नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १६:४१:२१
१ मंसिर, काठमाडौं । नेपाल प्रहरीको लत्ताकपडा मध्ये 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया अपचलन भएको पाइएको छ । गत दुई वर्ष यता खरिद गरिएको करिब १६ करोड रुपैयाँको 'ट्रयाक सुट'मा करोडौं रुपैयाँ हिनामिना गरिएको पाइएको हो । नेपाल गुणस्तर विभागमा पठाइएको नमूना र भण्डारमा बुझि लिएको 'ट्रयाक सुट'को गुणस्तरमा आकाश र जमिनको फरक परेको र बजारमा ५ देखि ६ सय मूल्य बराबरको सामग्रीलाई करिब दुई हजार प्रति गोटा खरिद गरिएको छ ।
करिब ९० हजार थान खरिद गर्दा प्रति गोटा मूल्य पनि फरक फरक रहेको छ । ६० हजार ट्रयाक सुटको मूल्य प्रति गोटा दुई हजार रहेको छ भने ३० हजारको मूल्य प्रति गोटा करिब एक हजार ४ सय माथि रहेको छ । दुई पटक गरेर खरिद भएकोमा करिब १६ करोड रुपैयाँको सामान न्यून गुणस्तरको रहेको बताइएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको मातहत रहेको प्रबन्ध शाखाले यसको खरिद गर्दै आएको छ । प्रबन्ध शाखाको जिम्मेवारी आफूलाई नेकपा एमाले निकट ठान्ने डीआईजी केदार ढकालको हो । उनकी श्रीमती ओमदेवी मल्ल नेकपा एमालेको तर्फबाट सांसद भएकी थिइन । अहिले पनि उनी एमालेको सहकारी विभागमा रहेकी छिन् । उनकै जोडबलमा ढकाललाई एआईजीमा बढुवा सिफारिस गरिएको छ । उनी यही २१ गते अनिवार्य अवकाशमा जाँदैछन् । प्रबन्धमा अर्का एसपी गोविन्द पुरी रहेका छन् । उनी नेकपा एमालेका सांसद एवं पूर्व कानुन मन्त्री पदम गिरीलाई नातो लगाउँदै हिँड्ने गरेका छन् । अहिले उनीहरुको रजगजमा आईजीपी कुँवरको दह्रो साथ रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
प्रहरीको भण्डार शाखामा अहिले स्वीकृत नमुना भन्दा फरक सामान रहेका छन् । डीआईजी ढकाल, एसपी पुरी र ठेकेदारको मिलेमतोलाई आईजीपीले आँखा चिम्लिएपछि त्यहाँ ब्रह्मलुट मच्चिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयले गत आर्थिक वर्षमा खरिद गरेको ११ करोडको सामानमा स्वीकृत नमुना परीक्षणमा गोलमाल पारेर घोटाला गरिएको स्रोतले जनाएको छ । ६० हजार 'ट्र्याक सुट' खरिद गर्दा गत वर्षको असारमै ११ करोड ५४ लाख २९ हजार भुक्तानी भएको थियो भने यसवर्ष पनि करिब ३० हजार 'ट्रयाक सुट' खरिदमा करिब ६ करोड माथि भुक्तानी भइसकेको छ । यी दुई भुक्तानीमा करोडौं रुपैयाँ अपचलन भएको स्रोतको दावी छ ।
ठेकेदार रितेश अग्रवालले मिलेमतोमा नेपाल प्रहरीका अधिकृतदेखि जवानसम्मले प्रयोग गर्ने 'ट्र्याक सुट' कमसल गुणस्तरको आपूर्ति गरिएको छ । शुरुमा ल्याएको सामानमा कुनै कमजोरी नदेखाउने तर मापदण्डको रिपोर्ट आएपछि भने सबै सामान गुणस्तरहीन ल्याउने गरिएको स्रोतको दावी छ । दोस्रोदेखि अन्तिम लटमा आएका सामान सुन्धाराको फूटपाथमा बेच्ने जस्ता गुणस्तरहीन भएको थाहा हुँदा पनि भण्डारमा बुझ्ने गरिएको र भण्डारमा रहेका सबै कर्मचारीलाई कमिशन दिने गरिएको स्रोतको दावी छ । ‘यो कमिशनको जालो माथिसम्म छ, माथिबाटै सामान बुझ्नु भन्ने आदेश आउने गरेको छ’, भण्डारका एक प्रहरी कर्मचारीले भने ।
ती कर्मचारीका अनुसार दोस्रो र तेस्रो खेपमा आएका गुणस्तरहीन कपडा बुझेर करोडौं रुपैयाँ घोटाला गरिएको छ । यसको सबै आपूर्ति गर्न रितेश अग्रवालको एस के गार्मेन्ट्स र स्लोक इन्टरप्राइजेजबाट टेन्डर हालेका थिए । त्यसमध्येको स्लोक इन्टरप्राइजेजबाट 'ट्र्याक सुट' आपूर्ति गरिएको थियो । नेपाल प्रहरीको 'ट्र्याक सुट' खरिदमा महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ । महालेखाको प्रतिवेदनमा प्रहरी नियमावलीमा समावेश नगरी तथा संशोधन नगरी 'ट्र्याक सुट' खरिद गरेको उल्लेख छ । ६० हजार 'ट्र्याक सुट' खरिदको दररेटमै शंका उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीको प्रबन्ध शाखाले 'ट्र्याक सुट' नमुनाभन्दा फरक बुझेपछि देशभर त्यही सामान वितरण भएको थियो ।
प्रबन्ध शाखाका कर्मचारीले पुरानो नमुनाअनुसार भन्दै कमसल गुणस्तरको सामान बुझेका हुन् । कमिशन पाइने भएकाले सामान जस्तोसुकै भए पनि नमुनाअनुसार आएको उल्लेख गरेर प्रबन्ध शाखाका कर्मचारीले बुझ्ने गरेको स्रोतको दाबी छ । ठेकेदारले प्रबन्ध शाखामा रहेका तलदेखि माथिसम्मका प्रहरी अधिकारीलाई मिलाएर सामान बुझाउने गरेका छन । स्रोतका अनुसार अहिले भण्डारणमा आएको सामान नमुना परीक्षणका रूपमा पठाउँदा टेन्डर गर्दाकै सामान पठाइएको तर भण्डारणमा भएको सामान नपाएर सामान ठीक छ भन्दै बुझ्ने गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार