महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
केदार भट्टराई (काका)
मंसिर १०, २०८१ सोमबार १३:५४:४८
१० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग दुश्मनी साध्न नेकपा एमालेले काठमाडौंको दरबारमार्गका सडकमा फोहोर गरेवापत गरिएको जरिवाना तिर्न अस्वीकार गरेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओली यतिबेला देशको प्रधानमन्त्री छन् । प्रायः पार्टीले गरेको सरकार विरोधी सभामा प्रधानमन्त्री उपस्थित भएर भाषण गर्दैनन् । तर, प्रधानमन्त्री ओलीले एमालेको जागरण सभामा गएर भाषण गरे । उनले आफू विरुद्ध लागेका पार्टी, समूह र व्यक्तिसम्मलाई गाली गर्न भ्याए ।
काठमाडौं महानगरभित्र फोहोर गर्नेलाई कारवाही गर्ने कानुनी अधिकार महानगरलाई छ । यही कानुन प्रयोग गरेर महानगरले यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराएको थियो । अहिले नेकपा एमालेले जागरण सभाका नाममा दरबारमार्गका सडक र आसपासको क्षेत्रमा फोहोर गर्यो भनेर एक लाख जरिवाना तोकेर महानगरले पत्र पठाएको हो । राप्रपालाई त्यही विषयमा जरिवाना गरेपछि एमालेलाई नगर्दा महानगरको कानुन उल्लंघन हुन्छ । मेयर बालेन शाहले ठूला र सानाबीच कानुनी भेदभाव गरेको ठहरिन्छ । यसैले महानगरले पठाएको जरिवाना पत्रलाई सबैले उचित भनेका छन् ।
कानुनका जानकारहरु भन्छन्, ‘एमालेको जागरण सभासँग प्रधानमन्त्री ओलीसमेत जोडिएकाले काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न भनेर पठाएको पत्र अस्वीकार गर्दा प्रधानमन्त्रीको दलले कानुन नमानेको र मिच्न खोजेको ठहरिन्छ । प्रधानमन्त्रीले कानुन मिचेको ठहरिन्छ ।’ जरिवाना पत्र नबुझ्दा एमालेसहित प्रधानमन्त्री ओलीको जनस्तरमै निकै विरोध भइरहेको छ । जनस्तरको विरोध र कानुनको विषयलाई मान्यता नदिएर प्रधानमन्त्री ओली भने बालेनको पत्र नबुझ्न पार्टी कार्यालय रुँगेर बसेका नेताहरूलाई निर्देशन दिइरहेका छन् ।
यो विषयमा ओली नबोलेका भए आइतबार नै एमालेका नेताहरूले महानगरको पत्र बुझेर जरिवाना तिरिसक्थे र विरोध पनि आउने थिएन । तर, ओलीलाई महानगरको भन्दा पनि बालेनको पत्र भन्ने चिन्ता लागेको छ । एउटा महानगरको मेयरले देशको कार्यकारी प्रमुखलाई जरिवाना तिराउने भन्ने इगो जागेको छ । तर, ओलीको यो इगोले कानुन मिचेको छ । एमालेले जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि महानगरले फेरी हुलाक र इमेलमार्फत पठाएको छ । एमालेको जस्तै फोहोर गरेको आरोपमा महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराएको थियो ।
गत चैत २७ गते राप्रपाले प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराएको थियो । काठमाडौं महानगरपालिकाले राप्रपालाई फोहरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको थियो । गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै एमालेलाई पनि जरिवाना लगाएको हो । एमालेलाई फोहोर गरेवापत १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय महानगरको छ ।
महानगरले एमालेलाई पनि मंसिर ७ गते काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । खासमा दरवारमार्गमा नै सभा राख्न पनि प्रधानमन्त्री ओलीले नै दवाव दिएका थिए । यो विषयलाई लिएर अहिले एमालेको ओली मन नपराउने पक्षले पनि विरोध गरिरहेको छ । उनीहरू खुलेर बाहिर आउन भने सकेका छैनन् ।
प्रधानमन्त्री ओलीले दरवारमार्ग क्षेत्रमा महानगरले मोटरसाइकल पार्किङ गर्न नदिएको र त्यो खुलाउन पनि दवाव सिर्जना हुने भन्दै सोही क्षेत्रमा एमालेको जागरण सभा राख्न निर्देशन दिएका थिए । दरवारमार्ग क्षेत्रका व्यवसायीले महानगरका मेयर बालेन शाहले सो क्षेत्रको सडकपेटीमा मोटरसाइकल पार्किङ गर्न नदिएर दुःख दिएको भन्दै एमाले र प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । त्यसैको दवावस्वरुप ओलीले सो क्षेत्रमा सभा राख्न लगाएको एमालेकै नेताहरु बताउँछन् । महानगरले भने जसरी पनि जरिवाना तिराएरै छाड्ने अडान लिएको छ ।
कतिपयले भने महानगरलाई जरिवाना नतिर्ने हो भने अदालत जान पनि एमालेलाई सुझाव दिएका छन् । महानगरले गैरकानुनी रुपमा जरिवाना लगाएको भन्ने लागेमा प्रधानमन्त्रीले यसका विरुद्ध एमालेलाई अदालत पठाएर रिट हाल्नुपर्ने नत्र जरिवाना तिर्नुपर्ने सुझाव दिएका छन् । जरिवाना नतिर्ने भन्दै पत्र समेत नबुझ्दा एमाले र प्रधानमन्त्री आलोचित मात्र भएका छैनन् , प्रधानमन्त्रीमाथि कानुनी प्रश्नसमेत उठेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार