दैनिक १० घण्टा बन्दको कारण देखाएर हवाई कम्पनीले दोब्बर बढाए भाडा, सरकार भन्छ केही गर्न सकिन्न
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार ११:१:६
२३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आजदेखि दैनिक १० घण्टा बन्द गरेर विस्तारको काम गरिदैं छ । यो बन्दको फाइदा उठाएर हवाई कम्पनीहरूले बाह्य देखि आन्तरिकसम्मको भाडा दोब्बरले बढाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द हुनेछ । योसँगै सबै जहाजको उठान तालिका कटौती भएको छ ।
३० प्रतिशत उडानमा कटौती हुँदा भाडा दर बढेको सरकारी अधिकारीहरू बताउँछन् । २१ घण्टा चलिरहेको विमानस्थल १४ घण्टामा झारिएपछि यसले उडानमा ३० प्रतिशत कटौती भएको हो । यसै अनुसार हवाई कम्पनीहरूले पनि भाडा बढाएका छन् । यसअघि काठमाडौं-दिल्ली बढीमा १५ हजारसम्म थियो भने अहिले ४५ हजारसम्म पुर्याइएको छ । सरकारी अधिकारीको भनाइमा नेपालको द्विपक्षीय हवाई सम्झौता खुला बजार र स्वतन्त्र भाडा दर अवधारणामा आधारित भएकाले सकारले चाहेर पनि यो भाडा घटाउन सक्दैन । अहिले माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण भइरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकार र नियमनकारी निकायले भाडा दरमा हस्तक्षेप गर्न कानुनी आधार छैन, त्यसैले अहिले बढाइएको भाडा दर घटाउन सकिने अवस्था छैन । यही आधारलाई टेकेर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेपछि सबैभन्दा बढी मार नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमा परेको छ । अहिले पनि दैनिक १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै विदेसिने गरेका छन् । धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् ।
करिब १५ अर्ब खर्च गरी विमानस्थल विस्तार गरिँदैछ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । विमानस्थलको धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सी वे पनि बनाउन लागिएको छ । यसले गर्दा नेपालीको रोजगारीका प्रमुख गन्तव्यहरू सबैको हवाई भाडामा अत्यधिक बृद्धि भएको छ ।
दुबईको भाडा बढेर ८० हजार पुगेको छ । जब कि यसअघि कामदारले दुबईका लागि ३० देखि ३५ हजार मात्र तिरे पुग्थ्यो । साउदी अरबका रियाद र दमामका लागि एकतर्फी भाडा ४० देखि ४५ हजार रहेकोमा बढेर ८० हजारभन्दा माथि पुगेको छ । त्यस्तै नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको क्वालालम्पुरको एकतर्फी भाडा ३५ हजार मात्र रहेकोमा त्यो बढेर भाडा औसतमा ६५ हजार पुगेको छ । कुवेतको भाडा ४५ हजार रहेकोमा १ लाख नाघेको छ । त्यस्तै दोहाको भाडा ३५–४० हजार रहेकोमा त्यो बढेर ८० हजार बढी छ ।
विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय तर्फ करिब ३० प्रतिशत उडान कटौती भएका छन् । विमानस्थल भएर आन्तरिक तर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रिय तर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । त्रिभुवन विमानस्थलमा दैनिक आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रिय तर्फ करिब एक सय उडान हुने गरेका छन् । आन्तरिक भाडा दरका विषयमा भने छलफल भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार