मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १२:३३:२६
२९ कात्तिक, काठमाडौं । नेपाली सेनाले मंसिर पहिलो सातादेखि चैत अन्तिम सातासम्म देशभरका युनिटहरूमा आलोपालो गरेर सामूहिक तालिम सुरुवात गर्ने गरेको छ । हरेक वर्ष यस्तो तालिमहरू हुने गर्छन् । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले ‘सामूहिक तालिम अवधारणा तथा कार्ययोजना–२०७८’ नै तयार पारेर तालिम शुरुवात गरेका थिए भने त्यस अघिका प्रधानसेनापतिले कुनै नाम नदिएपछि ६ महिना यस्तै तालिमहरू गराउने र त्यसमा हतियार चलाउन तालिम दिने गरिन्थ्याे ।
सेनाले यस्तो तालिम विभिन्न कारणले ब्यारेकमा बस्न बाध्य सैनिक जवानदेखि अधिकृतसम्मलाई फिल्डमा सक्रिय बनाउनु पर्ने भन्दै दिन थालेको धेरै वर्ष भयो । यस्तै सेनाका युनिटहरूको बन्दोबस्तीदेखि हातहतियार तथा गोला बारुदको अवस्था ‘अप टु डेट’ गर्नु पर्ने अवस्थाका कारण पनि यस्ता तालिमहरू दिने गरिन्छ ।
अहिलेको तालिममा तीन वर्ष अघि दक्षिण कोरियामा निर्मित 'के टू' सिरिजका राइफलको फायरिङ गरिन्छ । तीन वर्ष अघि नगरकोटमा सयौं राउन्ड फायरिङपछि हतियारका विषयमा ‘फिडब्याक’ लेख्ने गरिएकाे थियाे । त्यो भनेको हतियार चलाउन कत्तिको सहज छ कि छैन भन्ने हो । तीन वर्ष अघि नगरकोटमा भएको परीक्षण फायरिङमा केटु सिरिजका हतियारमा समस्या देखिएको ‘फिडब्याक’ नोट लेखिएको थियो । हतियारको बगमा समस्या, ब्यारेलमा समस्या, ब्यारेल तात्ने, ककिङ ह्यान्डल भाँच्चिने र लगातार फायरिङपछि मिस फायरिङ जस्ता समस्या आएको थियो ।
तर अहिले फेरि सेना यही हतियार किन्ने तयारीमा लागेकाे छ । सुरक्षा परिषदले नेपाली सेनालाई हतियार खरिद गर्ने निर्णय गरिसकेको र त्यसको लागि नेपाली सेनाले तयारी गरिरहेको हाे । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा ल्याइएको केटु सिरिजमा समस्या आएको थाहा पाउँदा र सबै जसो युनिटले समस्या रहको फिडब्याक दिएको हतियार पुनः खरिद गर्न लागिएको हो । ‘केटु सिरिज, केही थान एम्बुलेन्स र संयुक्त राष्ट्र संघका लागि एपीसी किन्ने तयारी हुँदैछ’, नेपाली सेनाका एक उच्च अधिकारीले भने । उनका अनुसार केटु सिरिज ल्याउनुमा ठूलो कमिशनको खेल रहेको छ ।
सेनाले यसअघि कोरियन कम्पनी डेउ प्रिसिजन इन्डस्ट्रिजबाट डेढ अर्ब बराबरको हतियार खरिद गरेको थियो । सेनाले कोरियाबाट ९ सय डलरका दरले ३० हजार थान 'केटूसी वन असल्ट' राइफल खरिद गरेको थियो । अहिले त्यसको दर रेट बढाइएको छ। हतियार खरिदका लागि रक्षा मन्त्री मानवीर राईले सहमति दिइसकेका छन् । दशैंको एक दिन अघि मन्त्री निवास पुगेका सेनाका केही अधिकारीहरूले हतियार खरिदको व्रिफिङ गरेको र त्यसमा अन्य विषयहरू समेत जोडेर कुराकानी गरेको स्रोतले जनाएको छ ।
लामो समयदेखि नेपाली सेनाले टेस्टेट हतियारमात्र चलनमा ल्याउने अभ्यास पूर्णचन्द्र थापाको पालामा तोडिएको थियो । उनले उत्पादनको अध्ययन र परीक्षण नै नगरी नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीका सहोदर भाई लोकेन्द्र कार्कीको सेटिङमा हतियार खरिद गरेका थिए । सेनाले कोरियाबाट खरिद गरेको उक्त हतियार फिल्ड परीक्षणका क्रममा ब्यारेल तात्ने, ककिङ हयाण्डल भाँच्चिने र नपड्किने समस्या देखिए पनि त्यो विषयमा केही अनुसन्धान भएको छैन । ‘त्यतिबेला अनफिड रहेको हतियार किन ल्याउन लागिएको हो भन्ने बारेमा सेनाले केही बताएको छैन’, रक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।
त्यतिबेला प्रधानसेनापति रहेका थापा र नीति तथा योजना निर्देशनालयमा निर्देशक सहायक रथी सुरेन्द्र रावल, महाशाखा प्रमुख तत्कालीन महासेनानी नहकुल रायमाझीले त्यो हतियार ल्याउन पहल गरेका थिए ।‘अहिले सेनालाई हतियार आवश्यक छ, यसका लागि कार्यदल बनेर गृहकार्य गरिरहेको छ’, स्रोतले भन्यो ।
त्यतिबेला बनेको एउटा कार्यदलले त्यही हतियार सिफारिस गरेको थियो । रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयले करिब एक अर्ब ७० करोड रुपैयाँ हतियार खरिदका लागि निकासा दिइएको थियो । त्यसपछि नीति तथा योजना निर्देशनालयमार्फत सेनाले प्रयोग गर्दै आएको अमेरिकामा निर्मित एम–१६ राइफल खरिद प्रक्रिया अघि बढाइयो । यो हतियार खरिद प्रक्रिया जीटुजीमार्फत थियो । यसमा कुनै एजेन्ट र बिचौलिया कम्पनी राख्न अमेरिका तयार थिएन, जसका कारण हतियार खरिदमा पहिलेदेखि मुख मिठ्याएर बसेको तत्कालीन सैनिक नेतृत्व, सेनापति थापाकाे टीम, थापाकै नातेदार र एजेन्ट लोकेन्द्र कार्कीले नयाँ योजना बनाएका त्यो हतियार ल्याएको बताइन्छ ।
सेनाभित्र नीति तथा योजना निर्देशनालयको निर्णयअनुसार खरिद प्रक्रिया अघि बढ्ने गर्छ । सैनिक स्राेतका अनुसार तर, त्यहाँ आफूले भने अनुसार गर्न सहायक रथी रावल तयार थिएनन् । तर पनि तत्कालीन प्रधानसेनापति थापाले एकदिन सहायक रथी रावललाई एकभारी कागजपत्र थमाए । ती कागजपत्र सिंगापुरमा रहेको हतियार बिचौलिया कम्पनीका पम्प्लेटहरू मात्र थिए । सेनामा प्रधानसेनापतिको निर्देशन अकाट्य हुन्छ । सहायक रथी रावलले (जसलाई आफू अनुकूल नगरेको रिसमा थापाले अन्यायपूर्ण तरिकाले कारबाही गरेर बर्खास्त गरे) ती पम्प्लेट, पर्चा र कागजपत्र महाशाखा प्रमुख महासेनानी रायमाझीलाई दिए । उनले ‘ती कागजपत्र हेर्नु र कार्यदलले भने अनुसार भएमात्र अघि बढाउनु’ भने, साे स्रोतले भन्याे ।
त्यति बेलासम्म सेनाको ठूलो समूह अमेरिकाबाटै एम–१६ राइफल ल्याउनुपर्ने मान्यतामा अडिग थियो । तर, त्यहीबीच सहायक रथी रावल काम विशेषले अमेरिका उडे । यता ‘गेम चेन्ज’ भयो । तत्कालीन प्रधानसेनापति थापाको ठाडो निर्देशनअनुसार उनै लोकेन्द्र कार्कीको कम्पनी मार्फत दक्षिण कोरिया सरकारको एजेन्सी फर डिफेन्स डेभलपमेन्ट मातहत रहेर हतियार तथा गोलीगठ्ठा उत्पादन गर्ने डेउ प्रिसिजन इन्डस्ट्रिजबाट सरकारले जीटूजी अनुसार करीब १ अर्ब ७० करोड बराबरको हतियार खरिद गर्यो । त्यसबेला के टू सिरिजको सबैभन्दा पछिल्लो केटूसी वन असल्ट राइफल खरिद गरिएको भन्दै उनै थापाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलाई प्रचार गराउन समेत लगाए । अमेरिकासँग एम–१६ राइफलको खरिद प्रक्रियामै रहेका बेला त्यसलाई रोकेर २२ असार २०७६ मा दक्षिण कोरिया सरकारसँग हतियार खरिद सम्झौता भएको थियो ।
उच्च सैनिक अधिकारीका अनुसार दक्षिण कोरियासँग हतियार खरिद र ती हतियारका लागि आवश्यक गोली उत्पादन गर्ने उद्योग स्थापनाका लागि समेत सम्झौता भएको छ । ती अधिकारीका अनुसार सुन्दरीजलमा केटूका लागि फाइभ प्वाइन्ट फाइभ सिक्स र सेभेन प्वाइन्ट सिक्स टू एमएमको गोली उत्पादन हुनेछ । दक्षिण कोरियाले करीब साढे चार अर्बमा दुवै एमएमका गोली उत्पादनसहितका उपकरण जडानका लागि सहमति जनाएको हो । जसमा ठूलो कमिसनको खेल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार तत्कालीन प्रधानसेनापति थापाका साला राजन रायमाझीमार्फत हतियार खरिदमा आएको कमिशन व्यवस्थापन भएको थियो । एजेन्ट कार्कीले अवकाशप्राप्त प्रधानसेनापति थापाको सल्लाहअनुसार रायमाझीलाई भित्री रुपमा साझेदार बनाएका थिए ।
अहिलेका प्रधानसेनापति अशोकराज सिग्देलले पनि अहिले आफ्ना साथीहरू लोकेन्द्र कार्की मार्फत दीपक कुँवर र यादव कुँवरलाई साझेदारी बनाएर हतियार ल्याउन लागेकाे स्रोतले जनाएकाे छ । भावी नाता जोडन लागेका उनीहरू अहिले प्रधानसेनापतिका सल्लाहकारका रुपमा देखिन थालेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार