अध्यादेशको हल्लाले एकीकृत समाजवादीमा त्रासः पार्टी आफैं विभाजित हुन्छ कि ओलीले फुटाउँछन् ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १२:१६:१२
४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल फुटाएर आफूले राज गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदैछन् भन्ने चर्चा चलेसँगै नेकपा एकीकृत समाजवादी पार्टी विभाजन हुनसक्ने सो पार्टीकै नेताहरूले बताउन थालेका छन् । यसअघि पनि यो पार्टी विभाजित हुने चर्चा चुलिएको थियो । शुक्रबार यता एकीकृत समाजवादीभित्र पार्टी फुट्ने त्रास बढेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले शनिबारको विपक्षी दलको बैठकमा पनि ओलीले पार्टी फुटाउने लागेको बताएका थिए । एकीकृत समाजवादी जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पनि पार्टी विभाजन हुने चिन्तामा छ । तर, एमालेलाई बलियो र ठूलो पार्टी बनाउन ओलीले अरु दलभन्दा पहिले एकीकृत समाजवादीलाई नै निसाना बनाएका छन् ।
पार्टी विधान र महाधिवेशनको म्याण्डेट विपरीत पदाधिकारी र पोलिटब्युरो चयन गरिएको भन्दै एकीकृत समाजवादीमा चर्को असन्तुष्टि छ । समाजवादीमा चुनावबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएपछि उत्साह बढ्नुपर्नेमा झनै विवाद बढेको छ । उपाध्यक्षदेखि पोलिटब्युरो सदस्यसम्मका लागि भएको चुनावमा पराजितहरू असन्तुष्ट बनेका छन् । उपाध्यक्षमै पराजित भएपछि रामकुमारी झाँक्री, रामचन्द्र झा र केशवलाल श्रेष्ठ, उपमहासचिवमा पराजित अमरबहादुर थापा, जीवनराम श्रेष्ठ लगायतका नेताहरूले पार्टीको निर्वाचन गुटगत आधारमा गरिएको भन्दै गोप्य भेला गरेका छन् ।
शनिबार नै एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीलाई नेकपा एमालेसँग एकीकरण गर्नुपर्ने बताएका छन् । उनले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै एमालेसँग पार्टीको एकीकरण नभए एउटा समूह फुटेर एमालेमा जाने बताए । उनले पार्टी फुटबाट जोगाउने हो भने माधव नेपालले एमालेसँग एकीकरण गर्नुपर्ने बताए । उनले तत्कालीन पार्टी (एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनै पनि त्रुटी, कमीकमजोरी र असन्तुष्टिहरू नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको कारण अब विभाजित हुने बताए ।
प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेपछि विपक्षी दलहरूमा हलचल उत्पन्न भएको हो । शनिबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्ने समझदारी बनेको थियो । बैठकको अध्यक्षता गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको रवैया ठिक नभएकाले चुप लागेर बस्न नहुने धारणा राखेका थिए ।
दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर विपक्षी दलहरूलाई तर्साउने र फुटाउने नीतिमा ओली सरकार अग्रसर देखिन्छ । यस विषयमा विपक्षी दलहरू एकजुट भएर प्रतिवाद गर्ने समझदारी भएको हो । खासगरी नेकपा एकीकृत समाजवादीका नेताहरूले यस विषयमा विशेष चासो राखेका थिए । यस विषयमा अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् । बिहीबार मात्रै महासचिव घनश्याम भुसालले गृहमन्त्री रमेश लेखकसँग भेटेर यसबारे चासो राखेका थिए ।
एकीकृत समाजवादीका एक नेताले नेपालबहससँग भने, ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ । त्यो गर्न सकिएन भने पनि जे–जे त्रुटी, कमजोरी भएर पार्टीले राम्रो गर्न सकेन, असन्तुष्टिहरू भए या राजनीतिक रूपले संकट आए, यस्तो काम कमसेकम यो विद्रोह गरेर आएको पार्टीले बुझेर अगाडि बढ्नुपर्छ नत्र हाम्रो पाटी विभाजन हुनसक्छ । पार्टीको दशौं महाधिवेशनको म्याण्डेट विपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा असन्तुष्टि जनाइरहेका छन् । उनीहरू एमालेमा जानसक्ने सम्भावना बढेर गएको छ ।
एमालेसँग पार्टी एकीकरण नभए यी नेताहरु चाँडै एमालेमा प्रवेश गर्ने बुझिएको छ । उनीहरुले विद्रोह गर्ने बुझेर नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गर्ने परम्परा अन्त्य गर्नुपर्ने बताइरहेका छन् । अध्यक्ष नेपालले देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिएपनि पार्टी विभाजन हुने चर्चा देशभरी पुगेको छ । केही दिन अघि एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री ढिलो चाँडो एमाले प्रवेश गर्ने दाबी गरेका थिए ।
उनले एकीकृत समाजवादीमा पनि झाँक्रीलाई कुनै सम्मान नरहेको र कम्फर्टेबल पनि फिल नगरेकाले ढिलो चाँडो एमालेमै फर्किने दाबी गर्दै ‘म आजपनि भन्छु कि रामकुमारीको लागि उपयुक्त पार्टी एमाले हो । कहिले कहीँ हाम्रो गफ हुन्छ, चिया कफी खान्छौं । दाजु भन्नुहुन्छ, म बहिनी भन्छु । आउनुहुन्छ होला ढिलोचाँडो किन भने समाजवादीमा पनि उहाँलाई सम्मान भइराखेको छैन । उहाँलाई त्यहाँ मैले कम्फर्टेबल फिल मैले गरेको छैन, भट्टराईले भनेका थिए ।
समाजवादीका ति नेताले भने, ‘दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने थियो दुर्भाग्यवश के भइदियो भने महाधिवेशनबाटै सबै संरचना तयार गर्नुपर्थ्यो, त्यही नै म्याण्डेट थियो । भोलि निर्वाचन आयोगले पनि प्रश्न उठाउँदै छ कि जे गर्ने हो त्यो त महाधिवेशनको हलले गर्ने हो । हलबाट मनोनीत गर्ने सर्वसम्मतीले ३ जना, त्यसपछि ९३ जनालाई मनोनीत गरियो र ती मनोनीत गरिएकाले सबै पदाधिकारी उसले छान्ने यो चाहिँ विधानमा पनि नभएको कुरा पर्याे । यो व्यावहारिक पनि थिएन । ठूलो त्रुटि भएको हो, पार्टी जोगाउन माधव नेपाललाई गाह्रो छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार