कांग्रेस र एमालेको मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश, आजै मन्त्रिपरिषद बैठक बस्दै
कुसुम सेञ्चुरी
कात्तिक ५, २०८१ सोमबार १२:२:६
५ कात्तिक, काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चासँगै राजनीति बजार तातिएको छ । नेकपा एकीकृत समाजवादीलाई लक्षित गरेर सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चाले राजनीतिक बजारमा सरगर्मी बढेको हो ।
हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटघाटपछि अध्यादेश आउने हल्ला बढी चुलिएको छ । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पक्राउ पछि यसको चर्चा व्यापक रुपमा बढेको हो । रास्वपाको एउटा समूहले पनि पार्टी विभाजन गर्ने हल्ला गरिएको छ । यद्यपि यसको विषयमा रास्वपाका सभापति पक्राउ परेपछि सामसुम भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट भएर सोमबार नियमित रुपमा बस्ने मन्त्रिपरिषद बैठकले यो विषयमा निर्णय गर्नसक्ने बताइएको छ । स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने पक्राउपछिको अवस्थालाई ध्यान दिएर दल विभाजन सम्बन्धी अध्यादेश ल्याइने छ । त्यसकै लागि सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रिपरिषद बैठक साँझ ५ः१५ मा सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएपनि मन्त्रीहरूलाई यो समाचार तयार पार्दासम्म कुनै सूचना पुगेको छैन । बैठकमा नियमित कार्यसूची बाहेक दल विभाजन सम्बन्धी अध्यादेशसमेत एजेण्डा रहनसक्ने स्रोतले दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ (३) मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले बनाएको छुट्टै नयाँ दल निर्वाचन आयोगबाट मान्यता पाएको मितिबाट पाँच वर्षसम्म विभाजन हुन नसक्ने व्यवस्था छ । केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले नयाँ दल गठन गर्न सक्ने कानुनी व्यवस्थालाई २०७८ भदौ २ मा अध्यादेशमार्फत संशोधन गरिएको थियो । त्यतिबेला ल्याइएको अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्यबाटै नयाँ दल खोल्न पाउने प्रावधान राखिएको थियो । अहिले भने यी दुवै विषयलाई संशोधन गरेर अध्यादेश ल्याउन लागिएको हो । ‘आज मन्त्रिपरिषदको बैठक बस्न सक्ने भन्दै संकेत गरिएको छ तर एसएमएस वा सूचना भने आएको छैन, बैठक नियमित नै हो आकस्मिक भने होइन’, एक मन्त्रीले भने ।
नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालका नेताहरूले पनि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको भन्दै आज प्रधानमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् । एकीकृत समाजवादीका एक नेताका अनुसार, प्रधानमन्त्री ओली राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारीमा छन् । एसबाट नयाँ पार्टी बनाउने अभियानमा सक्रिय रहेका नेता र सांसदलाई समेट्ने गरी दल विभाजनको अध्यादेश ल्याउन लागिएको स्रोतको दावी छ । नेकपा एसका नेताहरु एमालेमा प्रवेश गर्नका लागि खुट्टा उचालेर बसेको र ती नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित सम्पर्कमा रहेको पनि स्रोतले जनाएको छ । नेकपा एसका सांसदहरू किसान श्रेष्ठ, प्रेमबहादुर आले, अम्मर थापालगायतले पार्टी विभाजन गरी एमालेमा एकीकरण गर्ने तयारी गरिरहेको स्रोतको दावी छ । रामकुमारी झाँक्री लगायतका नेताहरु पनि एमालेमा प्रवेश विन्दु खोजेर बसिरहेको स्रोतको दावी छ ।
केही दिनदेखि रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने तथा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने कि नल्याउने भन्ने बारेमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच तीब्र विवाद भएपनि अहिले कुरा मिलिसकेको बताइएको छ । एमाले रवि लामिछाने पक्राउको विपक्षमा थियो भने कांग्रेस कुनै हालतमा पक्राउ गर्नुपर्ने पक्षमा थियो । त्यस्तै एमाले दल विभाजन सम्बन्धी अध्यादेशको पक्षमा थियो भने कांग्रेस विपक्षमा । यही विषयले सरकार ढल्नेसम्मको अवस्थामा पुगेको बताइएको थियो । कांग्रेसले लामिछानेलाई कुनैपनि हालतमा पक्राउ गर्नुपर्ने दबाब प्रधानमन्त्री ओलीलाई दिएको थियो । विशेषतः कांग्रेस महामन्त्री गगन थापाको विशेष जोड यसमा थियो । सो जोडमा परराष्ट्रमन्त्री डा आरजु राणाको पनि साथ थियो । भुटानी शरणार्थी काण्ड र टीकापुर जग्गाकाण्डमा आफूलाई लामिछानेले पक्राउ गर्न खोजेको राणालाई तुष रहेको छ । लामिछाने पक्राउ नपरे आफ्नो राजनीतिक जीवन नै धरापमा पर्ने डर गगन थापालाई थियो ।
आफ्नो समूहका नेता शेखर कोइराला वर्तमान सरकार हटाउने खेलमा लिप्त भइरहँदा पछिल्लो समय महामन्त्री थापा भने सभापति देउवाको निकट रहेर लामिछानेलाई पक्राउ गर्न दवाव दिइरहेका थिए । त्यस्तै एमाले नेताहरूलाई पनि लामिछाने पक्राउ गरे आफू सरकार ढाल्न शेखरको पछि नलागी वर्तमान सरकारकै निरन्तरताको पक्षमा लाग्ने लोभ गगनले देखाइरहेका थिए । अर्कोतर्फ एमालेलाई पनि कुनै हालतमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु थियो । विशेषतः माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एस)लाई कुनै हालतमा फुटाउने प्रधानमन्त्री ओलीको चाहना थियो । त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेको अशोक राई नेतृत्वको जसपालाई समेत वैधानिकता दिनु थियो । ‘जसपा नेपाल’ बाट विभाजित ‘जसपा’ का सात र एकीकृत समाजवादीबाट विभाजित पाँच गरी १२ सांसद एमालेमा थपेर ओली सबैभन्दा ठुलो दल एमालेलाई बनाउने योजनामा छन् । जसमा कांग्रेस सभापति देउवाले ग्रीन सिग्नल दिन आनाकानी गरिरहेका थिए । अन्ततः शुक्रबार दुई दलबीच गिभ एण्ड टेकमा सहमति भएको एमाले उच्च स्रोत बताउँछ ।
कांग्रेसले भने अनुरूप लामिछाने पक्राउ गर्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तयार भए । त्यस्तै एमालेले भने अनुरूप अध्यादेश ल्याउन कांग्रेस सभापति देउवा तयार भएका छन् । लामिछाने पक्राउपछिको आन्दोलनको माहोल हेरेर अध्यादेश सम्बन्धी निर्णय गर्न प्रधानमन्त्री ओली र सभापति देउवा तयार भएका छन् । आन्दोलनले उग्र रुप लिए अध्यादेश केहिदिन ढिलो ल्याउने तर आन्दोलन सामान्य भए अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दल विभाजनको अध्यादेश ल्याउने शीर्ष तहमै समझदारी बनेको छ ।
पछिल्ला दिनमा नयाँ सत्ता समीकरणका लागि गहन छलफल सुरु भइसकेका थिए । शुक्रबार दुई दलको यो सहमतिसँगै तत्काललाई सरकार ढल्ने सम्भावना पछाडि धकेलिएको छ । सत्तारूढ दलभित्रको विवादपछि सत्ता यात्राको आशामा रहेको माओवादी केन्द्र रोकिएको छ । कांग्रेस र एमाले मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश भएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार