादुर कार्की र कुमार न्यौपाने मोबाइल नै अफ गरेर सम्पर्कबिहीन भएका थिए । कार्यक्षमता फितलो भएका कारण उनीहरुको आलोचना समेत भएको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मी स्रोत साधन नपाएर भौंतारिएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गोदाममा थन्किएका रबरका डुंगा समेत सुरक्षाकर्मीले पाएका थिएनन् । अहिले अवरुद्ध विभिन्न राजमार्ग खुलाउन सुरक्षाकर्मी खटिएका छन् । सुरक्षाकर्मीहरू खटिएकै अवस्थामा गृहमन्त्री रमेश लेखक र रक्षा मन्त्री मानवीर राई सेनाको हेलिकोप्टर लिएर अनुगमनमा खटिएका छन् । ‘उद्धारमा समयमै सेनाको हेलिकोप्टर निकाल्न नसक्ने गृह र रक्षा मन्त्री अहिले त्यही सेनाको हेलिकोप्टर प्रयोग गरेर अनुगमनको नाटक गरिरहेका छन्’, उद्धारमा खटिएका भौतिक मन्त्रालयका एक सहसचिव भने ।
यतिबेला उनीहरू काम गरिरहेका संयन्त्रलाई स्रोत साधन दिन छाडेर मन्त्री, सांसद तथा राजनीतिक दलका नेताहरु भने जस लिने होडमा लागेका छन् । दुई दिन अघि मात्रै सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा सेनाले राख्न लागेको बेलिब्रिज हेर्न नेताहरुकाे लर्को लागेको थियो । सिन्धुली र रामेछाप जोड्ने मुख्यमार्ग खुर्कोटको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध छ । बीपी राजमार्ग र पुष्पलाल राजमार्गको बीचमा पर्ने खुर्कोटस्थित सुनकोशी नदीको पुल भत्काएपछि नेपाली सेनाले आइतबारदेखि बेलिब्रिज जडानको काम गरिरहेको छ । सेनाले आफूसँग भएको स्रोत र जनशक्ति प्रयोग गरेर निर्माण गरिरहेको पुलको जस लिन नेताहरूको लर्को लागेको छ । त्यहाँ विवादास्पद ठेकेदार समेत रहेका सांसद कान्छाराम तामाङले समेत मैले ल्याएको भन्न भ्याएका थिए ।
काठमाडौंमै उद्धार गर्ने सुरक्षाकर्मीलाई रवरबोट उपलब्ध गराउन नसकेका गृहमन्त्री रमेश लेखक सेनाले बनाइरहेको बेलिब्रिज हेर्न पुगेका थिए । मुख्य राजमार्गको आवतजावत खुलाउन जति सक्दो छिटो काम सक्ने योजनामा रहेका सुरक्षाकर्मीलाई नेताकै लर्कोले अवरोध गर्यो । गृहमन्त्री लेखक मात्रै होइन, रक्षा मन्त्री मानवीर राई, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि सेनाकै हेलिकोप्टर प्रयोग गरेर खुर्कोट पुगेका थिए । मुलुकमा बाढीपहिरोले आक्रान्त बनाइरहँदा नख्खुमा हेलिकोप्टर पठाउन नसक्ने रक्षामन्त्री राई यसदिन दिनभर सम्मान थाप्न व्यस्त रहेका थिए । अहिले भने उनी त्यही सेनाको हेलिकोप्टर चढेर अनुगमन गर्न हिँडिरहेका छन् ।
तीन जना मन्त्रीसँगै काभ्रेका एमाले सांसद गोकुल बाँस्कोटा, ललितपुरका नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणा, सिन्धुपाल्चोकका कांग्रेस सांसद मोहन बस्नेत, कांग्रेसकै अर्का सांसद श्याम घिमिरे पनि अनुगमनको नाममा सेनाको हेलिकोप्टर दुरुपयोग गर्दै लर्को लागेर पुगेपछि सुरक्षाकर्मीलाई कामभन्दा नेताहरूको खाने र बस्ने व्यवस्था मिलाउनै हैरानी भएको थियो । जबकी गृह मन्त्रालय आफैंले ८ जिल्लाको क्षति अध्ययन र सिफारिसका लागि सहसचिवहरूको टोली नै खटाएको थियो । सरकारले केही दिन अघि मात्रै असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रूपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका थिए भने स्थानीय तहमा क्षतिको विवरण अझै संकलन हुन बाँकी रहेको छ । बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार