प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार १२:३०:१९
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने तयारी गरिरहेका बेला ‘पोखरा क्षत्रीय विमानस्थलको करिब २६ अर्ब ऋणलाई अनुदानमा परिणत गर्न लागिएको छ । सम्झौता भएको तर कार्यान्वयनमा नगएको बेल्ट एन्ड रोड (बीआरआई) अन्तर्गत नै पोखरा विमानस्थलमा लगानी गरेको दावी चीनले एकतर्फी रुपमा गर्दै आएको छ । जबकी पोखरा विमानस्थल निर्माण सम्झौताका बेला बीआरआई सम्बन्धी कुनै पनि सम्झौता नेपाल र चीन बीच भएको थिएन ।
प्रधानमन्त्री ओलीले आगामी मंसिरमा चीन भ्रमण गर्ने तयारी गर्दै गर्दा नेपाली पक्षले पोखरा विमानस्थलको करिब २६ अर्ब ऋणलाई अनुदानमा परिणत गर्ने प्रयास थालिएको हो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले समेत आन्तरिक रुपमा काम थालेको छ । ‘पोखरा विमानस्थलको करिब २६ अर्ब ऋण अनुदानमा परिणत हुने सम्भावना रहेको र नेपाल सरकारले यसअघि नै सो ऋणलाई अनुदानमा परिणत गर्न औपचारिक आग्रह गरिसकेको छ’, प्रधानमन्त्री कार्यालय उच्च स्रोतले भन्यो ।
प्रधानमन्त्रीमा नियुक्त भएको साढे तीन महिनासम्म ओलीले औपचारिक विदेश भ्रमण गरेका छैनन् । गत महिना अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएका प्रधानमन्त्री ओलीले औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्ने चर्चा केही समय अगाडि चलेको पनि थियो । तर भारतबाट औपचारिक निमन्त्रणा नआएका कारण त्यो सम्भव हुन सकेको छैन । त्यसैले अहिले प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तयारीमा लागेका हुन् । प्रधानमन्त्री निकट र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओलीको चीन भ्रमणका लागि राजनीतिक रुपमा दुवै तर्फबाट आन्तरिक तयारी तीव्र पारिएको छ । ओलीको चीन भ्रमणका लागि प्रधानमन्त्रीको सचिवालय र पार्टीले गृहकार्य तीव्र पारेका छन् ।
सकेसम्म प्रधानमन्त्रीको भ्रमण यही मंसिर महिनाको १७ गतेदेखि २० गते गर्ने गरी दुवै पक्षबाट तयारी थालिएको दाबी छ । चिनियाँ कम्युनिस्ट पार्टी पनि नेपालका प्रधानमन्त्रीको भ्रमण तत्काल गराउन तयार देखिएको छ । चिनियाँ पक्षबाट भ्रमणको निम्ता आइसकेको समेत एमाले उच्च स्रोतले जनाएको छ । भ्रमणको तयारी निश्चित भएपछि परराष्ट्रमन्त्री आरजु राणा चीन जानेछिन् । परराष्ट्रमन्त्रीले चीनसँग गरिने वार्ता र छलफलका एजेन्डा तयार पार्ने बताइएको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसँगै पनि जाने तयारी छ ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका गएका बेला चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए । त्यसबेला नै भ्रमणका बारेमा कुरा भएको बताइएको छ । तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक पुष्टि भने गरेको छैन । त्यसो त प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतको पनि भ्रमण गर्ने मनस्थिति बनाएका थिए ।
यसैगरी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्ता समेत दिएकी थिइन । तर अहिलेसम्म भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सकेको छैन भने नेपालका प्रधानमन्त्रीलाई भारतबाट भ्रमणको औपचारिक निमन्त्रणा समेत आएको छैन ।
नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले गरेका केही निर्णयलाई बहाना बनाएर भारतले दुबै पक्षको भ्रमणमा अलमल गरिरहेको छ । भारतले नेपालले २०७२ सालमा संविधान जारी गर्दा आफ्नो सुझाव नमानेको वा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको जस्ता विषय उठाएका कारण भारत सरकार र ओली बीचको दुई पक्षीय सम्बन्धमा चिसोपना देखिएको छ । यसैगरी पछिल्लो सत्तारुढ गठबन्धन निर्माणकै बेलामा पनि भारतले गम्भीर चासो राखेको थियो ।
पछिल्लो पटक चीन–भारत सम्बन्धमा थप सुधारको संकेत लगत्तै परराष्ट्रमन्त्री डा. राणाबाट ‘निम्तो पाए चीन भ्रमणमा जाने’ इच्छा प्रकट भइसकेको छ । रुसको कजान शहरमा गत हप्ता भएको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनअघि चीन–भारतबीच सीमामा हुने गस्तीलाई सन् २०२० को गलवान भिडन्तभन्दा अघि जस्तै सामान्य अवस्थामा फर्काउने समझदारी भएको थियो ।
स्रोतका भनाइमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८ मिलियन चिनियाँ युआन) ऋणलाई अनुदानमा परिणत गर्ने विषयमा चीन सकारात्मक देखिएसँगै बीआरआई फ्रेमवर्क सम्झौता अघि बढाउने सम्बन्धमा थप प्रगतिको सम्भावना देखिएको हो । ‘फ्रेमबर्क बनेपछि अनुदानको कुरा हुनेछ, नेपाल सरकारले यसलाई अनुदानमा परिणत गर्ने प्रयास गर्नेछ’, स्रोतले भन्यो । असोज पहिलो हप्ताको चीन भ्रमणका क्रममा ऋणलाई अनुदानमा परिणत गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चिनियाँ पक्षलाई अनुरोध पत्र समेत हस्तान्तरण गरेका थिए ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्व्यवहारको जोखिममा
कात्तिक १४, २०८१ बुधबार
कृषिमन्त्रीको अपीलः किसानलाई हौसला दिन चाडमा स्वदेशी उत्पादनको प्रयोग गरौँ
कात्तिक १४, २०८१ बुधबार
दक्षिण अफ्रिकाका रबाडा टेस्टको बलिङ वरियतामा शीर्ष स्थानमा
कात्तिक १४, २०८१ बुधबार
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला हुने
कात्तिक १४, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार