रास्वपा र दुर्गा प्रसाईंको साइबर हमला चिर्न शुक्रबार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १४:१०:३८
५ मंसिर, काठमाडौं । एमालेमाथि चौतर्फी आक्रमण शुरु भएको महसुस गरेपछि सत्तामै रहेका बेला सडकमा शक्ति प्रदर्शन गर्न लागेको छ । आफै सत्तामा बस्ने र आफ्नै सत्ता विरुद्ध सडकमा उत्रने राजनीतिक संस्कार नेपालका बामपन्थीहरुको हो जुन विश्व राजनीतिमै उद्देकलाग्दो हो । सत्ताबाट बाहिर निस्केको माओवादी, रास्वपा र सडकमा एमालेलाई केन्द्रित गरेर आन्दोलन गरिरहेका दुर्गा प्रसाईं समूहबाट आक्रमण महसुस गरेकाे एमाले सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।
एमालेले मंसिर ७ अर्थात शुक्रबार काठमाडौंमा जागरण सभाका नाममा सडक प्रदर्शन गर्दै छ । राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न भन्दै एमालेले जागरण सभा गर्न लागेको एमालेका नेताहरूले जनाएका छन् । । सत्तारूढ दल नै किन सडकमा ओर्लिन लागेको हो ? एमालेको प्रस्टीकरण छ, ‘गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रस्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन जागरण सभा आयोजना गरेको हो ।’
खासगरी दुर्गा प्रसाईं समूह र रास्वपाका सभापति रवि लामिछानेका कार्यकर्ताहरूले साइबर आक्रमण गर्न थालेपछि एमालेले उनीहरुलाई देखाउनका लागि भए पनि सडकमा जनता उतार्न लागेको हो । ‘दुर्गा प्रसाईं र रवि लामिछाने दुवै अहिले हिरासतमा छन्, उनीहरुका कार्यकर्ताहरूले निरन्तर साईबर आक्रमण गरिरहेका छन्, उनीहरुको फेक भिडियो बनाइरहेका छन् जसले गर्दा भ्रम सिर्जना गरेको महसुस भइरहेको छ, यसलाई चिर्न आवश्यक छ’, एमालेका एक नेताले भने ।
आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागेको एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको दावी छ । ‘खासगरी एमाले विधिको शासन कायम गर्न चाहन्छ भन्ने सबै सामु देखाउनु छ । एमालेको पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा गर्दै छौँ । यो सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेछ । संविधान नमान्ने, कानुन नमान्नेहरूले दलहरूको पक्षमा जनमत छैन भन्दै हिँडेका छन्, तीनलाई दलको पक्षमा जनमत छ भनेर देखाउन जागरण सभा गर्न थालिएको हो,’ उनले भने ।
पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्न लागिएको हो । जनताको सरकारप्रतिको धारणा बुझ्न र जनतासँग संवाद गर्न पनि जागरण सभा आयोजना गरिएको उनको दावी छ । ‘सरकारमा हुँदा पनि जनतासँग संवाद गर्न आयोजना गरेको हो । जनताले सरकारलाई कसरी हेरिरहेको छ । विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि एमालेको पक्षमा मत माग्न पनि जागरण सभा आयोजना गरेको हो । जनता व्यवस्थाको पक्षमा छन् भनेर देखाउन पनि अनिवार्य भएको छ,’ उनले भने ।
एमाले महासचिव शंकर पोखरेलले पत्रकार सम्मेलन गरेर यसको औचित्य प्रष्ट पारेका थिए । जनतालाई आशावादी बनाउन आवश्यक रहेको बताएका थिए । उनले भनेका थिए, ‘जनता असन्तुष्ट छन् भनी गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको हो । जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ । त्यो हिसाबले जागरण सभा गर्दै छौँ ।’राजनीतिक दल सधैँभरि जनताको बीचमा नै जानुपर्ने र आफूले गरेका काम जनतालाई भन्ने र जनताको दलप्रति र सरकार प्रतिको धारणा बुझ्न पनि जनतासँग जानुपर्ने महासचिव पोखरेलको भनाइ थियो । उनले भनेका छन्, ‘सामाजिक अराजकता प्रवृत्तिकै रूपमा अघि बढेको छ । यस्तो कुरा विकास र समृद्धिका लागि बाधक हो । कानुनी राजको खिल्ली उडाउने प्रवृत्ति बढिरहेको छ । निरन्तर रूपमा योजना बनाएर यस्तो गतिविधि गर्नु उचित कुरा होइन ।’एमालेले तीन जिल्लाबाट १ लाख जनमानस उतार्ने तयारी गरेको छ । नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले चार महिनामा पनि देखिने गरी काम गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । तर, एमाले भने सरकारले गरेका राम्रा कामको प्रचार गर्न जागरण सभा गर्न थालेको दाबी गर्छ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ । तर, सरकार कमजोर हुँदा र सरकारले जनजीविकाका सवालमा काम गर्न नसक्दा
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेले अहिलेको अवस्थामा सरकारलाई सहयोग गर्न पनि यो जागरण सभा गर्नुपरेको बताए । ‘अराजकता बढेको छ । यसलाई चिर्नुपर्नेछ । एक जना व्यक्तिले पनि कसरी जनतामाझ भ्रम फैलाउन सक्छ भन्ने कुरा भर्खरै सार्वजनिक भयो । प्रधानमन्त्रीविरूद्ध लगाएको आरोप कहीँ कतै सत्य तथ्य छैन । भ्रम फैलाउन एक जनाले पनि सक्यो । यसलाई रोक्नुपर्नेछ, जसका लागि एमालेले जागरण सभा गर्न थालेको हो,’ प्रवक्ता गौतमले भने । एमाले–कांग्रेस मिलेर अस्थिरताको अन्त्य गरेको गौतमको भनाइ छ ।
उनले भने, ‘देशमा अस्थिरताको अन्त्य भएको छ । नागरिक एप सञ्चालन गरेको छ । अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको छ । यो कुरा जनतालाई जानकारी गराउन पनि जागरण सभा गरेको हो ।’ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित हुनु सरकारको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । उक्त विधेयक पारित भएसँगै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुनेछ । तर विद्युत् महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकार बाढीपहिरोका बेपत्ता भएको आरोप लाग्यो । प्रधानमन्त्रीको दल एमालेको पार्टी कार्यालयका लागि मुद्दा विचाराधीन भएका व्यापारीसँग करोडौंको जग्गा दान लिए, जसका कारण प्रधानमन्त्री, उनको दल र सरकार नै विवादमा परेको छ । अहिले उक्त जग्गा दानको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
पछिल्लो पटक संसदको ठूला दल नेपाली कांग्रेस र एमालेले सरकार चलाइरहेका छन्। असार ३१ गते प्रधानमन्त्री बनेका ओलीले देखिने काम गर्न सकेका छैनन् । यसले स्वयं एमालेकै नेता÷कार्यकर्ता खुसी छैनन् । ‘हाम्रो सरकार, हाम्रो प्रधानमन्त्रीलाई कसरी सघाउ पु¥याउने त भन्दा जनप्रदर्शनको माध्यमबाट, एमाले स्थायी कमिटी सदस्य भट्टराईले भने ‘सरकारलाई समर्थन गर्ने, हौसला दिने यस्तै कार्यक्रमबाट हो ।’ मंसिर १६ गतेको उपचुनावलाई पनि लक्षित गरिएको उनको भनाइ छ । ‘केही दिनपछि हुन लागेको उपचुनावमा विजय प्राप्त गर्न, जनमतलाई हाम्रा कुरा बताउन, निराश रहेका कार्यकर्तालाई जगाउन, सन्देश दिन। तन्दुरुस्त राख्नु पर्यो नि !’ ती पदाधिकारी भन्छन्, ‘आफ्नो संगठनको स्वास्थ्य ठीक बनाउनु प¥यो । सडक कसैको एकलौटी छैन। एमाले एकढिक्का छ । एकत्रित छ भनेर देखाउने प्रयास हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार