प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १४:२७:६
२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी गरिरहेका समयमा अमेरिका र भारतका उच्च सैनिक अधिकारीहरू नेपाल भ्रमणमा निस्किएका छन् । अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड यतिबेला नेपालमै छन भने आगामी मंसिर ५ गते भारतीय थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउँदैछन् ।
यी दुई देशका उच्च सैनिक अधिकारीको नेपाल भ्रमणलाई लिएर नेपाली राजनीतिमा विभिन्न शंका उपशंकाहरु उब्जिन थालेका छन् । दुई दिन अघि मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेनाका जनरल रडको नेपाल भ्रमण अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने उद्देश्यले भएका आशंका गरेका थिए । उनले विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै अब सम्झौता गर्न सक्ने बताएका छन् ।
यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीन भ्रमणको तयारी गरिरहेका छन् । परराष्ट्रका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७ देखि २१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका छन् । प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका गए पनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
हालै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको सम्बन्धले दक्षिण एशियाको भूराजनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएका बेला यी दुई देशका उच्च सैनिक अधिकारीको नेपाल भ्रमणले नेपालमा राजनीतिक चासो बढेको हो । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला चीनसँग पाइपलाइनमा रहेको बीआरआई सम्झौता अगाडि बढाइने विषयलाई अहिले भारत र अमेरिकाले नजिकबाट नियालीरहेका छन् । भारत र अमेरिका नेपालले चीनसँग बीआरआई सम्झौता नगरोस् भन्ने पक्षमा छन् । बीआरआई नेपाललाई मात्र लक्षित गरी बनाइएको परियोजना नभएको उनीहरुको तर्क छ ।
यो चिनियाँ परियोजनामा मुख्य छिमेकी मुलुकको हैसियतमा के कस्ता सम्भावना र चुनौती देखिएका छन् र नेपाल सरकार र चिनियाँ सरकारले नेपालको सन्दर्भ बीआरआईलाई कसरी लिएका छन् भन्ने कुरामा भारत र अमेरिकाको चासो छ । चीनका २० वटा मुलुक नेपाल जस्तै गरी सीमाना जोडिएका छिमेकी मुलुक छन् । आर्थिक र सामरिक हिसाबले ठूलो महत्व राख्ने र सुरक्षाका दृष्टिले समेत अत्यन्त चुनौतीपूर्ण हुने भारतको ठहर छ । भारतको यो कुरा अमेरिकाले पनि स्वीकारी सकेको छ । अमेरिकाले पनि बीआरआई सम्झौता होस भन्ने चाहेको छैन ।
एसिएन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक र सिल्करोड फन्डको सहभागितामा आर्थिक परिचालन गर्ने गरी अगाडि बढाइने यो परियोजनामा सबै छिमेकी मुलुकहरूको सहभागिता हुने कुरामा भारत र अमेरिकाले चासो दिएका छन् । उनीहरुले गरेको यो आशंकामाथि नेपालका प्रतिपक्षी दलका नेताको चासो देखिएको छ । यसैले माओवादीका अध्यक्ष प्रचण्डले एसपीपीको कुरा उठाएका हुन् ।
नेपाल-भारत शान्ति सुरक्षा लगायतका विषयमा छलफल गर्न भारतीय थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल आउन लागेका हुन् । नोभेम्बर २० देखि २५ सम्म उनले नेपाल भ्रमण गर्ने भएका हुन् । यस्तै भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृत मोहनप्रसाद पनि मंसिर ३० मा नेपाल आउने कार्यक्रम तय भएको छ । अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल रड अहिले नेपालमै छन् । उनी अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर हुन् । अमेरिकी दूतावासले दिएको जानकारी अनुसार जर्नेल रड एक सेमिनारमा सहभागी हुन आएका हुन् ।
जर्नेल रडले नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटघाट गरिरहेका छन् । अमेरिकी जनरलको नेपाल भ्रमणलाई लिएर प्रश्न उठेपछि रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको स्पष्टीकरण दिएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर सोधेकी थिइन् । जवाफ दिँदै राईले एक जना रथी नेपाल भ्रमणमा आएको अन्य दलबलसहित नआएको बताएका थिए ।
खासमा ओलीको चीन भ्रमणलाई लिएर अमेरिका र भारतले नेपालमा आफ्ना सुरक्षा अधिकारीहरू पठाएको विपक्षी दलको बुझाइ छ । चीन भ्रमणका क्रममा बीआरआई परियोजनाका विषयमा छलफल हुने भनिएको छ । ओली यही उद्देश्य लिएर चीन भ्रमणमा जान लागेको पनि बताइएको छ । बीआरआई परियोजनामा चाँडै सहमति गर्नुपर्ने नेकपा माओवादीको पनि चाहना छ । कांग्रेस ऋण नभइ अनुदानका रुपमा बीआरआईमा सहमति हुनुपर्ने पक्षमा छ । तर, छिमेकी भारत र अमेरिका भने यो परियोजनाको विपक्षमा छन् । यसैले उनीहरुले माहोल बुझ्न सुरक्षा अधिकारीहरू नेपाल पठाएको हुन सक्ने आशंका गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार