एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
रासस
मंसिर १४, २०८१ शुक्रबार १५:३९:९
♦ राजु सिलवाल / रासस
१४ मंसिर, काठमाडौं । नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौंमा भेला भएका छन् । यही मङ्सिर १५ गते शनिबारदेखि आगामी पुस ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपिएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । नेपालमा व्यावसायिक क्रिकेटको विकास गर्ने लक्ष्यका साथ टि ट्वान्टी फरम्याटमा खेलाइने एनपिएलको नतिजा आफ्नो पक्षमा ल्याउन विभिन्न टिमबीच रोमान्चकारी प्रतिस्पर्धा हुनेछ ।
निजी क्षेत्रको सक्रियता
एनपिएल क्रिकेट प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिता रहेको छ । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स जस्ता आठ वटा टिममा व्यापारिक समूह जोडिएका छन् । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपैंयाँ लगानी गरेका छन् । अन्य निजी संघसंस्था तथा कम्पनीहरू पनि क्रिकेट टिमहरूसँग आबद्ध भएका छन् । क्रिकेटमा लगानी गर्दैमा तत्काल नाफा हुन सक्ने क्षेत्र होइन । स्वदेशी तथा विदेशी खेलाडीहरूको महङ्गो पारिश्रमिक, सीमित प्रायोजन, क्रिकेट मैदानको भौतिक अवस्था तथा दर्शक क्षमता, टिकट दर आदि कारणले नेपालमा क्रिकेटमा लगानी गरेर तत्काल प्रतिफल उठन सक्ने अवस्था छैन । तापनि निरन्तर यथोचित लगानी गर्न सकेमा केही वर्षमा सन्तोषजनक अवस्था आउन सक्नेछ ।
नेपालका निजी क्षेत्रको सक्रिय सहभागिता रहेको फेन्चाइज लिगको अभ्यास नेपालमा कुनै नौलो होइन । यसअघि एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग जस्ता तीनवटा फ्रेन्चाइज लिग आयोजना भैसकेका छन् । तर यसपालि विभिन्न टिममा लगानी गर्न धेरै व्यापारिक घराना तथा अन्य निजी क्षेत्रले देखाएको उत्साह उल्लेखनीय रहेको छ । विभिन्न १६ वटा फ्रेन्चाइजहरुले लगानी गर्न इच्छा देखाएकामा आठ वटा समूहले टिमहरूमा लगानी गर्ने अवसर पाएका छन् । टिममा लगानी गर्न इच्छुकहरुको बढ्दो सङ्ख्याका कारण आगामी वर्षहरूमा प्रतियोगितालाई निरन्तरता दिइँदै जाने सम्भावना बढेको छ । यसैगरी निजी क्षेत्रका तर्फबाट घोषणा गरिएको खेलाडीको पारिश्रमिक तथा विजेताले पाउने पुरस्कारले पनि खेलाडीहरूलाई प्रोत्साहित गर्न सक्ने देखिएको छ । व्यापारिक घराना शारडा समूहले प्रतियोगितामा प्लेयर अफ दि सिरिज घोषणा हुने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ ।
खेलेरै २० लाख
नेपाली क्रिकेट क्षेत्रलाई व्यावसायिकताका तर्फ उन्मुख गराउन एनपिएल क्रिकेटले प्रयत्न गरेको छ । खेलाडीहरूलाई एउटा प्रतियोगिता खेलेको लाखौं रुपैयाँ पारिश्रमिक प्रदान गरिने व्यवस्था गर्नु सानो प्रयत्न होइन । मुलुकका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठवटा टिममा नेपालका महत्वपूर्ण राष्ट्रिय खेलाडीहरूलाई मार्की खेलाडीका रुपमा समावेश गरी प्रत्येकलाई २० लाख रुपैयाँ पारिश्रमिक दिइने भएको छ । गोला प्रथाद्वारा छानिएका ती खेलाडीहरूमा विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, चितवनमा कुशल मल्ल, काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, लुम्बिनीमा रोहित पौडेल, कर्णालीमा सोमपाल कामी र सुदुरपश्चिममा दीपेन्द्र सिंह ऐरी छन् । उनीहरुले एकै प्रतियोगिता खेलेर घोषित पारिश्रमिक पाउने छन। यसैगरी राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पनि एक्सनमार्फत विभिन्न टिममा छनोट गरिएको छ । यसरी एक्सन गरिँदा एउटा टिमलाई १० खेलाडी खरिद गर्ने अवसर दिइएको थियो । समूह ए मा परेका खेलाडीलाई १० देखि १५ लाख, समूह बी मा परेकालाई पाँचदेखि १० लाख तथा समूह सी मा छानिएकालाई दुई लाखदेखि पाँच लाख रुपैयाँ दिइने भएको छ । नेपालको सन्दर्भमा यस्तो पारिश्रमिक आकर्षक मानिएको छ । क्रिकेट खेलाडीहरूले आफ्नै गृह मैदानमा खेलेर लाखौं रुपैयाँ पारिश्रमिक पाउनु राम्रो कमाइ हो ।
नयाँलाई अवसर
एनपिएल क्रिकेटकै सिलसिलामा खुल्ला प्रतिस्पर्धाको आधारमा पनि खेलाडीहरू छानिएका छन् । यसबाट ती खेलाडीहरूलाई आगामी दिनमा राष्ट्रिय टिमका साथै अन्य टिममा प्रवेश गर्ने ढोका खुल्न सक्ने सम्भावना देखिएको छ । त्यस्ता युवा खेलाडीले टिममा समावेश हुने मौका पाउनु उनीहरुको खेल जीवनकै महत्वपूर्ण उपलब्धि हो । नेपालकै राष्ट्रिय खेलाडीहरूका साथै विभिन्न मुलुकका क्रिकेट स्टारहरूसँग खेल्नाले उनीहरुले उल्लेखनीय शिक्षा प्राप्त गर्न सक्छन् । हाल विभिन्न खेलका खेलाडीहरू विदेश पलायन भइरहेको अवस्थामा युवा खेलाडीहरूले आफ्नै गृह मैदानमा एनपिएल खेल्न पाउने अवसर उनीहरुको भविष्यसँग पनि गाँसिएको छ । एनपिएल खेल प्रतियोगिता मात्र नभई देशमै खेलकुद संस्कार बसाउने प्रतियोगिताका रुपमा लिइएको धारणा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले स्पष्ट पारेका छन् ।
विश्व चर्चित खेलाडीको सहभागिता
एनपिएल क्रिकेट नेपाली खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय खेलाडीहरूसँग कौसल सिक्ने महत्वपूर्ण अवसर पनि हो । विभिन्न मुलुकका क्रिकेट स्टारहरुले नेपाली टिमबाट खेल्दैछन् । भारतका बहुचर्चित क्रिकेटर शिखर धवन, इङ्गल्याण्डका टम मुर्स, क्यानडाका साद विन जाफर, न्युजिल्याण्डका स्कट कुगेलेइन,वेष्ट इण्डिजका रेमन रेइफर जस्ता विश्व चर्चित खेलाडीहरूले नेपाली खेलाडीहरू साथ सहकार्य गर्दैछन् । एउटा टिमले छ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकको नियम रहेको छ । तर उनीहरुलाई टिमका तर्फबाट दिनु पर्ने पारिश्रमिक खुलाइएको छैन । अझ उल्लेखनीय पक्ष त विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालको प्रदेशको टिमको प्रशिक्षक तथा मेण्टरको रुपमा टिमलाई उपाधि दिलाउन सक्रिय भूमिका निभाउँदै छन् ।
पहिलो पटक डिजिटल बोर्ड
एनपिएलका लागि कीर्तिपुरस्थित क्रिकेट मैदानमा आवश्यक मर्मतसम्भार गरिएको छ । त्यहाँ पहिलो पटक डिजिटल बोर्डको जडान गरिएको छ । यस्तै खेल मैदानको पिचको स्तरमा सुधार गर्नुका साथै मैदानको बाउन्ड्री बढाइएको छ । क्रिकेट हेर्न जाने दर्शकहरुका लागि प्याराफिटमा चारवटा क्षेत्र बनाइएका छन् । कीर्तिपुर रङ्गशालामा एनपिएल हेर्न हजारौं दर्शकहरू उपस्थित हुने निश्चित छ । नेपालमा क्रिकेट प्रेमीहरूको संख्या उल्लेखनीय रहेको छ। अमेरिकामा विश्वकप क्रिकेटको बेला समेत नेपाली दर्शकहरु धेरै संख्यामा उपस्थित थिए । कीर्तिपुरमा बिगतमा क्रिकेट हुँदा रुखमा झुण्डिएर समेत खेल हेर्ने गरेका क्रिकेटप्रेमी दर्शकहरुका लागि यसपाली खेल हेर्न यसपाली बस्ने सुविधासहितको प्याराफिट निर्माण गरिएको छ । तर त्यहाँ फ्लड लाइट जडान गर्ने कार्य भने सकिएको छैन । यदि फ्लड लाइट जडान भएको भए राति पनि खेल संचालनका लागि सहज हुने थियो ।
विश्वव्यापी पहुँच
एनपिएल क्रिकेटको पहुँच विश्वव्यापी रुपमा हुँदैछ । टेलिभिजनको प्रत्यक्ष प्रसारणका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताका कारण विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकर्षित हुने भएको हो । अन्तर्राष्ट्रिय खेलकुद टेलिभिजन च्यानल स्टार स्पोर्टसमार्फत विश्वका विभिन्न मुलुकका क्रिकेट प्रेमीहरूले एनपिएलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाउने भएका छन् । विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा प्रत्यक्ष प्रसारण गरिसकेका कमेण्टेटरहरुको सहभागिता रहेको यस प्रकारको अन्तराष्ट्रिय प्रसारणबाट विश्वमा नेपालको प्रचारप्रसार हुन गई आगामी दिनमा पर्यटकहरूको वृद्धि हुन जाने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त क्रिकेट खेलाडीहरूको नेपाल आगमनका साथै अन्य गतिविधिको निरन्तर समाचार प्रचारप्रसारले पनि पनि विश्वको ध्यान आकर्षित गरेको छ ।
म्याच फिक्सिङतर्फ सतर्कता
एनपिएलमा म्याच फिक्सिङ रोक्न विशेष सतर्कता अपनाइएको छ । प्रतियोगितामा सहभागी आठवटै टिममा सुरक्षा अधिकारी पनि समावेस गरिएको छ । नेपाल क्रिकेट संघले प्रतियोगिताका गतिविधिहरू पारदर्शी रुपमा सञ्चालन गर्न विशेष तयारी गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत एक सयभन्दा बढी खेल सङ्घ भएको तथा कयौं संघ गतिविधिहीन अवस्थामा रहेको तथा खेल गतिविधि सञ्चालनका लागि सरकारी साधन स्रोतमै निर्भर भैरहेको बेलामा नेपाल क्रिकेट संघले निजी क्षेत्रलाई व्यापक रुपमा जुटाएर एनपिएल क्रिकेट आयोजना गर्नु प्रशंसनीय कार्य मान्न सकिन्छ ।
अन्य खेल संघले पनि निजी क्षेत्रलाई जुटाएर प्रतियोगिता गर्न प्रयास गर्नु पर्दछ । तर एनपिएल क्रिकेटजस्ता प्रतियोगिता पारदर्शी रुपमा सञ्चालन गर्नु अति आवश्यक मानिएको छ । कुनै मिलोमतोमा म्याचको नतिजा नआओस् । आगामी दिनमा एनपिएललाई निरन्तरता दिन सकिने वातावरण संरचना सिर्जना गरी घरेलु क्रिकेटलाई मजबुत बनाउँदै लैजान सक्नुपर्छ । यसका लागि क्रिकेट एकेडेमीको स्थापनातर्फ जोड दिइनु पर्छ । यस्तै एनपिएललाई राजधानीमुखी मात्र नबनाएर आगामी संस्करण चितवन, पोखरा, भैरहवालगायतका क्रिकेट रङ्गशालामा पनि विस्तार गर्दै लैजान जरुरी मानिएको छ । यस्ता प्रतियोगिताबाट नेपाली खेलाडीहरू पनि खेलेर बाँच्न सक्ने अवस्था बनाउन सहयोग पुग्ने भएकाले नेपाल प्रिमियर लिग क्रिकेट एनपिएल नेपाली क्रिकेट जगतका लागि कोशेढुंगा बन्नसक्ने अपेक्षा गरिएको छ । ( लेखक खेल पत्रकार हुन् )
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपकृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
नेता बन्न नदिनु र सिद्धान्तलाई छाडेर भाग्नु दुवै राजनीतिका बेइमानी हुन्
पुष १७, २०८१ बुधबार
बीपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार