रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार ११:४७:४६
७ कात्तिक, काठमाडौं । पोखरामा कमजोर प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले पार्टी सभापति रवि लामिछाने बुधबार छुट्ने बताएर कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएका छन् । अझ प्रदर्शनमा कार्यकर्ताहरूको उपस्थिति पातलो हुन थालेपछि नेताहरु घरदैलो अभियानका नाममा सहकारी पीडितलाई धम्क्याउँदै हिँड्न थालेका छन् । तर प्रहरीले भने उनी माथिको अनुसन्धानलाई थप फराकिलो बनाउँदै भैरहवा लैजाने तयारी गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गत सोमबार नै रुपन्देही लगि सकिएको थियो । उनको दुई दिन लगाएर १३ घण्टा बयान लिइएको छ । बयानमा जोशीले सहकारीको रकम जीबी राई र रवि लामिछाने कै डिजाइनमा गोर्खा मिडियामा ल्याइएको तथा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनलाई बुधबार कास्की ल्याइँदै छ ।
असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन रुपन्देही लगिएको हो । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपन्देही लगिने भएको छ ।
सूर्यदर्शनसहित विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको हुँदा ती सबै सहकारी रहेका जिल्लाहरूमा छवि र रवि दुबैलाई लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । रुपन्देहीसँगै उनीहरुलाई वीरगञ्ज, चितवन, काठमाडौं समेत ल्याइने छ । वीरगञ्जको सानो पाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन् । संसदको सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो ।
यसक्रममा सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी (बन्जाडे) सँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले दुई दिन लगाएर १३ घण्टा लामो बयान लिएको छ । गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन । जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन । सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको १४ करोड मध्ये साढे २ करोड जोशीको नाममा गएको यसअघि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
गोर्खा मिडियामार्फत सुप्रिम सहकारीको रकम अपचलनमा जोशीको संलग्नताका सम्बन्धमा थप अनुसन्धानका लागि बयान लिन उनलाई भैरहवा ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । मंगलबार बिहान ११ बजेदेखि सुरु भएको जोशीको बयान साँझ ६.३० बजेतिर सकिएको थियो । स्रोतका अनुसार जोशीले कास्कीमा दिएको बयानसँग मिल्दोजुल्दो गरी बयान दिएका थिए र बारम्बार आफूलाई फसाइएको उल्लेख गरेका थिए । यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो ।
सर्वसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदीय छानबिन समितिको सिफारिसमा पूर्व डीआईजी जोशी गत असोज ६ गते पक्राउ परेका हुन । कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी जोशीलाई सोमबार हवाइमार्गबाट रुपन्देही ल्याइएको थियो। सोमबार र मंगलबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे ।
बुटवल मुख्य कार्यालय रहेको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङसहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै इप्रका बुटवलमा उजुरी दिएका थिए । त्यसपछि अनुसन्धान थालिएको थियो । अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ । त्यसमध्ये गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड बढी रकम सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
त्यसमध्ये साढे २ करोड रुपैयाँ गोर्खा नेटवर्कका उपाध्यक्ष रहेका जोशीका नाममा गएको प्रतिवेदनमा उल्लेख छ । सोही मुद्दामा थप अनुसन्धान अगाडि बढाउन जोशीलाई मंगलबार रुपन्देही सरकारी वकिलको कार्यालयमा बयान गराइएको हो । थप अनुसन्धान पछि बल्ल जोशी विरुद्ध पूरक अभियोग दर्ता गर्ने वा नगर्ने भन्ने टुंगो लाग्ने अनुसन्धान अधिकृतहरू बताउँछन् । तत्कालीन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको नाममा सुप्रिमबाट २ करोड गएको यसअघिको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार