लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार १२:३८:१३
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छुटाउन भित्र भित्रै हारगुहार थालिएको छ । नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण, संगठित अपराध तथा सहकारी ठगीमा अनुसन्धानका लागि दोस्रोपटक म्याद लिएपछि रास्वपाले सरकारी अधिकारीहरूसँग हारगुहार गर्न थालेका छन् । सोमबार साँझ मात्रै रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेर लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्ने वातावरणमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
उपसभापति अर्यालले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन् । गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय बालाजु चःमतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रास्वपाले सडकमा प्रदर्शन गरिराखेको छ । रास्वपाले आन्दोलनको कमाण्डर अर्याल र राजनीतिक रुपमा वार्ता गर्ने जिम्मा स्वर्णिम वाग्लेलाई दिएको छ ।
पछिल्लो पटक वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट पनि गोर्खा मिडिया नेटवर्क प्रालिमा साढे ८ करोड रुपैयाँ लगेर अपचलन गरेको पाइएको थियो । सानो पाइलाबाट गैरकानुनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । ०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम ०७८ वैशाख ५ देखि ०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने ०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा लगानी गरिएको थियो । सोही सहकारीबाट ऋण लिएको विषयमा निकिता पौडेल लामिछाने पनि मुछिएकी छन् । निकिता रवि लामिछानेकी श्रीमती हुन् । उनी अहिले पोखरामा रहेकी छिन् । सत्य साई सहकारीमा पनि निकिता पौडेल मुछिएकी छिन् । प्रहरीले यतिबेला पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारीको पैसा अपचलन बारे अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरीले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेलाई पक्राउ गरी सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । कास्कीको सूर्यदर्शन सहकारीका पीडितले दिएको जाहेरी र संसदीय विशेष छानबिन समितिको सिफारिश कार्यान्वयन गर्ने क्रममा प्रहरीले रवि र छवि दुवैलाई पक्राउ गरेको हो ।
पाँच वटा सहकारीबाट गोरखा मिडियामा लगिएको ६५ करोड ५४ लाख रुपैयाँ अपचलनमा रवि र छविमाथि प्रहरीले बयान लिइरहेको छ । रवि र छविले जीबीमाथि दोष थुपारिरहेका छन् । प्रहरीले जीबी राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । त्यतिमात्रै होइन, कास्की र रूपन्देही प्रहरीको आग्रहमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले राईविरुद्ध गत माघ १३ मा डिफ्यूजन र फागुन २१ मा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार