तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
समाचार टिप्पणी
केदार भट्टराई (काका)
मंसिर २, २०८१ आइतबार १२:३२:४
२ मंसिर, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला भारतीय अखबार 'द हिन्दु'लाई दिएको एउटा अन्तर्वार्ताले विवादमा छन् । झट्ट सुन्दा तीन/तीन पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो के बोलेको भनेर प्रश्न उठ्नु स्वभाविक लाग्छ । केही राजनीतिज्ञले यसलाई कूटनीतिक चिप्लाई मानेर सामान्य रुपमा लिएका छन् भने केहीले प्रचण्डलाई लेन्डुप दोर्जेको नेपाली संस्करण भनेका छन् ।
बोल्दा बोल्दै बहकिएर चिप्लिने र त्यसलाई आफै+ पछि सच्याउन खोज्ने प्रवृत्ति प्रचण्डमा भएकाले उनको अन्तर्वार्तालाई नेकपा एमालेबाहेकका दल र नेताले यही कुरालाई लिएर धेरै चासो दिएको देखिएको छैन । एमालेका केही नेता र बाम धारबाट विश्लेषण गर्नेहरूले उनलाई लेन्डुप दोर्जेसँग जोडेर विश्लेषण गरिरहेका छन् । खासमा लेन्डुप दोर्जे नेकपा एमालेका नेता रघुजी पन्तले संसदमा निकालेको शब्द हो । त्यसयता प्रचण्डमाथि धेरैले यो शब्द प्रयोग गरेका छन् ।
त्यो बेला प्रधानमन्त्री रहेका प्रचण्डले आफ्नो अभिव्यक्तिप्रति उठेको सार्वजनिक सवालको खण्डन गरेका थिए । सरदार प्रितम सिंहबारे लेखिएको ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नामक पुस्तक विमोचनमा प्रचण्डले सिंहले आफूलाई नेपालको प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि आएको यो विवादलाई प्रतिपक्षमा रहेको एमालेले उचाल्ने प्रयास गर्यो । संसद बैठकमै एमाले सांसद रघुजी पन्तले प्रचण्डलाई लेन्डुप दोर्जेको नेपाली संस्करणको उपाधि दिएका थिए ।
अहिले भारतीय अखबार 'द हिन्दु'लाई अन्तर्वार्ता दिएपछि उनी फेरी लेन्डुप दोर्जेको रुपमा व्याख्या हुन थालेका छन् । प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेका प्रचण्डले कूटनीतिक मान्यता भुलेर भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई फेरी लेन्डुप दोजेसँग तुलना गर्न थालिएको हो । उनले त्यो अन्तर्वार्तामा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणसँग जोडेर होच्याउन खोजेका थिP । आफूले यसो भन्दा नेपाल र आफू पनि बदनाम हुने काम हुन्छ भन्ने कुरा उनले सोचेनन्, त्यो बेला उनी आवेगमा थिए ।
यसपछि नेपालको परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बुझेका प्रचण्डको अभिव्यक्ति आपत्तिजनक मात्र छैन, कूटनीतिक रुपमा अक्षम्य समेत रहेको टिप्पणी भइरहेको छ । गत बिहीवार दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ’दि हिन्दू’मा प्रचण्डले कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई प्रश्न गर्ने गरी बोलेका थिए । उनले भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले 'चाइना कार्ड' खेलेको आरोप लगाएका थिए ।
सो अन्तर्वार्तामा प्रचण्डले भारतसँगको नेपालको सम्बन्ध, इतिहास, संस्कृति र भूगोलको कारण भन्दै सबैभन्दा सुरुमा भारतमै जानुपर्ने बताएका थिए । देशको प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कूटनीतिक रुपमा राष्ट्रिय हितविपरित हुने कुरा स्वभाविक हो । सो अभिव्यक्तिलाई लिएर सत्तारुढ एमालेले कडा प्रतिवाद गरेको छ ।
सत्तारूढ एमालेले माओवादी अध्यक्ष प्रचण्डले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । ओलीले मंसिर १७ देखि गर्न लागेको चीन भ्रमणको निर्णयसमेत अपरिपक्व भएको प्रचण्डले टिप्पणी गरेका थिए । एमालेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य भएको जनाएको हो । ‘यी कथनहरू कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हुन् र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन् । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन, एमालेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झूटो दाबी गरिएको कार्ड कुटनीति होइन । भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको जनाउँदै एमालेले प्रचण्डको भनाइले नेपालले आफ्ना दुई छिमेकीसँग कायम राखेको सन्तुलनलाई कमजोर पार्ने जनाएको छ । एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको र पूर्वप्रधानमन्त्री प्रचण्डको भनाइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक भएको जनाएको छ ।
भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरिएको छ । प्रचण्डको भनाइले नेपालको सार्वभौमसत्ता प्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ, विज्ञप्तिमा भनिएको छ । 'द हिन्दु'सँगको अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको र फेरि सीमा समस्या चर्कने ‘खतरा’ रहेको बताएका थिए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार