एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार १०:१२:४
९ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको तीन वर्षमै विभाजनको अन्तिम संघारमा पुगेको छ । महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरूले अर्को दल निर्माणको कसरत गरिरहेका छन् । अहिले असन्तुष्ट नेताहरूबीच पार्टी विभाजनको प्रकृयाबारे छलफल चलिरहेको छ् । एमाले पार्टी विभाजन भएको यही भदौदेखि तीन वर्ष पुगेको छ । कानुन अनुसार अझै दुई वर्ष नयाँ दल खोल्न पाइने छैन । तर सरकारले अध्यादेश ल्याएर यो विषय हटाइ दिएमा नयाँ दल खोल्ने बाटो खुल्नेछ ।
गएको असारमा महाधिवेशन सम्पन्न गरेको समाजवादीले चुनाव गरेरै भदौको दोस्रो साता पदाधिकारी र पोलिटब्युरो चयन गरेपछि त्यहाँ रहेका असन्तुष्ट समूहले पार्टी विभाजनको कोसिस गरेका हुन् । महाधिवेशनले पार्टीलाई सुदृढीकरण गर्नुको सट्टा फुटको सँघारमा पुर्याइपछि अहिले पार्टी अध्यक्ष माधवकुमार नेपाल तनावमा परेका छन् ।
डा. विजय पौडेल, रामकुमार झाँक्री, रामचन्द्र झा, अम्मरबहादुर थापा, ललितबहादुर बस्नेत, उर्वादत्त पन्त, जीवनराम श्रेष्ठ, डा.वंशीधर मिश्र, लक्ष्मण केसी लगायतका पदाधिकारीमा पराजित नेता असन्तुष्ट बनेका थिए । उनीहरूले नतिजामा जालझेल भएको आरोप लगाउँदै सच्याउन नेतृत्वको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि नयाँ दल खोल्ने तयारीमा लागेका हुन् । यी मध्येमा केसी भने माधव नेपालसँग रहने बताइएको छ । उनी एक्लै पार्टी छाडेर एमालेमा प्रवेश गर्ने संभावना पनि रहेको छ । एमालेका केन्द्रीय सदस्य विष्णु रिजालसँग निकट सम्बन्ध रहेका केसीलाई रिजालले माया गर्ने गरेका छन् ।
अन्य नेताहरु पार्टी विभाजन गरेर सांसदसहित एमालेमा पार्टी मर्ज गराउने पक्षमा रहेको स्रोतको दावी छ । एमालेमा मिसिने उद्देश्यले थालिएको सो अभियान नयाँ पार्टी गठनको अन्तिम चरणमा पुगिसकेको छ । उनीहरूले एक सयभन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर समेत संकलन गरिसकेका छन् । यसको अध्यक्ष सांसद अम्बरबहादुर थापा हुने तय भएको छ । त्यसमा किसान श्रेष्ठ र प्रेम आलेले सहयोग गर्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेताहरूलाई उचित निकास दिनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन खोजिरहेका छन् । किनकि अहिले राजनीतिक दल सम्बन्धी ऐनका केही दफा निष्क्रिय छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ मा एमाले र जनता समाजवादी पार्टी विभाजन गर्न अध्यादेश ल्याएका थिए । दुईवटै पार्टी विभाजन भएपछि सरकारले अध्यादेश फिर्ता लियो । तर, अध्यादेशका कारण निष्क्रिय भएका प्रावधान जगाउने वा प्रतिस्थापन गर्ने प्रक्रिया अगाडि बढाइएको छैन ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत सदस्य आवश्यक पर्ने व्यवस्था छ । ऐनमा यो व्यवस्था राजनीतिक दल पटकपटक नफुटुन् र राजनीतिक स्थायित्व कायम होस् भन्ने उद्देश्यका साथ राखिएको हो । तर सत्ता पक्षबाट आफ्नो स्वार्थ पूरा गर्न पटकपटक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर यो ऐनको धज्जी उडाउने काम भइरहेको छ । वर्तमान सरकार पनि अध्यादेश ल्याएर फेरि यो ऐनमाथि प्रहार गर्न लागिपरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले दल विभाजनका लागि सहज हुने गरी ऐनका केही व्यवस्था संशोधनसहित २०७८ भदौ २ मा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश ल्याएको थियो । दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्यको समर्थन भए पुग्ने व्यवस्था राखिएको उक्त अध्यादेश तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको थियो ।
उक्त अध्यादेश जारी भएपछि एमालेबाट माधव नेपाल समूह र जनता समाजवादी (जसपा) नेपालबाट महन्थ ठाकुर समूह अलग भएर दुई नयाँ दल बनेका थिए । नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) र ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएलगत्तै तत्कालीन सरकारले उक्त अध्यादेश खारेज गर्न असोज ११ राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । एमाले र जसपा नेपाललाई फुटाउन सजिलो हुने गरी तत्कालीन सरकारले राजनीतिक दल विभाजनसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ ल्याएको थियो । त्यसअघि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था संशोधन गरी अध्यादेश ल्याएको थियो ।
दल फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०/४० प्रतिशत सदस्य संख्या आवश्यक पर्ने ऐनको व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने व्यवस्था राखिएको थियो । त्यसको चर्को आलोचना भएपछि ओली नेतृत्वको सरकारले अध्यादेश फिर्ता गर्न तत्कालीन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
अहिले यही कारण एकीकृत समाजवादी छोडेर नयाँ पार्टी गठन गरिहाल्न उनीहरूले पाएका छैनन् । कांग्रेस–एमाले गठबन्धन सरकार एकीकृत समाजवादीका असन्तुष्ट नेताको चाहना अनुसारको व्यवस्था राखिदिएर अध्यादेश ल्याउने तयारीमा छ । संसदको अधिवेशन चालु अवस्थामा नभएको बेला सरकारले अध्यादेश ल्याउन सक्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको तयारी पनि गरे । गएको कात्तिक ४ गते सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतसँग छलफल गरेर सहमति पनि लिए । तर कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गम्भीर असहमति प्रकट गरेपछि देउवा र ओली पछि हटेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र देखिएको संकट टार्न दौडधूप तीव्र पारिरहेका छन् । उनी अहिले पार्टी विभाजन रोक्न सबै शक्ति लगाइरहेका छन् । पार्टीका प्रभावशाली पदाधिकारी र असन्तुष्ट नेता फकाइरहेका छन् । सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल र महासचिव घनश्याम भूषालले प्रयास गरेपनि पार्टी विभाजन हुनबाट नरोकिने असन्तुष्ट नेताहरूले जनाएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार