सर्वोच्च अदालतले भन्यो, काठमाडौंका सीडीओले नक्कली कागजात पेश गरी भ्रष्टाचारजन्य कसुर गरे
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १३:५५:१२
९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जगनारायण आचार्यले नक्कली प्रमाणपत्र पेश गरेर सरकारी जागिरमा प्रवेश गरेको भन्दै दोषी ठहर गरको छ । उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाको पूर्णपाठमा उनले नक्कली कागजात पेश गरी जागिर खाएको र यसलाई कसूर मानिने भनिएको छ ।
भारतबाट नक्कली प्रमाण ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुर मान्नुपर्ने ठहर गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आचार्यलाई दोषी ठहर गरेको हो। उक्त इजलासको फैसलाको पूर्णपाठमा आचार्यलाई यसअघि सफाइ दिँदा लिइएका आधार त्रुटिपूर्ण रहेको ठहर गरेको छ ।
गत असार २० गते भएको फैसलाको पूर्णपाठ हालै सर्वोच्च अदालतले सार्वजनिक गरेको छ । फैसला अनुसार २०४९ सालमा एसएलसी गरेका आचार्यले २०५२ साल (सन् १९९५) मा भारतबाट इन्टरमीडीयट परीक्षा उत्तीर्ण गरेको झुटा प्रमाण पत्र देखाएर त्रिभुवन विश्वविद्यालयबाट बिएडको उपाधि हासिल गरेका छन् । उनले पछि नेपालबाटै आइए उत्तीर्ण गरेको दाबी लिँदा नेपालकै प्रमाण पत्र त देखाएका छन् तर त्यो उपाधि बिएड उत्तीर्ण गरेकै वर्ष पाएका छन् । आइएको झुटा प्रमाणपत्र देखाएर लिइएको बिएड उपाधिले वैधानिकता नपाउने सर्वोच्चको पूर्ण इजलासले व्याख्या गरेको छ ।
निज (आचार्य) ले भारतबाट २०५२ साल (सन् १९९५) मा प्राप्त गरेको इन्टरमीडीयटको झुटा प्रमाण पत्र पेस गरी २०५७ सालमा माथिल्लो बीएड तहको शैक्षिक योग्यता हासिल गरेको अवस्थामा पछि २०५७ सालमै नेपालबाट आईए पास गरेको प्रमाणपत्र हासिल गरेको भन्ने आधारमा त्यस्तो बिएडको शैक्षिक योग्यताले वैधानिकता प्राप्त गर्ने अवस्था हुन सक्दैन,’ फैसलामा लेखिएको छ, ‘सोही इन्टरमीडीयटको झुटा शैक्षिक योग्यताको प्रमाण पत्र २०५७ सालको लोक सेवा आयोगको शाखा अधिकृतको प्रारम्भिक परीक्षामा सामेल हुन पेस गरी परीक्षा उत्तीर्ण समेत भई सेवा प्रवेश गरेको देखिन्छ । यस्तो अवस्थामा निजले इन्टरमिडियटको झुटा प्रमाण पेस गरी माथिल्लो शैक्षिक योग्यता प्राप्त गरी लाभ लिइसकेको तथा सो झुटा प्रमाण पत्र पनि शाखा अधिकृतको प्रारम्भिक परीक्षाका लागि पेस गरेको दुवै अवस्थाको विद्यमानता देखिँदा यस्तो प्रकृतिको कार्य भ्रष्टाचारजन्य कसुर हुने अवस्था रहन्छ ।’
पूर्ण इजलासले आचार्यलाई यसअघि सफाइ दिँदा लिइएका आधार र सिद्धान्तलाई अमान्य घोषित गरी अबदेखि अन्य मुद्दामा लागू नगर्न पनि रुलिङसमेत गरेको छ । २०५९ फागुन ६ मा शाखा अधिकृत पदमा नियुक्त भएका आचार्य सरकारी सेवामा प्रवेश गर्नेवित्तिकै सहायक प्रमुख जिल्ला अधिकारी बनेर रामेछाप गएका थिए । उनको नक्कली प्रमाणपत्रको विषयमा त्यसबैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अख्तियारले छानबिन गरी विशेष अदालतमा भ्रष्टाचार (नक्कली प्रमाणपत्र) सम्बन्धी मुद्दा दायर गरेको थियो । २०६६ जेठ १७ विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय भोलाप्रसाद खरेल र ओमप्रकाश मिश्रको इजलासले आचार्यलाई अभियोगबाट सफाइ दिएको थियो । पछि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासबाट २०७३ फागुन २४ गते उनलाई दोषी ठहर गरेको थियो ।
फेरि हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले फैसला उल्ट्याएर सफाइ दिएको थियो । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६, सिन्जा लार्जमा जन्मिएका आचार्यले २०५० सालमा कनकासुन्दरी मावि लुकडुबाट एसएलसी उत्तीर्ण गरेका थिए । आचार्यले शाखा अधिकृत पदमा सुरू नियुक्तिका लागि पेस गरेको सन् १९९५ मा अनुक्रमांक ७१५६२७ बाट इन्टरमीडीयट परीक्षा, माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए । त्यही प्रमाणपत्रका आधारमा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पढेको देखिन्छ ।
२०४९ सालमा जुम्लाबाट एसएलसी गरेका उनले २०५२ सालमा भारतबाट इन्टरमीडीयट गरेको कागजात जागिर प्रवेश गर्दा प्रस्तुत गरेका छन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०५७ सालमा आईए र बीएड उत्तीर्ण गरेको कागज पेस गरेका छन् । अदालतको फैसला कार्यान्वयन गर्ने हो भने अब आचार्यलाई निलम्बन गरी भ्रष्टाचारजन्य कसुरमा कारबाही अगाडि बढाउनुपर्नेछ ।
यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रभित्रको कुरा हो । अख्तियार प्रवक्ता नरहरि घिमिरे भने आचार्यविरूद्धको पूर्णपाठबारे अध्यायन भइनसकेको जानकारी दिए । आचार्य गत भदौ महिनामा काठमाडौंको सीडीओ भएका थिए । काठमाडौं जान चार–पाँच जना सह–सचिवहरू दौडधूपमा रहिरहँदा आचार्यलाई काठमाडौंमा पठाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार