बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
केदार भट्टराई (काका)
मंसिर ५, २०८१ बुधबार १४:४८:१७
५ मंसिर, काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यो भ्रमणमा उठाइने एजेण्डाबारे लामो छलफल चल्यो । चीन विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा. आरजु राणाको १५ मंसिर गते भेटवार्ताको मिति तय भएपछि ओलीले बैठक बोलाएका थिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि बेइजिङ जान लागेकी मन्त्री राणाको त्यहाँ पुगेको भोलिपल्ट चिनियाँ समकक्षी वाङसँग भेटवार्ता हुन लागेको हो । यो मिति तय भएपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई बालुवाटारमा बोलाएको कांग्रेसका एक नेताले नेपालबहसलाई जानकारी दिए । उनका अनुसार खासमा ओलीको चीन भ्रमणका समयले नेपालका तर्फबाट राखिने एजेण्डहरुका विषयमा छलफल सुरु गरेका थिए । यसैमा लामो समयदेखि प्रतीक्षा र विवादमा रहेको चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ (बीआरआई)बारे बढी छलफल चल्यो ।
छलफल चरिरहेका समयमा कांग्रेस सभापति देउवासँग ओलीले नै मन्त्रिपरिषदका केही सदस्यमाथि प्रश्न उठेको कुरा उठाए । उनले कांग्रेस र एमालेका एक दुई जना मन्त्री फेर्नुपर्ने आशय देखाएका थिए । मन्त्रिपरिषद् फेरबदल गर्नुपर्ने कुरा ओली आफैंले उठाएपछि कांग्रेस र एमालेका नेताहरू केहीबेर यही विषयको छलफलमा जुटेका थिए । कांग्रेसका ति नेताका अनुसार सुदूरपश्चिमबाट मन्त्री भएकाहरू फेरिन सक्ने सम्भावना छ । मन्त्री फेरिन सक्ने कुरा उठ्यो तर, नाम तोकिएन ।
बैठकमा दुई दलबीच चीनको रणनीतिक परियोजना बीआरआईबारे मुख्य छलफल भएको थियो । प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको भ्रमणमा जाँदैछन् । यो बेला बीआरआईकाे कार्यान्वयन सम्झौता गर्ने तयारी छ । त्यसैको तयारीका लागि दुई दलबीच छलफल भयो । बीआरआई कार्यान्वयनमा कांग्रेसका नेताहरूले त्यसको मोडालिटीमा फरक मत राखेका थिए । कांग्रेसले तत्काल देश धेरै ऋणमा परिसकेको भन्दै अनुदानमा मात्र बीआरआई लिनुपर्ने अडान लिएको थियो ।
एमाले भने सहुलियतपूर्ण ब्याजदरमा भए पनि बीआरआई लिनुपर्ने भनिरहेको छ । जसमा दुई दल सहमत हुन सकेका छैनन् । यही सहमति हुन नसक्दा मंगलबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को बैठक पनि स्थगित गरिएको थियो । यो बैठकबाट प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण स्वीकृत गर्ने तयारी गरेका थिए । बैठकमा एमालेबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, सत्ता संयन्त्रका संयोजक पूर्णबहादुर खड्का, पार्टीका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए । बैठकमा परराष्ट्रमन्त्री राणा जापान हुँदै बेइजिङ जाने कुरा उठेको थियो । उनी ११ मंसिरमा जापान जाने कार्यक्रम छ । स्वास्थ्य परीक्षणका लागि ३ दिन बिताएर उनी १४ मंसिरमा बेइजिङतर्फ लाग्ने जानकारी बैठकमा गराइएको थियो ।
प्रधानमन्त्री ओलीले चिनियाँ पक्षले राखेका प्रस्ताव र नेपाली पक्षबाट थपिने योजनाबारे कांग्रेसका नेताहरूसँग अझै छलफल गर्न बाँकी छ । एमालेका एक नेताका अनुसार बीआरआईका सन्दर्भमा सत्ता सहयात्री कांग्रेससँग समझदारी कायम गरेर मात्र अघि बढ्न प्रधानमन्त्री ओलीले चाहेका छन् । चिनियाँ पक्षले बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर मात्रै परियोजना अघि बढाउन चाहेको छ, तर कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर नगरीकन पनि परियोजना अघि बढाउन सकिने तर्क कांग्रेसको छ ।
ओलीले बैठक बोलाउनुअघि सभापति देउवाले आफ्ना दुई महामन्त्रीसमेत डाकेर छलफल गरेका थिए । ओलीको आसन्न चीन भ्रमण तयारीमा कांग्रेसले बीआरआई अन्तर्गतका ऋण परियोजना सकार्न नहुने अडान राखिरहेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटार बैठकमा पनि यही चासो राखेका थिए । यिनै विषयमा देउवाले ओलीसँग कुरा गर्न चाहेपछि मंगलबार मन्त्रिपरिषद् बैठक रोकेर दुई शीर्ष नेताबीच छलफल चलेको थियो । जुन मध्यरातसम्म लम्बियो । कांग्रेसले गत असार १७ मा बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकबाटै बीआरआईलाई सहयोग वा अनुदानका रूपमा मात्र स्वीकार गर्न सकिने निर्णय गरेको विषय पनि बैठकमा उठेको थियो ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार