सहकारी ठगी र राजनीतिक खिचातानीबीच तिहार गरीबको झुपडीसम्म पुग्दैछ
भेषराज पोखरेल
कात्तिक १३, २०८१ मंगलबार १३:१०:४०
१३ कात्तिक, काठमाडौं । तिहार नेपालीको मौलिक चाड हो । यसलाई नेपालका सबै जातजाति तथा वर्गले अत्यन्तै महत्वका साथ मनाउँछन् । के धनी, के गरीब सबैका घरमा तिहार समान रुपमा आउँछ । यो वर्ष भने ठूलो जनसंख्याको हिस्सा सहकारी ठगीबाट पीडित बन्न गएको छ । भलो होला, केही भए पनि लाभ होला भनेर सहकारीमा पैसा जम्मा गरेका निम्न र मध्यम वर्गका जनता डरलाग्दो गरी ठगिएको यसै वर्ष थाहा पाए ।
सरकारले ठगिएका सहकारीबाट पैसा फिर्ता गर्ला भन्ने आशामा पनि दलहरूबीच चलेको खिचातानी र बेइमानीका कारण तुषारापात हुने अवस्था आएको छ । रकम अपचलनमा संलग्न नेता पनि कार्यकर्ता प्रदर्शनमा उतारेर निर्दोष सावित गर्न सकिन्छ कि भनेर प्रयास गर्दैछन् भने सरकार सञ्चालकले पनि सबै समस्या समाधान होइन केहीलाई कारबाहीको दायरामा ल्याएर चर्चामा आउन चाहेको त होइन भन्ने लाग्दैछ ।
यही अन्यमनस्क अवस्थामा पनि जनता तिहार मनाउने तरखर गर्दैछन् । राष्ट्रबैंकको तथ्याङ्कमा महँगी बढेकै छैन तर दैनिक उपभोग्य वस्तुको बजार भाउ भने धेरै माथि पुगेको छ । यो अवस्थामा सरकार सञ्चालकहरूले सबै अवस्था सामान्य नै देख्नेछन् । सबैतिर भएका यस्ता दे्वध अवस्था व्यहोर्दै दुखिया जनता तिहार मनाउन हतारो गर्दैछन् । हुन त दुःखमा पनि हाँस्ने, रमाउने नेपालीको स्वभाव हो ।
नेपालको जस्तै धार्मिक तथा सामाजिक रीतिरिवाज भएको भारतका धेरै क्षेत्रमा तिहारको औंसीका दिन लक्ष्मीपूजा गर्छन्, दीपावली मनाउँछन् । कतिपय क्षेत्रमा बहिनीबाट दाजुभाइले टीका लगाएको पनि पाइन्छ । उनीहरुले समग्र रुपमा यमपञ्चक मनाउने गर्दैनन् । नेपालमा भने समग्र यमपञ्चकका रुपमा मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट यमपञ्चक सुरु हुन्छ । त्रयोदशीका दिन कागको पूजा गरिन्छ भने चतुर्दशीका दिन यमराजलाई दीपदान गरिन्छ र कुकुरको पूजा गरिन्छ । काग र कुकुर दुवैलाई यमराजका दूत मानिन्छ । त्रयोदशीका दिनलाई भारतमा धनतेसरका रुपमा मनाउने गर्छन् ।
नेपालमा यसको चलन चल्न थालेको छ । यस दिन धातुका भाँडाहरु, सिक्काहरु किनेर राख्ने चलन छ । त्रयोदशीमा आयुर्वेदका देवता धन्वन्तरीको जयन्ती पनि मनाइन्छ । चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । त्यसै दिन मृत्युका देवता यमराजलाई दीपदान गरिन्छ । औंसीका दिन बिहान गाईको पूजा गरिन्छ भने साँझ लक्ष्मीको पूजा गर्ने प्रावधान छ ।
यस दिन साँझ लक्ष्मीको नाममा दीपावली पनि गरिन्छ । प्रतिपदाका दिन गोरुको पूजा गर्ने, गोवर्द्धन पर्वत बनाएर पूजा गरिन्छ । श्रीकृष्णले इन्द्रको पूजाको प्रचलनका ठाउँमा गोवर्द्धनको पर्वतको पूजा गर्ने प्रचन चलाएको पुराणहरुमा उल्लेख छ । त्यसैको अनुसरण गर्दै पूजा गरिने हो । द्वितीयाका दिन यमराज र उनकी बहिनी यमुनाको पूजा गरिन्छ । दीप, कलश र गणेश स्थापना गरेर पूजा गर्ने शास्त्रीय प्रावधान छ ।
यस दिन यस्तो विधानसहित दिदीबहिनीको हातबाट टीका, फूल, माला लगाउँदा पुण्य प्राप्त हुन्छ भन्ने भविष्य पुराणमा उल्लेख छ । दाजुभाइले दिदीबहिनीका हातबाट टीक लगाएपछि दिदीबहिनीहरुलाई पनि टीका लगाइदिएर दक्षिणा तथा अन्य उपहार दिनु आवश्यक हुन्छ । यस कार्यलाई नितान्त धार्मिक र सद्भावका रुपमा मनाउनु आवश्यक छ, कत्ति पनि आडम्बर आउन दिनु हुँदैन । आडम्बरले धार्मिक, आध्यात्मिकतामा बाधा पार्छ ।
नेपालमा बाहेक भारतदेखि अन्य देशमा तिहार अर्थात् यमपञ्चक नमनाउने भएकाले यसलाई पुराणोक्त कार्य नभएर लौकिक चलनको कार्य मात्रै हो कि भन्ने धेरैलाई लागेको देखिन्छ । त्यसो होइन नेपालमा मनाउने तिहारका बारेमा भविष्य पुराणमा स्पष्ट उल्लेख छ । यसले नेपाली समाजको धार्मिक तथा आध्यात्मिक उच्चतालाई पनि देखाउँछ ।
मृत्यु अवश्यम्भावी छ, तसर्थ मृत्युबाट डराउनु आवश्यक छैन । बरु सहज र सरल मृत्युका लागि र अकाल मृत्यु नहोस् भन्नका लागि मृत्युका देवता यमराजको पूजा गरिनु उन्मुक्तता अर्थात् मुक्ति वा निर्वाणको यात्रातिरको कार्य हो । भैलो किन खेलिन्छ होला ? भैलो यमोत्सव हो अर्थात् यमराजलाई खुसी बनाउने उन्मुक्त उत्सव हो । भैलोमा भट्याउने गीत, गाथाले पनि स्पष्ट गरेकै हुन्छन् । उन्मुक्त उत्सवले समाजलाई मानसिक रुपमा पनि आनन्दित र स्वस्थ बनाउँछ । यो आधुनिक विज्ञानको मान्यता पनि त हो नि ।
नेपालका धनी र मध्यम वर्गले सरलसँग चाड मनाए पनि विपन्न वर्गलाई चाडपर्व मनाउन सजिलो छैन । यहाँको भूबनोट र सरकार दलाली र कमिसनखोर प्रवृत्तिका कारण जनताको ठूलो तप्काले विपन्नतामा रुमल्लिनु परिरहेको छ । यो वर्गका लागि तिहार मान्न कठिन छ तर दाजुभाइ, दिदीबहिनीबीचको अगाध माया र सद्भावका कारण धेरै पहिलेदेखि तिहारलाई भनेर थोरै थोरै पैसा जम्मा गरेर राख्ने गरेको देखिन्छ । काम गर्नैपर्ने अति व्यस्त अवस्थामा पनि दिदीबहिनी तथा दाजुभाइको दोडादौड अति चित्ताकर्षक हुन्छ । नेपाली समाज यति बढी संयमित, सद्भावपूर्ण र ममतामय भए पनि नेपालका सत्तासञ्चालक दलका नेता, सत्ता वरिपरि रहेका दलका नेताहरु भने अति असहिष्णु, छलछाम, दलाली, कमिसन तथा भ्रष्टाचारमा रोमल्लिइरहेका छन् । माओवादीका अध्यक्ष र उनका शक्तिका घेरामा रहने नेताहरुले जनवाद, समाजवादका कुरा गरिरहन्छन् तर उनीहरु सत्तामा भएका बेला त्यही दलाली र कमिसन, तस्करी र भ्रष्टाचारलाई बढाइरहे । सत्ता बाहिर हुँदा पनि ती कुरा छाड्ने कुरा भएन ।
एमालेका अध्यक्ष केपी ओलीले पनि जनताको बहुदलीय जनवाद तथा समाजवाद भनिरहन्छन् । उनको शक्तिको घेरामा रहने नेताहरुले पनि त्यसै भन्छन् । हामी त कम्युनिष्ट, हामी त परिवर्तनकारी भनिरहेका हुन्छन् तर काम उही दलालीकरण, कमिसन, तस्करी, उही भ्रष्टाचारको सिरानी बनाइरहेका छन् । कांग्रेसले पनि प्रजातान्त्रिक समाजवादको मेखला भिरेकै छ तर काम भने उही सबै दलका नेताले जस्तै हो । अझ सन् २०३० सम्म नेपाल मध्यम आय भएको देशमा उक्लने कुरा हुन्छ । २०२६ बाट यसको सुरुवात रे । आमनेपाली जनतालाई ठूलो महत्वाकांक्षा चाहिएको छैन । काम गरेर साँझ, बिहान सजिलोसँग सादा भोजन, सादा परिधान र सामान्य जाडो, घाम, पानी छेक्ने बास चाहिएको छ ।
उनीहरुका छोराछोरीले विभेदरहित शिक्षा लिन पाऊन् भन्ने छ भने आफूहरु बिरामी पर्दा सरकारी चिकित्सालयमा सरल रुपमा उपचार होस् भन्ने चाहन्छन् । यही हो समाजवाद, यही हो देश आत्मनिर्भरको अवस्था । अहिलेको अवस्थामा नेताहरुले आफूलाई दलाली, कमिसन, तस्करी र भ्रष्टाचारबाट अलग गरेर इमान्दारिता साथ काम गर्ने हो भने जनताका यी चाहना पूरा गर्न कुनै अप्ठ्यारो छैन । तिहारले सबैलाई सद्बुद्धि देओस्, शुभकामना ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै
कात्तिक १२, २०८१ सोमबार
विकृत राजनीतिको चक्रवातः सहकारीबाट जनताको रकम कसले फिर्ता गरिदिने होला ?
कात्तिक १०, २०८१ शनिबार
‘भगवान’ बचाउन भक्तहरुको कात्तिके मेला
कात्तिक ८, २०८१ बिहिबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार
ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त
कात्तिक १३, २०८१ मंगलबार