नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १५:२२:१९
१ मंसिर, काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी ३२ पुर्याउने तयारी भएको छ । नेपाल प्रहरीमा अहिले जनपद तर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपद तर्फ ३ र प्राविधिक तर्फ २ दरबन्दी थप गरेर ३२ पुर्याउन लागिएको हो । महानगरीय ट्राफिक, लागूऔषध ब्यूरो र विमानस्थल सुरक्षा गार्डका लागि ३ वटा दरबन्दी आवश्यक रहेको भन्दै प्रहरीमा ३ वटा दरबन्दी थप गर्न लागिएको हो । यस्तै विधि विज्ञान प्रयोगशाला र सञ्चार निर्देशनालयमा पनि प्राविधिक डीआईजीको दरबन्दी थपको प्रस्ताव अर्थ मन्त्रालय पुगिसकेको छ ।
हाल जनपद तर्फ ८ वटा पद रिक्त रहेकोमा ३ वटा थप गरेर ११ वटा पदमा बढुवा सिफारिस गर्न लागिएको छ । नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा रोकेर दरबन्दी थप गर्ने तर्फ लागिएको हो । डीआईजीमा बढुवा आकांक्षी हुनेहरूले चलखेल गर्न थालेपछि प्रहरी प्रधान कार्यालयले डीआईजीको दरबन्दी थप गर्न लागेको हो ।
गत असारदेखि नै नेपाल प्रहरीमा डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो । हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ । असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए । उनलाई तत्कालीन गृहमन्त्री रवि लामिछानेले बढुवा सिफारिस गरे पनि उनै लामिछानेले मन्त्रिपरिषदबाट निर्णय नगराएपछि उनले असार २१ गते नै अवकाश पाएका थिए । यद्यपि उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्दा हालेका छन् । सो मुद्दा अहिले विचाराधीन रहेको छ ।
त्यसपछि गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो । तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो । भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगे पनि बढुवालाई झन लम्ब्याइयो ।
कात्तिक ११ गते राजेशनाथ बाँस्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो । किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ । यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुगेको हो । प्रबन्ध शाखाका प्रमुख ढकाल ट्रयाक सुट खरिद प्रकरणमा मुछिएका छन् ।
रिक्त डीआईजीका लागि तीनवटा अलग अलग टोली प्रतिस्पर्धामा देखिएका छन् । उनीहरू बढुवाको लिगलिगे दौडमा लागिरहेका छन् । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डीआईजी बन्न लबिङमा लागेका छन् । यस मध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डीआईजी बढुवा सिफारिस हुने देखिएको छ । आईजीपी कुँवरका ब्याची ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए । तर राजनीतिक सोर्सफोर्स र ब्रिफकेश बुझाउन नसकेपछि उनीहरू पछि परे । त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका तर वैकल्पिक सूचीबाट इन्स्पेक्टर भएका गणेश चन्द पनि अहिले डीआईजी बन्ने सूचीको प्राथमिकतामा छन् ।
हाल गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दुर्गा सिंह चन्द एआईजी बढुवामा पछि परेपनि उनका पति एसएसपी गणेश चन्दलाई बढुवा दिएर भएपनि न्याय गर्ने बताइएको छ । उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए । कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीन जनालाई यसपटक कुनै हालतमा छुटाउन नहुने पक्षमा आईजीपी कुँवर उभिएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ । कार्यक्षमता, दक्षता र कमाण्ड कन्ट्रोल गर्न असक्षम र अडान नभएकाे पहिचान बनाएका आईजीपी कुँवरकाे कति चल्ने हाे भन्नेमा प्रहरी अधिकारीहरू नै शंका व्यक्त गर्छन् ।
यसपछि सिनियर एवं कार्यक्षमतामा दक्ष हुँदाहुँदै पनि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोली भन्दै बढुवामा छुटेका पनि यसपटक डीआईजी बन्नेछन् । यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डीआईजी बन्ने करिब निश्चित छ । यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए । उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डीआईजीका बलिया दाबेदार हुन । उनीहरू भन्दा ३ वर्ष पछि भर्ना भएका एवं तीन ब्याच जुनियर दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको विशेष कृपामा यसअघि नै डीआईजी भइसकेका छन् ।
एसएसपी शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओमबहादुर राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । आफूलाई ठूलै माओवादी ठान्ने रानाले त विभिन्न माध्यमबाट गृहमन्त्री र कांग्रेसका नेताहरूसँग लविङ गरिरहेको स्रोतले जनाएको छ । उनी डीएसपी र एसपी हुँदा निकै विवादित भएका थिए । उनीहरू डीआईजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ । यो टोलीका दानबहादुर कार्कीसहित तीन जना पहिल्यै डीआईजी भइसकेकाले उनीहरुमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ ।
यो टोलीबाट डीआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन् । दिनेश आचार्य र राजेन्द्र भट्ट भने इन्चार्ज विभाजनमा पनि धेरै पटक अन्यायमा परेका अधिकृत हुन् । तुलनात्मक रुपमा ईश्वर कार्की र गोविन्द थपलिया कम विवादित र क्षमतावान मानिन्छन् । अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीन जना यसअघि नै डीआईजी भइसकेका छन् भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन् । एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ ।
यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन् । त्यसमध्येका देउवा, रेग्मी र दास चाहि निकै विवादित एसएसपी हुन् । देउवा, रेग्मी र दास कार्यक्षमता, चरित्र र स्वभाव र आर्थिक मामिलामा निकै कमजोर एसएसपीका रुपमा चित्रण गरिन्छ ।
०००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार