युवतीको तस्करीमा भाडाका चिनियाँ बेहुला !
कुसुम सेञ्चुरी
कात्तिक १२, २०८१ सोमबार १८:४४:५४
१२ कात्तिक, काठमाडौं । विभिन्न प्रलोभनमा पारेर नेपालबाट चीनतर्फ मानव तस्करी बढिरहेको छ । आकर्षक रोजगारी, चिनियाँ नागरिकसँग विवाह, सुख सयल आदिको बहानामा नेपालबाट चीनमा पछिल्लो समय मानव तस्करी बढिरहेको घटनाक्रमहरूले देखाएका छन् ।
नेपाली र चिनियाँ दलालहरूले दुई देशमा आफ्नो सञ्जाल फैलाएर संगठित रूपमा पैसाको लेनदेन गराई मानव तस्करी गर्ने गरेका छन् । तस्करले नेपालीलाई चीनमा बेचबिखन गरेपछि चिनियाँले बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिने, श्रम शोषण, यौन शोषण गर्ने, वेश्यावृत्ति र जोखिमपूर्ण कार्यमा लगाउने गरेका घटना समेत बाहिरिएका छन् ।
केही दिन अघि विवाह मण्डपबाटै प्रहरीले ८ जनालाई पक्राउ गर्यो । यो घटना सुनसरीको हो, प्रहरीका अनुसार एक १६ वर्षीया बालिकालाई चिनियाँ नागरिकसँग जबरजस्ती विवाह गराइदिएको आरोपमा मण्डपबाटै ८ जना पक्राउ परेका थिए ।
सुनसरी प्रहरीका अनुसार धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा उद्धार गरिएको छ ।
प्रहरीले तीन जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका– १२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनी माया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
२० वर्ष उमेर नपुगी विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबर्जस्ती विवाह गराएमा विवाह बदर गरी कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ मा यस्तो व्यवस्था गरिएको छ । किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
कोभिड–१९ महामारीपछि आर्थिक दबावका बीच चिनियाँ पुरुषका लागि पत्नी बन्न वा वेश्यावृत्तिमा काम गर्न लाओसबाट चीनतर्फ महिलाको तस्करी बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
अध्ययन भन्छन्, महामारीले धेरै लाओ समुदायहरूमा आर्थिक कठिनाइ ल्याएको छ, जसले लाओ महिला र केटीहरूको चीनमा बेचबिखन बढेको छ । सुखी तथा विलासी जीवनशैलीको लोप देखाएर चीनमा धेरै महिलाहरू सिधै वेश्यावृत्तिमा बेचिन्छन् ।
धेरै महिलाहरूलाई स्थानीय गेस्टहाउस, होटल, मसाज पार्लर, नाइट क्लब र बारहरूमा वेश्यावृत्तिको रूपमा काम गर्न पठाइने गरेको पाइन्छ । गत महिना रिपोर्ट गरिएको भर्खरको घटनामा पनि लाओमा त्यहाँको महिला संघको सहयोगमा मानव बेचबिखनको सिकार भएका दुई युवतीहरूलाई सफलतापूर्वक उद्धार गरिएको थियो ।
यता नेपालमा विवाह मडण्पबाट ८ जना पक्राउ पर्नु पनि मानव तस्करकै जालोको रुप भएको बताइएको छ । अनेकौं लोप देखाएर नेपाली बालिकालाई फकाई विवाहको नाटक गरि तस्करी नै गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
वर्षौंदेखि चीनले भियतनाम, म्यानमार र कम्बोडियालगायत धेरै गरीब एसियाली देशहरूबाट महिलालाई विवाहको प्रलोभनमा पारी तस्करी गरिन्छ । जहाँ महिलाहरूलाई चीनमा रोजगारी दिने प्रलोभनमा पारिन्छ । अनेकौं वाचा गरिन्छ तर त्यसपछि विवाहको नाटक गरेर वेश्यालयमा बेचिन्छ । यस्तो देखिन्छ कि पाकिस्तानमा सजिलो पहुँचले नयाँ तस्करीको हटस्पट सिर्जना गरेको हुन सक्छ । पछिल्लो समय चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परी कैयौं नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेका छन् ।
चीनमा नेपाली युवतीको तस्करीका लागि भाडाका बेहुला प्रयोग हुने गरेको छानबिनमा खुलेको छ । नेपाली युवतीसँग बिहे गरेका युवक चीन पुगेपछि बेपत्ता हुने गरेको बताइएको छ । चिनियाँ युवालाई आर्थिक प्रलोभनमा पारी नेपाल ल्याउने र बिहे गराएर चीन पुर्याई अन्य गतिविधिमा लगाउने गरिएको छ ।
यसरी चीनमा विवाहको नाटक गर्ने अधिकांश घटनामा भाडाका बेहुला नै प्रयोग हुने गरेका छन् । विगतमा बिहे गरेर चीन पुर्याइएका युवतीलाई युवककै घरमा राखी यौन र श्रम शोषण हुन्थ्यो । पछिल्लो समय बच्चा जन्माउनका लागि मात्र लैजान थालिएको नयाँ तथ्य पनि सामुन्ने आएको छ । नेपाल मात्र नभई पाकिस्तान, म्यानमार, बंगलादेश, वर्मा र भुटानबाट पनि नक्कली बिहे गरी युवतीहरूलाई चीन पुर्याइने गरिएको छ ।
चीनमा नेपाली महिलाको तस्करी भइरहँदा अदालतमा समेत सहजै विवाह दर्ता हुने गरेको खुलेको छ । अदालतले सहजै विवाद दर्ता गरिदिएका कारण गिरोहलाई युवतीको तस्करी गर्न सहज भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । चीनमा नेपालबाहेक अन्य छिमेकी मुलुकबाट समेत बिहे गरेर ल्याउने गरिएको र कतिपयलाई प्रलोभनमा पारेर विवाह गर्ने प्रवृत्ति देखिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार