दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १५:२१:१५
३० कात्तिक, काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गरेका थिए, भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मंसिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुने जनाइएको छ ।
उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरोको थियो ।
यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ । यस आश्रमले स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी 'बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानवहरू' हालसम्म १० हजार सात सय ६४ जनाको उद्धार गरिसकेको छ । तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ । त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ ।
मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एक हजार नौ सय छ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ भने हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको र यसले मानवताको प्रवर्द्धनको अभियानलाई संस्थागत गर्न सहयोग पुग्ने फाउण्डेशनकी अध्यक्ष डोल्मा बताउँछिन् ।
सरकारले आव २०८१-८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउछन् ।
विसं २०६९ मा मकवानपुर, हेटौँडामा औपचारिक रूपमा स्थापना भएको मानवसेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरुमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथहरुको उद्दार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार