दुई दलीय कार्यदलः सत्तासँग समानान्तर शक्तिको अभ्यास
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १६:३०:१७
२२ कात्तिक, काठमाडौं । विपक्षीको कुनै शक्तिले पनि डगमगाउन नसक्ने सरकार चलिरहेकै अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई बलियो बनाउन भन्दै उच्चस्तरको छुट्टै संयन्त्र बनाएका छन् । दुई दलीय कार्यदल नाम दिइएको यो संयन्त्रले सरकारलाई सुझाव मात्र दिने हैन, प्रभावित पनि बनाउन सक्ने आशंका राजनीतिक बृतमा उठ्न थालेका छन् । यसको गठन उदेश्य भने सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सहजीकरण गर्नु र नागरिकमा आश जगाउनु रहेको छ ।
यो सरकार केन्द्रमा मात्र छैन, प्रदेशमा पनि छ । यसैले प्रदेश सरकार पनि संयन्त्रको निर्देशन अनुसार चल्नुपर्ने हुन्छ । सरकारलाई असहज हुने कुनै पनि गतिविधि संयन्त्रले नगर्ने सर्तछ । राज्यका नियम, कानुनअन्तर्गत हुने काममा दक्खल दिन नपाइने भनिएको छ । सरकारका आफ्ना उद्देश्यमा संयन्त्र हावी हुनेछैन । केवल सरकारका कामलाई कसरी सफल पार्ने भन्नेमा सहयोग र सहजीकरण गर्ने काम मात्र संयन्त्रबाट हुन्छ भनिएको छ । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने राजनीतिक मिसनअन्तर्गत सरकार आफै अगाडी बढ्ने हो भने किन चाहियो यो संयन्त्र ? ।
संविधानमा नभएको संयन्त्र बनाएर फरक खालको शक्ति अभ्यास गर्ने र प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने नियतले संयन्त्र बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा सफल भएको चर्चा बजारमा छ । यसअघि प्रधानमन्त्री भएका समयमा संयन्त्र बनाउन नचाहने ओली पनि यो पटक सहमत देखिए । तत्कालीन नेकपाका सहअध्यक्ष पुष्पकमल दाहालले संयन्त्रको प्रस्ताव गर्दा सरकारको नेतृत्वमा रहेका ओलीले अस्वीकार गरेका थिए । पार्टी पदाधिकारी र मन्त्रीहरू संलग्न रहेको दुईदलीय संयन्त्रको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गर्ने सहमति छ ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य बसेका छन् एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । सरकारले सय दिन पार गर्दासम्म जनताले कुनै नयाँ अनुभव गर्न नपाएको र यसैको आलोचना भइरहेका बेला संयन्त्र बनाइएको छ । अहिलेको गठबन्धन सरकारले प्रभावकारी कार्य सञ्चालन गर्न नसक्नुको एउटा कारण गठबन्धनमा रहेका दलहरूबीच संस्थागत सम्बन्ध नहुनु भएकाले यसलाई मिलाउन यो संयन्त्र बनाइएको सत्ता पक्षका नेताको बुझाइ छ ।
यसको अर्को अर्थ सरकार सही ढंगले काम गर्न नसकेको भनेर दुई दलबीच आशंका हटाउन संयन्त्र बनाइएको हो । कांग्रेस र एमाले एक ठाउँमा आइसकेपछि सुधारका जोखिमहरू उठाउनुपर्नेछ, त्यसका निम्ति कस्तो जोखिम कसरी उठाउने भन्ने खाका तयार गर्नुपर्छ भन्नका लागि संयन्त्र बनाइएको भए संयन्त्रको नेतृत्वमा ओली र देउवा नै रहेका छ । अहिलेको सत्ता उनीहरुकै हातमा छ । एकथरी नेताहरु गत असार १७ मा भएको सातबुँदे सहमति कार्यान्वयन गर्न र सरकारका कामकारबाहीमा आउन सक्ने अप्ठ्यारा फुकाउनका लागि संयन्त्र बनाइएको धारणा राख्छन् । सरकार र पार्टीमा देउवा र ओलीकै हैकम छ ।
संयन्त्रमा पनि उनीहरुकै हैकम चल्छ । संयन्त्रको मुख्य कार्यादेश सातबुँदे सहमतिका विषय भएको बताइएको छ । सातबुँदे सहमतिमा सरकारको नेतृत्व आलोपालो गर्ने विषयका अतिरिक्त संविधान संशोधन, अर्थतन्त्रको सुधार र सुशासन मुख्य मुद्दा हुन् । संविधान संशोधनलाई मुख्य केन्द्रमा राखेर दुई दलले गठबन्धन बनाए पनि साढे चार महिना बित्दा पनि संविधान संशोधनका विषयमा सरकार प्रवेश गरेको छैन । राजनीतिक दलहरूले यसलाई छलफलमा ल्याएका छैनन् । यसरी हेर्दा सरकारका कामकारबाहीमा दुई नेता मात्र बसेर काम गर्ने, संयन्त्रमा पनि यही हुने तर, पार्टीमा छलफल नगर्ने परिस्थिति कायमै रहने देखिन्छ । यसले त एउटा नेता सत्ताभित्र र एउटा नेता सत्ताबाहिर बसेर शक्ति देखाउने काम मात्र गर्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार