दशैंपछि हराउँछ गाउँको रौनक
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार ८:२७:५२
५ कात्तिक, गलेश्वर (म्याग्दी) । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरूसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् ।
दसैं मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरूसँगै गाउँको रौनक फेरी हराएको छ । दसैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरू साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।
उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए । पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन् । श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो । उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन् ।
मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन् ।
अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए । “केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन”, उनले भने, “दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो ।”
म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ । गाउँमा मानिसहरु खासै छैनन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, “दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन । दसैं सकिएसँगै गाउँ खाली भयो । अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ । बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन् ।”
गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताए । गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाईँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ ।
एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए । अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ ।
सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन् । तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाहरुको रुची छैन । युवाहरु अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, युएई पुगेका छन् । बचेका युवाहरु सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताए ।
नौ वर्ष जापान बसेर गाउँ फर्किएका थापा अहिले गाउँमै व्यवसाय गरेर बसेका छन् । उनीसहित १२ जना युवाहरु मात्रै हाल गाउँमा छन् । ती मध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन् । गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाहरुको सङ्ख्या दुईसय भन्दा बढी छ । महिला र बालबालिकाहरु छन् । “गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन् । मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्”, ७४ वर्षिय टेकबहादुर कार्कीले भने ।
विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।
पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशत छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ । जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा ‘माइनस’ शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।
जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला १८ सय पाँच रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार