आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै

नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार ११:४८:२४

४ मंसिर, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनमा आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपको अन्तिम प्रयास भइरहेको छ । सुदूरपश्चिम प्रदेशको क्षेत्रीय सुरक्षा गोष्ठी सिध्याएर काठमाडौं फर्के लगत्तै गृह मन्त्रालयले दरबन्दी थप गर्ने प्रस्तावलाई अघि बढाउने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि तयार भइसकेको गृह मन्त्रालयले जनाएको छ । ‘सकेसम्म आउने मन्त्रिपरिषद बैठकबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा दरबन्दी थप हुनेछ’, गृह मन्त्रालयका एक अधिकारीले भने ।
निकटस्थहरूलाई बढुवा गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा डीआईजी थप्ने गृहकार्य अघि बढाएको स्रोतको दावी छ । केही व्यक्ति विशेषलाई लक्षित गरी सशस्त्र प्रहरीमा एआईजी र नेपाल प्रहरीमा डीआईजीको दरबन्दी थप्न लागिएको हो । दुई महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्राविधिक समूहबाट प्रशासनतर्फ ल्याइएका डीआईजी किशोर प्रधानको बढुवाकै लागि सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी थप्न गृहले प्रस्ताव गरेको छ । ‘संगठनको आवश्यकता भन्दा व्यक्तिगत रूपमा दरबन्दी थप्ने प्रयास भइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारी भने ‘यसरी व्यक्तिका लागि दरबन्दी थप्दा संगठनमा अराजकता हुने र चेनअफ कमाण्ड भत्कनेछ ।’
डीआईजी प्रधानले पाँच वर्षे पदावधिको कारण आगामी माघमा अनिवार्य अवकाश पाउँदै छन । उनको जागिर लम्ब्याउनकै लागि दरबन्दी थप्ने प्रयास भएको हो । उनले चलखेल अघि बढाएपछि अन्य डीआईजी पनि थप दरबन्दी थप्ने र आफू पनि बढुवा हुने चलखेलमा लागेका छन । यसरी व्यक्तिका लागि दरबन्दी थप्दा सशस्त्र प्रहरीको भावी नेतृत्वको रोल क्रममा असर पर्ने सम्भावना छ । प्रधानका लागि दरबन्दी थप्न तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि प्रयास गरेका थिए ।
तर तत्कालीन गृहसचिव दिनेश भट्टराई र एकनारायण अर्यालले थप गर्न दिएका थिएनन् । अहिले भने आफ्नै दरबन्दी थप गर्न उनी कसरत गरिरहेका छन् । गत वर्ष माघमै डीआईजीको चार वर्षे कार्यकाल पूरा गरेका प्रधान एक वर्ष डीआईजीको कार्यकाल थप गर्न सफल भएका थिए । थप गरिएको कार्यकाल पनि माघ १० गते सकिने भएपछि त्यसअघि नै एआईजी बन्ने उनको योजना अनुसार प्रस्ताव अगाडि बढेको हो । ‘शक्तिकेन्द्रलाई रिझाउन माहिर रहेका डीआईजीले एआईजीको दरबन्दी ल्याउने कोसिस गरिरहेका छन्’, स्रोतले भन्यो ।
राजनीतिक दबाबकै कारण सशस्त्र प्रहरीमा १६ भदौदेखि दुई डीआईजीको दरबन्दी रिक्त रहँदा पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । जुनियर रहेका एसएसपी दीपेन्द्र कुँवरका कारण बढुवा रोकिएपछि आईजीपी राजु अर्याल पनि दिक्क मानिरहेका छन् । एक ब्याच नै मिचेर उनलाई बढुवा गर्न दबाब परेपछि बढुवा प्रक्रिया नै अघि बढ्न सकेको छैन । भदौ १६ गते ३० वर्षे सेवा अवधिका कारण डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाश भएका थिए । उक्त स्थानमा बढुवा गर्न सशस्त्रमा भर्ना भएको पहिलो ब्याचका दुईजना एसएसपी छन् ।
चारजना भए पनि स्टाफ कलेज पास एसएसपी मनिष थापा र कृष्ण ढकालले मात्रै गरेका छन् । डीआईजीका लागि सशस्त्र प्रहरीमा स्टाफ कलेज अनिवार्य छ । उनीहरूकै ब्याचका सुरेश श्रेष्ठ, अञ्जनी पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यस अघि नै डीआईजी भइसकेका छन् । अब मनिष थापा र कृष्ण ढकाललाई बढुवा गर्नु पर्ने भए पनि कुँवरलाई डीआईजी बनाउन दरबन्दी थप गर्न लागिएको हो । कुँवर उनीहरुभन्दा एक ब्याचपछि सशस्त्र प्रहरीको सिसं २ को टोलीका हुन् ।
नेपाल प्रहरीमा भने डीआईजीको पाँच दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालय पुगिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोमा दरबन्दी राख्न प्रस्ताव गरिएको छ । यी तीनै कार्यालयमा एसएसपी कार्यालय प्रमुखको दरबन्दी रहेकोमा डीआईजीहरूलाई खटाइँदै आइएको छ । त्यस्तै, विधि विज्ञान प्रयोगशाला र सञ्चार निर्देशनालयमा पनि प्राविधिक डीआईजीको दरबन्दी थपको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । विगतमा सञ्चारको दरबन्दी प्रशासनमा लगेर पूजा सिंहलाई डीआईजी बनाइएको थियो ।
नेपाल प्रहरीमा हाल प्रशासनतर्फ डीआईजीका आठ दरबन्दी रिक्त छन । त्यसमा २५ एसएसपी बढुवाको प्रतिस्पर्धामा छन । बढुवाका आकांक्षीकै दबाबमा दरबन्दी थप्न लागिएको प्रहरी स्रोत बताउँछ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका धु्रवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द अझै एसएसपी छन ।
यसपछि दोस्रो ब्याचका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बर विक, ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती, दिलीपसिंह देउजा, विनोद घिमिरे, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, सञ्जीव शर्मा दास र शारदाप्रसाद चौधरी बढुवाको लाइनमा छन ।
त्यस्तै, तेस्रो अर्थात् १११ को टोलीबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेश आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, सुदर्शन कोइराला, दीपक रेग्मी पनि बढुवाको प्रतिस्पर्धामा छन् । यही ब्याचबाट रवि लामिछानेका पालामा छलाङ मार्दै दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी डीआईजी भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार