सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
भेषराज पोखरेल
कात्तिक २४, २०८१ शनिबार ६:०:२७
सय दिन बिताउँदा सम्म आमजनताले महसुस गर्ने गरी खासै काम गर्न नसकेको ओली नेतृत्वको गठबन्धन सरकारलाई गतिशील बनाउन दुई दलीय संयन्त्र बनाइएको छ ।अहिलेसम्मका गठबन्धनले बनाएका संन्त्रहरुले काम गरेको देखिन्न । अघिल्लो पटक तत्कालीन नेकपाको सरकार हाँकेका केपी ओलीले यस्तो संयन्त्र बनाउन चासो देखाएका थिएनन् ।
अहिले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवा संयोजक रहेको संयन्त्रमा दुवै दलका चार चार जना नेताहरु सदस्य रहेका छन् । यस्तो संयन्त्र प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने बताइएको छ । सत्ता सञ्चालन संयन्त्र बनाएर अघि बढ्नु नराम्रो हो त भन्न सकिन्न तर आफ्नै प्रक्रिया भएको सरकारी संयन्त्रलाई थोरै पनि हस्तक्षेप गर्यो भने यसले सकारात्मक प्रभावभन्दा नकारात्मक प्रभाव पर्ने निश्चित छ ।
यो संयन्त्रले सरकार सञ्चालनलाई सक्रिय र गतिशील बनाउँछ भनिएको छ तर अहिलेसम्मको अभ्यासले के देखाइरहेको छ भने राज्य सञ्चालनका कुनै पनि गम्भीर तथा महत्वपूर्ण विषयको निर्णय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै गर्ने गरेका छन् । यस्तो अवस्थामा उनै दुई नेताको नेतृत्वमा बनेको संयन्त्रले के विशेष निर्णय गर्ने होला ? प्रश्न उठ्ने नै भयो । अझ दुवै दलका वरिष्ठ मानिने नेताहरु सदस्य रहँदा उनीहरुले राष्ट्रिय समस्याभन्दा व्यक्तिगत इगोलाई मुख्य विषयका रुपमा छलफल र लबिङ गर्ने खतरा पनि बढी नै छ ।
सरकार सञ्चालनमा सय दिन बितिसक्दा पनि जनताले सम्झन लायक कुनै पनि काम भएको छैन । उल्लेख्य काम किन भएन ? कांग्रेस, एमाले दुवै दलले बनाएको राज्यसंयन्त्र छँदै छ, त्यसमा प्रधानमन्त्री र मन्त्रीहरूको स्वभाव र व्यवहार पनि त्यसभन्दा माथि हुन नसक्नु नै हो । यी दुवै दल अझ भनौँ शीर्ष नेता र उनीहरुका शक्तिका घेरामा रहने नेताहरूले नै तयार गरेको कर्मचारी संयन्त्र चलाउन सक्ने अवस्था छैन । पहिले बनाउने अहिले फोर्ने काम सजिलो छैन । यो संयन्त्रको माथिल्लो हिस्सा सरकारी तलब खाएर यिनै नेताको हितमा काम गर्छ । सबै दलालीका कामहरु यही संयन्त्रबाट अगाडि बढ्छ । अब राज्यसञ्चालन संयन्त्रले कस्तो निर्णय देला र कर्मचारी संयन्त्र परिवर्तनकारी बन्न सक्ला ? यता सोच्नु पनि कमजोरी हुनेछ ।
राष्ट्रका गौरवका आयोजना तथा अन्य ठूला साना आयोजना समयमा सक्न, गुणस्तरीय बनाउन वृहत् छलफल गरेर अगाडि बढाउन प्रयास गर्ला कि यो संयन्त्रले ? आशा गर्न त सकिएला तर साकार हन कठिन छ । यिनको भित्री अन्तर्य नै अर्कै छ । प्रधानमन्त्री केपी ओली पनि आफूलाई विकासवादी नेता मान्ने भएकाले केही हुन्छ कि भन्नु कमजोरी नहोला तर ती समग्र ठूला आयोजनाका मुख्य ठेकेदारको नजिकी, हिमचिम कहाँ छ ? त्यसलाई बुझे हो भने सबै कुरा छर्लंग हुन्छ । माथापच्ची गर्नै पर्दैन । यही अवस्था कांग्रेसको उच्च नेतृत्व र शक्तिको घेराको पनि छ ।
यस्ता कुरामा सुधार ल्याएर राज्यसंयन्त्र नीतिगत र स्वाभाविक बाटोमा ल्याउन यो दुई दलीय संयन्त्र सफल हुने अवस्था अत्यन्तै झिनो छ, कमजोर छ । यो एउटा पक्ष भयो । अर्को, शिक्षा, स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न पनि राजनीतिक क्षेत्र नै सबैभन्दा पहिले सुधारिन अति जरुरी छ । सरकारले तयार गरेका योजना कार्यान्वयन गर्न पनि आन्तरिक समस्या नै बाधक बनिरहेको छ । यसलाई हटाउन यो संयन्त्र लाग्न आवश्यक छ । यसका लागि नेताहरूमा हिम्मतको अति जरुरी हुन्छ ।
यो दुई दलीय संयन्त्रमा कांग्रेसका गगन थापासहित अन्य नेताहरु तथा एमालेका पनि शंकर पोखरेलसहित अन्य प्रभावशाली नेताहरु समेटिएका छन् । यी नेताहरूले शीर्ष नेताको वरिपरि घुम्ने प्रवृत्तिलाई नै निरन्तरता देलान् कि राष्ट्रका जल्दाबल्दा समस्या पहिचान र कार्यान्वयनमा सरलता बनाउन सल्लाह देलान् ? यिनीहरुको ठूलो परीक्षको घडी सुरु हुँदैछ । अर्को, यिनीहरुले आफ्ना एजेण्डा पूरा गराउन छलफल गराउनतिर लाग्लान् कि समग्र राष्ट्रिय समस्या समाधान गराउन कृतसंकल्पित बन्लान् ? यसले पनि सरकार कस्तो रुपमा अघि बढ्छ भन्ने कुरा स्पष्ट हुनेछ । आफ्ना व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई पछाडि राखेर हर समय राष्ट्रिय समस्यामा चिन्तन, छलफल गरेर सरकारलाई सुझाव र कार्यान्वयनमा विशेष सहयोग गरे भने नहुने केही छैन । देशको मुहार फेरिनेछ ।
यो दलीय संयन्त्रले सरकारी संयन्त्रलाई वास्ता नगरी अगाडि बढ्ने खतरा पनि छ । अर्को, दुवै दलका शीर्ष र प्रभावशाली नेता संलग्न भएकाले कुनै कुरामा सहमतिमा ल्याउन ठूलो माथापच्ची गरेर समय काट्ने खतरा पनि त्यत्तिकै छ । यसले सरकारका संयन्त्रबाटै स्वाभाविक रुपमा चल्ने सबै कुरालाई दलीय भागबन्डामा चलाउने दुस्प्रयास गर्न सक्ने अवस्था पनि त्यत्तिकै छ । यसले सरकारलाई अगाडि बढ्न सहज वातावरण बनाउनुको सट्टा झन् जटिल र दुरूह बनाउने अवस्था सिर्जना गर्नेछ ।
आमजनताले यी सबै कुरालाई नजिकबाट हेरिरहेका छन् । यो दलीय संयन्त्र कमजोर भयो या यस्तै बखेडा झिकेर समस्यालाई अल्झाइरह्यो भने उनीहरुको आक्रोश बढ्दै जानेछ । उनीहरुले सानातिना विद्रोहबाट नेताहरूलाई विभिन्न रुपमा तारो बनाउनेछन् । नेता, मन्त्रीहरूलाई आफ्नो क्षेत्रमा छिर्न नदिने, सानातिना प्रहार गर्न खोज्ने अवस्था आउनेछ । निर्वाचनमा यी दलका ठूला तथा प्रभावशाली नेताहरुलाई जसरी पनि राजनीतिबाट पाखा लगाउने घोषित वा अघोषित योजना नै बनाउने अवस्था आउनेछ । उनीहरुले स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलका स्थानीय नेताहरूलाई अगाडि ल्याउनेछन् । यसले राजनीतिलाई थप अस्थिर बनाउने निश्चित छ ।
देशलाई गतिशील बनाउने हो भने सरकारी संयन्त्रलाई नियमसंगत रुपमा सक्रिय बनाउन ढिला गर्नुहुन्न । योजना आयोगदेखि अन्य सबै संयन्त्रलाई प्रधानमन्त्री, मन्त्रीको नियन्त्रणमा नभएर स्वाभाविक रुपमा चल्न दिनुपर्छ । अख्तियार, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, लगानी बोर्डदेखि अनेकौं संयन्त्रलाई स्वाभाविक रुपमा चल्न दिनु आवश्यक छ । त्यसपछि नेताहरूले आफ्नो इगो छाडी राष्ट्रिय समस्यामा गम्भीर भएर छलफल तथा कार्यान्वयनमा सरकारलाई सहयोग गर्नुपर्छ । दलाली तथा भागबण्डालाई छाडेर सक्षमलाई अगाडि सार्दै न्यायसंगत रुपमा सरकारी संयन्त्रलाई चल्न दिए गठबन्धनको यो कार्यकार साँच्चै ऐतिहासिक बन्न जानेछ । होइन भने कांग्रेस, एमाले र तिनका नेताहरूले राजनीति गर्ने धरातल नै डरलाग्दो गरी खस्कने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनुन र मुटु रोगको सम्बन्ध
माघ १४, २०८१ सोमबार
लुम्बिनीको भाग्य रेखा : गौतम बुद्ध विमानस्थल
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार