डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
भेषराज पोखरेल
मंसिर ४, २०८१ मंगलबार १९:५:५
राष्ट्रको विकास त्यसै हुँदैन, त्यसका लागि उचित योजना बनाउनु त पर्छ नै त्यसलाई दह्रो रुपमा कार्यान्वयन पनि गर्नुपर्छ । त्यस्तै जनताको जीवनस्तर उकास्न देशका समग्र क्षेत्रको विकास नभई सम्भव हुन्न । यी काम गर्न शासन र प्रशासनतन्त्र दुवैमा इमान्दारीता, उच्च ज्ञान, काम गर्ने उच्च क्षमता र अति सक्रियता आवश्यक हुन्छ । नेपालमा भने जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि यी कुरामा ध्यान दिएको देखिन्न । अहिले सार्वजनिक भएका केही सरकारी तथ्यांकले विकासले गति लिने र जनताको जीवनस्तर परिवर्तन हुने होइन कि अझ कमजोर बन्ने हो कि भन्ने आशंका उब्जाएको छ ।
आर्थिक वर्ष २०८०।०८१ मा ठूलो मात्रामा बेरुजु भएको सरकारी लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । यो अवधिमा झण्डै १५ अर्ब सरकारी बेरुजु देखिएको छ । त्यस्तै जनताको जीवनस्तरमा कुनै सुधार आएको छैन, यही अवस्थामा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा साढे ६ खर्बले घट्न गएको छ । सरकारले आर्थिक वर्षको चार महिनामा जम्मा १० प्रशित विकास बजेट खर्च गर्न सकेको छ । यस्तो अवस्थामा राष्ट्रको विकास र जनताको जीवनस्तरमा परिवर्तन कसरी हुन्छ ? सरकारले गर्ने प्रतिबद्धता र काम गराइ तथा त्यसको उपलब्धि अत्यन्तै कमजोर भएपछि विकासको लक्ष्य भेट्टाउन सक्ने कुरा भएन । त्यसले जनतामा निराशा जन्माउने निश्चित छ ।
देश आर्थिक रुपमा कमजोर बन्दै गयो । अर्थतन्त्रलाई कुन न कुनै रुपमा नउठाइहुन्न, तसर्थ यसलाई उठाउन स्थिर सरकारको आवश्यकता पर्छ । त्यसैलाई मध्यनजर गरी हामीले गठबन्धन गर्यौं भनेका कांग्रेस र एमालेका शीर्ष नेताले त्यो प्रतिबद्धता पूरा गर्न भने ध्यान दिएका छैनन् । सरकारी तथ्यांकले नै अर्थतन्त्र र जनताको जीवनस्तरमा सुधार नआएको स्पष्ट गरेको छ । कर्मचारी संयन्त्र नसुधारेसम्म विकास र सुशासन सम्भव छैन । गठबन्धन सरकार बनेयताको अवस्थामा कर्मचारी संयन्त्र सुधारिएको छैन । आर्थिक वर्षको चार महिना बित्दासम्मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख लेखापरीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको महालेखा नियन्त्रण कार्यालयको प्रतिवेदनले देखाएको छ ।
त्यसमा १० अर्ब रुपैयाँ त पुरानो बक्यौता नै रहेको देखाएको छ । यो भनेको ठूलो अनियमितता हो । यसले सुशासनमा सुधार भएको छैन, अझ कमजोर बन्दै गएको छ भन्ने स्पष्ट गर्छ । कर्मचारीतन्त्रको काम गराइमा कुनै सुधार आएको छैन भन्ने कुरा पनि यसले उजागर गर्छ । कर्मचारी संयन्त्रले इमान्दारी तथा कुशलतापूर्वक काम गरेको भए यति ठूलो रकम बेरुजु हुने थिएन । यस्तो अवस्थामा अर्थतन्त्रमा सुधार आउन सक्दैन भने जनताको जीवनस्तरमा परिवर्तन आउने कुरा भएन ।
कांग्रेस, एमालेको गठबन्धन सरकारप्रति जनताको ठूलो आशा र भरोसा पनि छ । जनताको आशा र भरोसामा ह्रास आउन नदिन सरकार सबैतिरबाट सक्रिय हुनुपर्ने हो तर सरकारी तथ्यांकले भने त्यस्तो देखाउँदैन । यस्तो विकास गर्छौं, उस्तो विकास गर्छौं त भन्न सकिन्छ तर विकास बजेट खर्च हुन नसक्ने हो भने विकासको कल्पना गर्न सकिन्न । आर्थिक वर्ष २०८१।०८२ को चार महिना बितिसक्यो तर विकास बजेट भने लक्ष्यको आधा पनि खर्च हुन सकेको छैन । चार महिनामा ३३ प्रतिशतभन्दा धेरै खर्च हुनुपर्नेमा लगभग १० प्रतिशत मात्रै खर्च भएको छ ।
चालु बजेट भने २५ दशमलव ६५ प्रतिशत खर्च भएको छ । यो आर्थिक वर्ष कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेकोमा विकास बजेट ३ खर्ब ५२ अर्ब ४० लाख छुट्याइएको छ । कार्तिक मसान्तसम्म जम्मा ३४ अर्ब ५२ करोड १० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो समयलाई वर्षा र चाडपर्वको अवस्था भनेर टार्न त सकिएला तर विकासलाई त्यस्तो निहुँ पारेर पछाडि धकेल्दै जाने हो भने अर्थतन्त्र पनि सुधारिन्न, जनताको जीवनस्तरमा पनि परिवर्तन आउँदैन । यो अवस्थाले रोजगारी सिर्जना गर्न सक्दैन, उद्योगी, व्यापारीका सामग्रीको व्यापार ठप्प हुन्छ ।
आयातमा पनि कमी आउँछ । केही वर्षयताका यस्तै अवस्थाले जनताको आयमा कमी आएको छ, त्यसले उपभोग्य सामग्रीको खपतमा ह्रास आएको छ । आन्तरिक खपतका लागि भनेर उत्पादन गरेका उपभोग्य सामग्री नबिक्ने तथा विकास निर्माणलाई लक्ष्य गरेर उत्पादन गरेका सामग्री नबिक्दा उद्योग, व्यवसाय तथा जनस्तरमा निराशा छाएको छ । यसलाई हेर्न बजारको भ्रमण गर्दा स्पष्ट हुन्छ । मुख्य बजार होस् या अन्य सबै क्षेत्रका बजारमा जताततै व्यापार कबलहरु खाली छन् । सटर खाली छन् भन्दै टाँसिएको देखिन्छ ।
यो शहरी क्षेत्रका घरजग्गाको कारोबार उच्च हुने समय हो । अहिले घरजग्गाको कारोबारमा सुधार हुन सकेको छैन । अवकाश हुने कर्मचारी, सैनिक तथा प्रहरीले केही रुपमा शहरी क्षेत्रमा घरघडेरी किने पनि अन्य सर्वसाधारणले किन्न सक्ने अवस्था छैन । पछिल्लो समय खाडी मुलुक जाने युवाहरुले त रेमिट्यान्स पठाइरहेका छन् । महिनामा लगभग एक खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिरहेको छ । यति रकम भित्रिए पनि तिनीहरुले शहरमा घरजग्गा किन्न सक्ने हैसियत राख्दैनन् । अन्य युरोपका मुलुकहरु, अमेरिका, अष्ट्रेलिया जानेहरुले सामान्य पारिवारिक खर्चबाहेक घरजग्गा किन्ने गरी पैसा पठाएको देखिन्न । उनीहरु स्थापित हुन उतै खर्च गरिरहेको देखिन थालेको छ । यो पनि यही अर्थतन्त्रको शिथिलताले नै उब्जाएको समस्या हो ।
यो समयमा राजस्व पनि लक्ष्यभन्दा धेरै कम मात्र उठेको छ । सरकारले कार्तिक मसान्तसम्म लक्ष्यको जम्मा २२ दशमलव ३६ प्रतिशत मात्रै उठाउन सकेको तथ्यांकले देखाएको छ । यो आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा चार महिनामा जम्मा ३ खर्ब २९ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । यसले के देखाउँछ भने अर्थतन्त्र सत्रिय बनाउन सरकार चकेकै हो । गठबन्धन सरकारले अर्थतन्त्रलाई जनताले थाहा पाउने गरी सक्रिय बनाउन सकेन भने देश र जनताले दुःख पाउनेछन्, कांगे्रस, एमालेले पनि यसको फल भोग्नुपर्नेछ । परिणाम सकारात्मक आउन सकेन भने यी दलप्रति जनताको भरोसा टुट्ने निश्चित छ । अहिले भागबण्डामा रमाएका दलहरु जनताले पीठ फर्काउँदा बल्ल सम्झने अवस्था आउने हो कि ? उनीहरुले नै जानून ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार